१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारी अस्पतालको हालतः न डाक्टर, न औषधि

तस्विरःमिथिलेश यादव/नागरिक

सिरहा - भव्य भवनभित्र फराकिलो प्रतीक्षालय। प्रतीक्षालयमा लहरै बसेका बिरामी र तिनका आफन्त। त्यही लहरमा पुर्जा हातमा लिएर डाक्टरलाई पर्खी बसेकी रिंकु कमारी यादव।यादव जिल्ला अस्पताल सिरहामा नियमित गर्भ जाँचको क्रममा आएकी हुन्।

५० रुपैयाँको पुर्जा कटाएर पालो पर्खेर बसेकी उनलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे, रगत जाँच गर्न भनेर लेखिदिए। रगतको सीबीसी, भिडिआरएल, एचबिएसएजी, ब्लडसुगर, एचआइभी जाँच जिल्ला अस्पतालमै गराइन्। जसबापत उनले ८ सय ५० रुपैयाँ तिर्नुर्पयो। भिभियो एक्सरे अस्पताल बाहिरको रेनुका अल्ट्रासाउण्ड सेन्टरमा गराइन्। जसबापत उनले ७ सय रुपैयाँ खर्चिनुर्पयो। चिकित्सकले पुर्जामा दबाई(औषधि) लेखिदिए रिँकुले भनिन्,‘ अस्पतालको निःशुल्क औषधि वितरण काउण्टरमा जाँदा नभएको जवाफ पाएँ।’ यी औषधि निःशुल्क काउण्टरमा पाइदैन। सशुल्क काउण्टरमा जान भनेको उनले बताइन्।

क्यालसियम चक्की पनि किन्नैपर्छ उनले भनिन्,‘ यहाँ ७० प्रकारका औषधि निःशुल्क लेखिएको ब्यानर मात्र छ, औषधि पाइदैन।’ उनले थपिन् ‘फुइसोफाइसके दबाइ नै मिलैबाला केहन अस्पताल है यी (समान्य खालका रोगको औषधि पनि नपाइने कस्तो अस्पताल हो यो )।’ जिल्ला अस्पतालमा औषधि नपाएपछि उनी आक्रोशित  भइन्।
जिल्ला अस्पताल सिरहाको स्टोर शाखा प्रमुख उमेश गौडका अनुसार यस अस्पतालमा प्राय कुनैपनि औषधि पर्याप्त मात्रामा छैनन्।

  निःशुल्क रुपमा उपलब्ध हुनुपर्ने ७० प्रकारका औषधिमध्ये २५ प्रकारका औषधिहरू कामचलाउ (थोरै मात्रामा) छन्। बाँकी औषघिहरु छैनन्। अस्पतालले गज, व्यानडेज,स्लाइनपानी, क्यानुला, समेत आन्तरिक आम्दानी(ओपिडी पुर्जालगायत) रकमबाट खरिद गरेकोले बिरामीसँग पनि शुल्क लिएरै सेवा दिइरहेको उनले बताए। हामीलाई निःशुल्क उपलब्ध भएपो बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने उनले भने,‘ हामीलेनै किन्नुपरेपछि सित्तैमा कसरी सेवा( औषधीउपचार) उपलब्ध गराउनु ?’ उनले भने,‘ गर्भ्निरोधक सामग्री (इमप्लान्ट,आइयुसिडि) समेत अस्पतालमा छैन ।’

औषिध नभएपछि बिरामीलाई कसरी उपचार गर्नु ?’ जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादव भन्छन्,‘ नगरपालिकाले अस्पताललाई दिने औषधि खर्च हामीसँग छैन भन्छन्। अब कसरी बिरामीको उपचार गर्नु ?’

नारामै सीमित आमा सुरक्षा कार्यक्रम
निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन। सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला। छोरी ममता पाललाई सुत्केरी गराउन रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान आएकी सप्तरी बोदेबरसाइनकी सीतादेवीले एक घन्टामै २५ सय रुपैयाँ खर्च गर्नुर्पयो। भिडियो एक्सरेलगायतका परीक्षण र औषधि खरिद गरेबापत उनको खर्च बढ्दै गयो ।

सुत्केरी गराउन अस्पताल पुग्ने महिलालाई सुरुमै भिडियो एक्सरे लेखिदिन्छन् चिकित्सक। चिकित्सकले नै अस्पताल बाहिर सञ्चालित भिडियो एक्सरे सेन्टर पनि देखाइदिन्छन्। अनि महिला पुग्छन् अस्पताल नजिककै श्रेया पोलिक्लिनिकमा सञ्चालित भिडियो एक्सरे सेन्टरलगायत अरु सेन्टरहरुमा। यो पोलिक्लिनिक अस्पतालकै मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुशवाहाको हो। यहाँ पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टरमा पुग्नुपर्छ। कुशवाहाको स्वामित्व रहेको श्रेया पोलिक्लिनिकमा यी सबै जाँचलगायतका सुविधा छ। अधिकांश महिलालाई जाँचका लागि त्यहीं पठाइन्छ। त्यहाँ बिरामीले चर्को रकम खर्चिनुपर्ने बाध्यता छ। पालका अनुसार सुत्केरी गराउनका लागि चाहिने स्लाइन पानीदेखि औषधि सबै अस्पतालबाहिरकै निजी पसलबाट किन्नुपरेको छ। अस्पतालमा भर्ना भएको एकदुई घन्टामै भिडियो एक्सरे, ल्याब परीक्षण र औषधि गरी तीनचार हजार खर्च भएको सीतादेवीले बताइन्।

‘अस्पतालको बेड र डाक्टर जाँचबाहेक सबै सेवामा रुपैयाँ खर्चिनुपर्दोरहेछ’, उनले भनिन्, ‘प्रसूति महिलालाई सरकारले दिँदै आएको न्यानो झोला (बच्चा र आमाका लागि लुगा) र यातायात खर्चसमेत अस्पतालले दिएन, उल्टै खर्चको भारी बोकाइदियो ।’ सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत एक हजार उपलब्ध गराउँदै आएको थियो। तर, यो अस्पतालले स्थानीय तहबाट आउनुपर्नेजती रकम नआइदिएकोले आमा सुरक्षा कार्यक्रम प्रभावित भएको अस्पतालका मेसु कुशवाहाको भनाई छ। चालु आर्थिक वर्षमा यस अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमका लागि १४ लाख रुपैयाँ आएको लहान नगरपालिकाका लेखा अधिकृत मायाप्रसाद आचार्यले बताए। २५ लाख रुपैयाँ औषधी खरिदका लागि आएको थियो जुन अस्पताललाई पठाइसकिएको उनले बताए ।

आमा सुरक्षा कार्यक्रमको १४ लाख मध्ये ९ लाख भुतmानी भैसकेको छ। बाँकी पाँच लाख अस्पतालबाट माँग नभएकाले खातामै रहेको लेखा अधिकृत आचार्यले बताए। पोहो आमा सुरक्षा कार्यक्रमका लागि अस्पताललाई करिब ८० लाख रकम भुतmान भएको उनले बताए। यसपाली माथीबाटै(सरकारबाट) घटेर आएको उनले भने ।
जिल्ला अस्पताल सिरहा, राउ स्मारक अस्पताल लहान मात्र नभई जिल्लाका सबै सरकारी अस्पताल र बर्थिङ सेन्टरमा उस्तै बेहाल छ। सुत्केरी गराउन आउने महिललाले बेड र पुर्जाबाहेकका सेवाका लागि रकम खर्चिनुपर्ने अवस्था छ। सुत्केरी गराउन चाहिने औषधि, ग्लोब्स, क्यानुला, ग्याटगट सबै बाहिर पैसा तिरेर किन्नुपर्छ। ग्लोब्सदेखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुपर्ने बाध्यता यहाँका सरकारी अस्पतालमा आउने विरामीहरु सुनाउँछन्।

यति खर्चमा त बाहिरको गुणस्तरीय निजी अस्पतालमा सेवा पाइन्छ, किन आउने सरकारीमा ? सिरहा ९ का सकलदेव यादवले भने। श्रीमतीलाई गर्भ जाँच गराउन आएका उनले भने,‘ सरकारी अस्पतालमा निःशुल्क सेवा नारामै सीमित छ ।’

स्वास्थ्य संस्थाहरूको आर्थिक कारोबार स्थानीय तहमा आएदेखि स्वास्थ्य संस्थामा बेथिति अझ बढेको छ। यस बेथितिलाई सामाधान गर्न स्थानीय तहका पादाधिकारी चासो लिएको पाइँदैन। सुत्केरी गराउन जिल्ला अस्पताल, सिरहामा लगभग मान्छे जानै छोडेका छन्। कोही गइहाले पनि निःशुल्क भनिएको प्रसूति सेवा निजी अस्पतालमा जत्तिकै चर्को र महँगो पर्छ। साउन महिनादेखि यहाँ औषधि अभाव छ। बजेट नहुँदा आमा सुरक्षा कार्यक्रम प्रभावित छ। निःशुल्क गर्भपतन सेवा औषधि अभावका कारण प्रभावित छ। जिल्ला अस्पताल सिरहाको तथ्यांक अनुसार साउनदेखि बैशाख ५ गत्ते सम्म ३ सय २३ जनाले नर्मल प्रसूती गराएका छन्। पोहोर ४ सय १० जनाले नर्भल प्रसूती गराएको तथ्यांक छ।

दरबन्दी सबै रिक्त
जिल्ला अस्पताल सिरहामा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। ५० बेडको यस अस्पतालमा उतm दरबन्दी सवै रितm छ। काजमा एकजना कन्सलटेन्ट सर्जन छ। उही मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी पाएका छन्। बाँकी पद रितm छ। ११ औं तहको मेडिकल सुपरिडेन्टेन्टको दरबन्दी पुर्ती नहुँदा मुनीकाले उतm जिम्मेबारी पाएका हुन ।

कन्सलटेन्ट फिजिसियन देखि मेडिकल अधिकृत गरि चारजना करारका डाक्टर छन्। एकजना स्वयमसेवक र अर्का डा. नागेन्द्र यादव काजमा छन्। गाइनो डाक्टर नहुँदा यहाँ नर्मल बाहेकका प्रसूती सेवा उपलब्ध छैन् । भिडियो एक्सरे छ तर त्यस कक्षमा ताला झुण्डिएका छ। रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे सेवा बन्द रहेको अस्पताल प्रशासन शाखाका विनोद कुमार यादवले बताए। यो अस्पताल भगवान भरोसा चलेको उनले बताए। दुई सात्ता अघि यस अस्पतालको निरिक्षण भ्रमणमा आएका स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्री उपेन्द्र यादव समक्ष अस्पतालको बेहाल अवस्था पावरपोइन्ट मार्फत अवगत गराइएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था हस्तान्तरण निर्दे्शिका २०७४’ मा स्थानीय तहलाई प्राप्त बजेट औषधि खरीद गर्न पर्याप्त नभएमा अन्य स्रोत परिचालन गरेर भए पनि औषधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। बजेट अभाव देखाएर स्वास्थ्य सेवा रोक्न नहुने व्यवस्था निर्दे्शिकामा भए पनि व्यवहारमा त्यस्तो भएको पाइँदैन ।
सिरहा नगरपालिकाका स्वास्थ्य संयोजक विन्देश्वर यादवका अनुसार औषधि खरिदका लागि प्राप्त १८ लाख ५० हजार रुपैयाँको टेन्डर गरेका थियौं। ठेक्केदारले ७ लाख ५० हजारमा ठेक्का सम्झौता गरे। ठेक्केदार मार्फत प्राप्त औषधि दामासाही हिसावले १३ वटा स्वास्थ्य चौकी र जिल्ला असपताललाई दामासाही हिसावले औषधी पठाएका छौं। उनले भने,‘म सँग त्यसबाहेक बिकल्पै छैन ।’ नगर कार्यपालिकाले चाहेमा बजेट थप्न सक्छ तर, चार महिना भैसक्यो नगर कार्यपालिकाको बैठक नै बस्न सकेको छैन्, उनले भने।

स्वास्थ्य संस्था हस्तान्तरण निर्दे्शिकाले स्थानीय तहले स्वास्थ्य सम्बन्धी कार्य गर्दा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने उल्लेख छ। तर, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहबीच औषधि आपूर्तिका विषयमा  तालमेलको समेत अभाव देखिएको छ। जसको शिकार भने सर्वसाधारण भइरहेका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App