१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एकलमा दीपेश र रसिलाको उदय

दाङ – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङको वर्चस्व तोड्दै एपिएफ क्लबका दीपेश धामी ब्याडमिन्टनको पुरुष एकलमा च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोरहीस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा रत्नजितलाई सोझो सेटमा स्तब्ध बनाउँदै दीपेशले पुरुष एकलमा उदयको संकेत दिएका हुन्। गत सातौं संस्करणमा च्याम्पियन रत्नजित यसपटक स्तब्ध भए। यसअघि रत्नजितबाट दबाब पर्दै आएका दीपेशले यस पटक भने बदला लिए।

दीपेशले रत्नजितको एकछत्र राज तोड्ने क्रममा २–० को सोझो सेटमै हराए। रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा हराउँदै दीपेशले उपाधि उचाले। रत्नजितले विगत ४ राष्ट्रिय प्रतियोगितामा एकलतर्पm जित निकाल्दै आफ्नो वर्चस्व बनाएका थिए। यद्यपि, यस पटक भने दीपेशले त्यो लयलाई भंग गरिदिए। रत्नजितले पनि वि. सं. २०६९ सालमा काठमाडौं सम्पन्न ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालीन नेपाल नंम्बर–१ खेलाडी विकास श्रेष्ठलाई पहिलो पटक स्तब्ध बनाएका थिए।

त्यसयता भने रत्नजितले पुरुष एकलमा आफ्नो दबदबालाई कायम राख्दै शीर्षताको उपाधि जित्दै आएका थिए। यद्यपि, शनिबार दीपेशले रत्नजितको दबदबालाई तोड्दै आफ्नो विभाग एपिएफमा अर्को स्वर्ण थपिदिए। यसअघिका प्रतियोगितामा पनि युवा खेलाडीद्वय दीपेश र प्रिन्स दाहालले रत्नजितलाई चुनौती दिँदै आएका थिए।

तर, रत्नजितले चुनौती समाप्त बनाउँदै आए पनि यसटक असफल रहे। आठौं खेलकुदमै पनि टिम इभेन्टको एकलमा सुदूरपश्चिमका प्रिन्सले रत्नजितलाई हराएका थिए। यद्यपि, एकलको सेमिफाइनमा शुक्रबार सम्पन्न खेलमा प्रिन्सलाई हराउँदै रत्नजितले बदलासमेत लिए।

तर, फाइनलमा रत्नजित दीपेशसँग स्तब्ध हुन पुगे। दीपेशले अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि रत्नजितलाई पराजित गरिसकेका थिए। दीपेशसँगै रसिला महर्जनले पनि नङ्सल तामाङको महिला एकलमा एकछत्र राजलाई तोड्दै नयाँ च्याम्पियनका रूपमा आफूलाई उभ्याएकी छन्।
आर्मीकी रसिला महर्जनले नङ्सललाई १९–२१, २१–१४, २४–२२ ले स्तब्ध बनाइन्। १४ वर्षकी रसिलाले  गत कृष्णमोहन स्मृति राष्ट्रिय ब्याडमिन्टनको पनि उपाधि जितेकी थिइन्। त्यो प्रतियोगिता भने नङ्सलले खेलेकी थिइनन्। कक्षा ९ मा अध्ययनरत रसिलाले सिनियर खेलाडीलाई हराउँदै दीपेशजस्तै राष्ट्रिय च्याम्पियनको सूचीमा आफूलाई उभ्याएकी छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App