अदृश्य वर्गको विद्रोह कहिले?

आइतबार, ०८ बैशाख २०७६, ११ : ५८ डा. प्रकाशचन्द्र लोहनी

दुई वर्षअगाडिको कुरो हो। बिहान घरमा मैले धेरै पहिलेदेखि चिनेको मेरा गाउँले बाबुकृष्ण मिजार आइपुगे। थोरै बोल्ने बानीका बाबुकृष्ण के कारण हो अलि गम्भीर देखिन्थे। उनीसँगै एउटा ९–१० वर्षको हसिलो बालक पनि थियो। मैले उनलाई सोधेँ– बाबुकृष्ण कस्तो छ तपाईँलाई ? किन आउनुभयो ? उनले भने– डाक्टर साहेब यो मेरो एउटै छोरो। यसलाई राम्रो स्कुलमा पढाउनुपर्छ। यसलाई भर्ना गर्न तपाईँले अलिकति भनसुन गरिदिनुप-यो। यस्ता अनुरोध म सधैँजसो सुन्थेँ। भनेँ– ‘हुन्छ, म प्रधानाध्यापकलाई भनुँला। के गर्छन्, त्यो त म भन्न सक्दिनँ ।’ अनि बाबुकृष्णले भने–‘ठीकै छ, एकपटक भनिदिनुहोस्, जे होला ।’ यति भनेर उनले एउटा कागजको टुक्रो दिए। जसमा उनको छोराको नाम प्रकाश कार्की भनेर लेखिएको थियो।

दलित वर्गमा जब जमिन छैन र सम्पत्ति छैन, त्यस्तो अवस्थामा राजनीतिक शक्ति पनि हुँदैन। दलितकै बाक्लो बस्तीबाट पनि राजनीतिक शक्ति अरू जातकै हातमा जान्छ ।

म अलि जिल्ल परेर सोधेँ– ‘होइन छोराको नाम प्रकाश मिजार हुनुपर्ने होइन र ?’ अलि गाह्रो मान्दै बाबुकृष्णले भने– ‘हो, यो प्रकाश मेरो छोरो हो र थर मिजार हुनुपर्ने हो तर के गर्नु, मिजार थर भन्दा सबै ठाउँमा अलि गाह्रो हुन्छ त्यसैले कार्की थर राख्दा सजिलो हुन्छ भनेर कार्की थर भनेको हुँ ।’ यति बोल्दा उनले मेरो आँखामा सिधा हेरेनन्। बोलिसकेपछि उनको मुख र आंँखा मैले हेरेँ। त्यहाँ शब्दमा व्यक्त नुहने वर्गीय र जातीय पीडा जसलाई लिच्छविकालीन शासनदेखि राम शाह र जंगबहादुरसम्म आइपुग्दा झन्–झन् कठोर र संस्थागत गरिएको थियो। नेपालमा मैले उनले भोगेको पीडा र ग्लानि भोगेको छैन। तर पनि मेरो मनमा च्वास्स सियोले घोचेजस्तो लाग्यो। आफू विश्वको पुरानो सभ्यता र दर्शन भनी हाम्रो जीवन पद्धतिबारे गर्व गर्छौँ तर हाम्रै समाजमा एक/अर्कासँग मानवीय व्यवहार र सम्मान गर्दैनौँ।

गाउँघरमा हामी घरको भ-याङमुन्तिर बोका/बाख्रा र कुखुरा राख्न तयार हुन्छौँ तर ईश्वर मानिसमा मात्र नभएर सबै प्राणीमा रहन्छन् भन्ने आदर्श बोक्ने धर्म मान्ने हामी व्यवहारमा आफ्नै छिमेकीलाई जातका आधारमा घरभित्र स्वागत गर्न सक्दैनौँ र घरबाहिर पीडामा राख्छौँ। यो यथार्थता र अन्याय बाबुकृष्णले देखेका छन्, भोगेका छन् र त्यस्तो पीडा कति होला म अन्दाज गर्न पनि सक्दिनँ तर अझै उनी विद्रोह गरिहाल्ने मनस्थितिमा पुगेका छैनन्। यो समाजले उनलाई अझै थिचेको छ र पेलेको छ। तर पनि यो पीडा भुलेर सानो छोरो प्रकाशतिर हेर्दै आफ्नो थर पनि भुल्न तयार भएका छन्। अचानक यी सबै कुरा मेरो मनमा आए र एकछिन म बोल्न सकिनँ। केही क्षणपछि हच्किएको स्वरमा भनेँ–‘हुन्छ बाबुकृष्ण म कोसिस गर्छु। प्रकाशलाई पढाउनुपर्छ र यसलाई ठूलो मान्छे बनाउनुपर्छ ।’ मैले यति भनिसकेपछि बाबुकृष्णको आँठमा झिनो हासो र आशा देखाप-यो। ‘हुन्छ डाक्टर साहेब, हजुरको भर परेको छु’ भनेर उनी गए ।

अदृश्य मानिस
    यो घटनाले धेरै वर्षअगाडिको एउटा किताब याद आयो। अमेरिकी लेखक राल्फ एलिसनले लेखेका यो किताबको नाम हो– दि इन्भिजिवलम्यान (अर्थात् नदेखिने मान्छे)। एलिसनले यही एउटा किताबमात्र लेखे तर यही एउटा किताबका कारण संसारले उनलाई भुल्न सक्दैन। पहिलोपल्ट एलिसनको किताब पढ्दा मलाई करेन्टले जस्तो झट्का लागेको थियो। एलिसनले अमेरिकामा एउटा काला युवकको जिन्दगीको दर्दनाक यात्रा चित्रण गरेका छन्। त्यो किताबम ५०/६० वर्ष अगाडिसम्म कालो वर्ण हुनुको मनोवैज्ञानिक पीडा, शोषण, जातीय वञ्चितीकरण र विभदेको आक्रोश छ। गोरा समाजमा कालो मानिसको भौतिक अस्तित्व रहे पनि समाजमा त्यो मानवका रूपमा रहँदैन। सबैले उसलाई देख्छन् तर त्यो समाजमा ऊ अदृश्य बराबर हुन्छ। उसको अस्तित्वको सीमा तोकिएको छ। त्यसभन्दा माथि कल्पना गर्ने र स्वतन्त्र व्यक्तित्वका रूपमा खुला आकासमा मानव भएर सास फेर्ने अधिकार उसलाई हुँदैन। हो, अमेरिकाको संविधानले भन्छ– सबै मानिस ईश्वरको सृष्टिमा बराबर हुन्। तर व्यवहारमा करोडौँ काला त्यस देशमा अदृश्य नै छन्। अदृश्य बराबर रहन्छन्।

-याल्फ एलिसनको वर्णन एक हदसम्म नेपालका दलित समुदायसँग मेल खान आउँछ। मलाई पत्याउनुहुन्न भने जानुहोस्, नेपालको पहाड–तराईका ग्रामीण क्षेत्रमा– सबैजसो गाउँमा त्यहाँ दलित बस्ती पाउनुहुनेछ। तर अरू जातका समुदायभन्दा छुट्टै उनीहरू गाउँको एउटा कुनामा हुन्छन् तर पनि नभएबराबर छ। आवश्यक आर्थिक क्रियाकलापमा सीमित अन्तरक्रिया छ र तर अन्य अधिकांश सामाजिक र केही आर्थिक सम्बन्धमा समेत वञ्चितीकरणको संस्कृति हावी छ। सदियौँदेखि समाजले दलितविरुद्ध खडा गरेको बन्धन र शोषण अझ खुकुलो हुन सकेको छैन। दलितले बनाएको ईश्वरको मूर्तिको ठूलो पूजा हुन्छ तर ईश्वर बनाउने दलितले मन्दिरभित्र अझै प्रवेश पाउँदैन। ती भगवान् पनि आफूलाई बनाउने सर्जकको दशा देखेर कति रुँदा हुन् ! सहरमा पनि स्कुल भर्ना गर्दा आफ्नो मिजार थर अदृश्य पारेर कार्की थर लेख्ने मनोविज्ञानबाट अझै मुक्ति मिलेको छैन। यसबाट मुक्ति पाउने कसरी ? यी नेपालका पहाड र तराईमा रहेका झन्डै ४० लाख दलितको मात्र समस्या नभएर हामी सबै ३ करोड नेपालीको समस्या हो।

वर्ण व्यवस्थामा आधारित शोषण संरचनाले ग्रामीण क्षेत्रमा दलितलाई जमिनको स्वामित्व र आर्थिक अन्तरघुलन बाहिर राख्यो र झन्डै एउटा जातीय समूहका रूपमा प्रस्तुत गर्दै शोषित वर्गका रूपमा पनि कायम ग¥यो। जातलाई वर्गसँग जोड्न पुग्यो। यद्यपि यो वर्गीय यथार्थतालाई परिवर्तनको संवाहकका रूपमा अगाडि बढाउन वामपन्थीलगायत कुनै पार्टीले अहिलेसम्म प्रयास गरेका छैनन् ।

जुन देशले आफ्नो जनसंख्याको झन्डै १४ प्रतिशत जनतालाई मानवको व्यवहार गर्दैन, त्यस्तो कलंक बोकेको समाजले कसरी आफूलाई सभ्य भन्ने ? आजको दलित शोषणको यथार्थता हेर्दा के देखिन्छ भने व्यक्तिको चरित्र गुण र सोअनुरूप श्रम विभाजनका दृष्टिकोणले सुरु गरिएको प्राचीन चिन्तन बिस्तारै जड सूत्रमा परिणत भयो। व्यक्तिको गुणका आधारमा कार्य विभाजन गर्ने र यो जन्मजात नहुने दर्शन जड सूत्रमात्रै नभई बिस्तारै सामन्ती शोषण, उत्पीडन र मालिक–नोकरको सम्बन्धमा रूपान्तरित भयो। यसको निकृष्ट रूप छुवाछूत, सामाजिक विभेद र आर्थिक वञ्चितीकरणमा संस्थागत भएर गयो। धर्मका नाममा यसलाई वैधता दिइयो र हिन्दु धर्ममा निहित मानवतावादी दर्शनको  ठीक विपरित यसलाई प्रयोग गरियो। यस्तो शोषणको चरित्र हिन्दुबाहेक अरू धर्मको इतिहासमा पनि देखिएको हो तर वर्ण व्यवस्थाको अपव्याख्या गरेर छूत÷अछूतको संरचना मूलतः भारतीय सभ्यताको विकृत विशेषताका रूपमा विकास भयो। यो विकृतिले नेपाललाई पनि छायो। विशेषतः तराई–मधेसमा यो शोषणमा आधारित विकृति निर्वाध कायम रह्यो। अझै पहाडमा र अझ कडारूपमा तराई–मधेसमा कायमै छ ।

निरीहताको जड
    कृषिमा आधारित सामन्ती संरचनामा व्यक्तिको महत्व र सामाजिक मर्यादा स्पष्टरूपमा जमिनको स्वामित्वसंँग जोडिन्छ। जससँग जमिनको स्वामित्व छ, त्यहीसँग आर्थिक शक्ति र अन्ततोगत्वा राजनीतिक शक्ति पनि गाँसिन आउँछ। वर्ण व्यवस्थामा आधारित शोषण संरचनाले ग्रामीण क्षेत्रमा दलितलाई जमिनको स्वामित्व र स्वाभाविक आर्थिक अन्तरघुलन बाहिर राख्यो र दलितलाई झन्डै एउटा जातीय समूहका रूपमा प्रस्तुत ग¥यो भने शोषित वर्गका रूपमा पनि कायम ग¥यो। जातलाई वर्गसँग जोड्न पुग्यो। यद्यपि यो वर्गीय यथार्थतालाई परिवर्तनको संवाहकका रूपमा अगाडि बढाउन वामपन्थीलगायत कुनै पार्टीले अहिलेसम्म प्रयास गरेका छैनन् ।

आजको अर्थ राजनीतिक, सामाजिक र आर्थिक संरचना हेर्ने हो भने दलित वर्ग हरेक क्षेत्रमा शोषित र पीडित छ। ४२ प्रतिशत दलित गरिबीको रेखामुनि छन् भने राष्ट्रियरूपमा यो २५ प्रतिशतको हाराहारी छ। देशमा सीमान्त र भूमिहीनमध्ये ९० प्रतिशत दलित छन् भने यस्तो विभेद तराई–मधेसमा अझ बढी छ। यो वर्गमा गरिबी बढ्नु स्वाभाविक देखिएको छ किनभने यो समुदायसँग जमिन पनि छैन र परम्परागत सीप र कौशलबाट बाँच्न पनि उदारीकरणका नाममा आयातमा आधारित अर्थतन्त्रमा अब झन्–झन् गाह्रो हुँदैं गएको छ। परम्परागत पेसा विस्तारका लागि सुरक्षण र सहुलियत छैन। यसै पनि देशमा बेरोजगारी व्याप्त छ। त्यसमा पनि दलित वर्गसँग जब जमिन छैन र सम्पत्ति छैन, तब त्यस्तो अवस्थामा राजनीतिक शक्ति पनि हुँदैन।

दलितकै बाक्लो बस्तीबाट पनि राजनीतिक शक्ति अरू जातकै हातमा जान्छ। यद्यपि वर्तमान संविधानबाट केही सुधारको सम्भावना भने देखा नपरेको होइन। तर सामाजिक शोषण र आर्थिक वञ्चितीकरणमा परेको वर्गको राजनीतिमा सहभागिता पनि सिर्फ देखाउनका लागिमात्र हुने हो कि भन्ने सम्भावना नकार्न सकिँदैन। त्यसैले देशमा छुवाछूतविरुद्ध कानुन पास हुन्छ तर त्यो लागू हुँंदैन। दलित मुक्तिको ठूला–ठूला नारा दिए पनि राज्यका विभिन्न अंगमा दलितको उपस्थिति नगन्य छ र मिजार थरका मान्छेमा आफ्नो छोरोलाई राम्रो स्कुलमा राख्न थरै फेर्न तयार हुनुपर्ने मनस्थिति देखापरेको छ ।

अदृश्य म
 केही वर्षअगाडि काठमाडौँका भित्ता–भित्तामा लेखिएका थिए– ‘आफूलाई मधेसी भनेर चिनाउन गर्व गर ।’ यो नाराले धेरै मान्छेलाई अन्योलमा पारेको थियो। मैले सुनेअनुसार यो नाराका सिर्जनाकार मातृका यादव थिए। यथार्थ के हो, मलाई थाहा छैन तर नेपालको राष्ट्रिय एकता र राष्ट्र निर्माणमा यो नाराको ठूलो योगदान रहेको मैले महसुस गरेको छु। देशभित्र आफ्नो अस्तित्व आत्मविश्वासका साथ सगौरव घोषणा गर्नसक्नु पनि समावेशी राष्ट्रिय एकताका लागि महत्वपूर्ण हुन आउँछ। किनभने यसले पुरानो मान्यता तोडेर समानता र सहअस्तित्वको नयाँ संस्कारको लहर ल्याउँछ। यही यथार्थ आजभन्दा २ सय वर्षअगाडि पृथ्वीनारायण शाहले ‘नेपाल सबै जातको फूलबारी हो’ भन्ने उक्तिमा व्यतm गरेका थिए। फूलबारीमा सबै जात हुने तर केहीमात्रै फस्टाउने भयो भने त्यो फूलबारी नासिन्छ। यही आजको यथार्थता हो।

यस मानेमा यस्ता नारा र यससँगै जोडिएको मधेस आन्दोलनले नेपालको राज्य संरचनाको चरित्र बदल्न र यो राष्ट्रमा सबैले आफ्ना स्वाभिमान कायम गरेर अवसरको समानतामा सुनिश्चितता देखाएपछि मात्र नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने सन्देश दिएको छ। अब फेरि यस्तै वेगको दलित आन्दोलन देशले माग गरेको छ। दलित हुनुलाई कमजोरी नसम्झेर स्वाभिमानका साथ आफ्नो पहिचान पेस गर्ने, आफ्नो राजनीतिक र आर्थिक हक सुनिश्चित गर्ने, जातीय विभेदविरुद्ध संगठितरूपमा संघर्ष गर्न तयार हुने मनस्थिति निर्माण गर्न जरुरी छ। यो काम दलितको मात्र नभई हामी सबै नेपालीको हो। तर यसका लागि नयाँ नेतृत्व दलित समुदायका युवा वर्गबाट अब देखिनु आवश्यक भइसकेको छ। अब ‘अदृश्य मानिस’ भएर बस्न हुँदैन ।
अध्यक्ष, रा.प्र.पा.

    





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad