१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा महासचिवकाे दाबी : ‘कानुनअनुसार जग्गा खरिद गरेको हुँ’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नवलपरासीको बर्दघाटमा रहेको आठ कट्ठा जग्गा बिक्री गरी बालुवाटारमा आठ आना जग्गा किनेको बताएका छन्। पौडेलले शुक्रबार विज्ञप्तिमार्फत सरकारी जग्गा हडप्ने दूषित मनसायले कागज स्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा आफू र परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र नरहने बताएका छन्।

‘२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ।

नवलपरासीको बर्दघाटमा श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट बालुवाटारको जग्गा खरिद गरिएको विज्ञप्तिमा लेखिएको छ। ‘त्यतिबेला म विष्णुप्रसाद पौडेल मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु।’

मुलुकमा सुशासन कायम गर्न आफू जस्तोसुकै योगदान गर्न पनि तयार रहेको उनले बताएका छन्। ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई म हार्दिक स्वागत तथा समर्थन गर्छु’, विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको आधिकारिक निकायबाट हुने छानबिनका निष्कर्षप्रति मेरो समर्थन रहने छ।’

प्रकाशित: ७ वैशाख २०७६ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App