१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीकाे गृहनगरमा देउवाले शक्ति प्रदर्शन गर्ने

झापा– प्रधानमन्त्रीको केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्ने भएको छ। कांग्रेस झापा क्षेत्र नम्बर ७ (हालको ५)को पार्टी कार्यालय उद्घाटनसँगै शक्ति प्रदर्शन कार्यक्रममा सभापति शेरबहादुर देउवासहित शीर्ष नेता दमक आउने भएका हुन्। 

सोमबार हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत आउने क्षेत्रीय समितिले जनाएको छ। शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिले कांग्रेसले शक्ति प्रदर्शन गर्ने जनाएको हो।

‘सरकारको गलत प्रवृत्तिको विरुद्धमा हामी शक्ति प्रदर्शन पनि गर्छौं’, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले भने, ‘करिब चार हजार कार्यकर्ता उतार्ने हाम्रो लक्ष्य छ।’ सरकारका गलत गतिविधिको विरोधका लागि पनि ओलीकै गृहनगरमा कार्यक्रम गर्न लागिएको महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले जानकारी दिइन्। 

‘यो कार्यक्रम ओलीको वडा अर्थात् दमक ५ मै गर्छौं’, उनले भनिन्, ‘यो कार्यक्रमले सरकारको गलतगतिविधिको विरोधमा थप सघाउ पुग्नेछ।’ 

कार्यक्रमले पार्टीभित्र देखिएका विवाद समाधानामा पनि सघाउ पु-याउने उनको दाबी छ। ‘यो कार्यक्रमले पार्टीमा एकताको सन्देश पनि दिनेछ’, उनले भनिन्, ‘तर स्थानीय नेताहरूले कार्यक्रमको प्रचार गर्दै गर्दा कति नेताको नाम पनि छुटाएको पाइयो। यसले गलत सन्देश दिन्छ। यसतर्फ ख्याल गर्नु होला।’

क्षेत्रीय समितिको कार्यालय उद्घाटनसँगै २०४६ अघि पार्टीमा योगदान गरेका स्थानीय नेताहरूलाई सम्मानसमेत गरिने पार्टी नगर समिति सभापति रोशन विष्टले जानकारी दिए। 

क्षेत्रीय समितिको कार्यालय ३५ लाखको लागतमा बनेको भवन निर्माण समिति संयोजक शेरबहादुर भट्टराईले जानकारी दिए। उक्त भवनको शिल्यान्याश पार्टी नेता डा. शेखर कोइरालाले २०७१ पुस २४ गते गरेका थिए। 

प्रकाशित: ७ वैशाख २०७६ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App