१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याद गुज्रेका औषधि जफत

फाइल तस्बिर

खोटाङ – जिल्लाको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा जन्तेढुंगा–५ चिसापानी बजारमा सञ्चालित सो औषधि पसलबाट ५ हजार १ सयबराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

अनुगमनका क्रममा जफत गरिएको औषधि जलाएर नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। तीनवटा औषधि पसलमध्ये एउटा पसलमा मात्र म्याद गुज्रेका औषधि फेला परेको हो। सो पसलको नाम र औषधिको प्रकार खुलाइएको छैन। औषधि नै म्याद नाघेको फेला परेपछि जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको अनुगमन टोलीले जनाएको छ। घरेलु तथा साना उद्योग विकास समितिले औषधिजन्य, कस्मेटिक, चिसो पेयपदार्थ र खाद्यान्न समुहको अवस्थाका विषयमा बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा कस्मेटिकका तीन सय ५० रुपैयाँ, चिसो पेयपदार्थअन्तरगत दुई हजार दुई सय रुपैयाँ र खाद्यान्नतर्फ तीन हजार नौ सय ४० रुपैयाँ बराबरको म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ। जफत सामग्री गाउँपालिका अध्यक्ष शंकर राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागार्इं, इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायब निरीक्षक नीरबहादुर कटवाल, उद्योग वाणिज्य संघका दिलबहादुर तामाङलगायतको रोहवरमा जलाइएको छ। अनुगमन टोलीले चिसापानीका ३० वटा पशलमा अनुगमन गरेको जनाएको छ।
‘अनुगमन सुरु भएपछि म्याद नाघेका सामान लुकाइए’

घरेलु तथा साना उद्योग विकास समिति नेतृत्वको अनुगमन टोली बजार छिरेर अनुगमन सुरु गरेपछि चिसापानीका कतिपय व्यवसायीले हत्तपत्त कमसल उपभोग्य सामग्री छलेको अनुगमन टोलीले जनाएको छ। एकातर्फबाट पसलबाट अनुगमन सुरु गरेको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका उपभोग्य वस्तु लुकाएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख महतोले बताए। अकस्मात् बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि व्यवसायी अत्तालिएका थिए। ‘हामीले अकस्मात् बजार अनुगमन सुरु ग¥यौं,’ महतोले भने, ‘बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका सामान लुकाएको जानकारी पाएका छौं।’

गत चैत २१ गते खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा गरिएको बजार अनुगमनका क्रममा पनि एउटा औषधि पसलबाट म्याद नाघेका एक हजार चार सय ७६ रुपैयाँबराबरको औषधि फेला परेको थियो।

प्रकाशित: ७ वैशाख २०७६ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App