१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मापदण्डविपरीत उत्खनन

दैलेख - कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरमा रसुवा÷सूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर स्थापना गरिएको हो।

त्यहाँको लोहोरेखोलामै जोडेर क्रसर उद्योग राखिएको छ। नियमअनुसार त्यस्तो ठाडो ठाउँमा क्रसर उद्योग नै राख्न मिल्दैन। क्रसरले खोला दोहन गरेर गहिरो बनाइसकेको छ। खोलाको बीचबाटै उद्योगले ढुंगाा र बालुवा उत्खनन गरी मापदण्डविपरीत काम गरेको छ। अस्थायी रूपमा सञ्चालनको अनुमति पाएको सो क्रसर उद्योगले जथाभाबी नदी दोहन गरी ढुंगा, गिट्टी र बालुवा उद्देश्यविपरीत बिक्री गरेको पाइएको हो।

ढुंगा, ग्राभेल बालुवा, गिट्टी, मिस्कट, भस्कट, माटोजस्ता नदीजन्य पदार्थलगायत प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ। तर सो क्रसर उद्योगले कर्णाली नदीबाटै कच्चा पदार्थ झिक्ने गरेको पाइएको छ। सो क्रसरले तल्लो डुंगेश्वरस्थित कर्णाली राजमार्गमा रहेको लोहोरे खोलास्थित पुलआसपासबाट एक्साभेटर प्रयोग गरी ढुंगा तथा बालुवा खुलेआम झिकेको देख्न पाइन्छ। दुल्लु नगरपालिकाले अस्थायी रूपमा राजमार्ग मर्मत र पुल निर्माणका लागि अस्थायी रूपमा क्रसर सञ्चालन अनुमति दिएको जनाएको छ। ‘कर्णाली राजमार्ग मर्मत र पुलबाहेक अन्य व्यावसायिक प्रयोजनले कुनै सामग्री बिक्री गर्न पाइन्न,’ स्रोतको भन्यो। सो क्रसरबाट उत्खनन गरिएका सामग्री जिल्लाका अगुवाहरूकै सेटिङमा जिल्लाभित्र र बाहिर बिक्री गर्ने गरिएको स्रोतको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले आफूहरूले क्रसर उद्योगहरूबारे अनुगमन गरिरहेको बताए। त्यसक्रममा उत्खनन गरिएका सामग्री जिल्लाभर बिक्री गर्न पाइने भन्ने जानकारी आएको र त्यसबारे सत्यतथ्य बुझ्न आवश्यक काजगपत्र मगाइएको उनले जानकारी दिए। क्रसर उद्योगको नवीकरण गर्न बाँकी रहेको खबर पनि आएको प्रमुख थापाको भनाइ छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले सो क्रसर उद्योगले अनुमति लिएरै नदीजन्य सामग्री बिक्री गरिरहेको प्रतिक्रिया दिए। तर काजगपत्र भने हेर्न बाँकी रहेको उनको जवाफ छ। व्यावसायिक रूपमा स्थायी क्रसर सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिमार्फत दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। जिल्लामा चुप्राआसपासमा केही क्रसर उद्योगले स्थायी अनुमति लिए पनि नवीकरण भने नगरिएको समितिको भनाइ छ। स्थायी अनुमति लिएर जिल्लामा कुनै क्रसर उद्योग सञ्चालनमा नरहेको वरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आचार्यले बताए।

सो क्रसर उद्योगबाट जिल्लाभित्रका हाइड्रोपावरको पावरहाउसदेखि ड्यामसाइट, सदरमुकामका भवनदेखि सुर्खेत उपत्यकासम्म गिट्टी, बालुवा बिक्री गरिँदै आएको खुलासा भएको छ। क्रसर सञ्चालक खड्कबहादुर खड्काले आवश्यकताका आधारमा आफूले बाहिर पनि सामग्री बिक्री गरेको स्वीकार गरेका छन्। यसरी गिट्टी–बालुवा बिक्री गर्न स्थायी रूपमा अनुमति लिई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा तोकिएका स्थानमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ। अहिले क्रसर सञ्चालन भइरहेको स्थान उक्त प्रतिवेदनमा उल्लेख छैन।

कर्णाली राजमार्ग र त्यसमा पर्ने नौवटा पुलका लागि सञ्चालनमा ल्याइएको क्रसर उद्योगबाटै खुलेआम नदीजन्य सामग्री बिक्री भइरहँदा पनि जिल्ला समन्वय समितिका प्रमुखसहितले पटकपटक अनुगमन गरे पनि कुनै कारबाही नगरेको स्थानीय बताउँछन्। सबैको मिलोमतोमा क्रसरले बिक्री–वितरणलाई झनै तीव्रता दिएको एक स्थानीय व्यवसायीको भनाइ छ। ‘कागजपत्र नहेरी अनुगमन टोली फर्कियो,’ उनले भने, ‘पहुँचकै भरमा त्यो क्रसर उद्योगले वैधजस्तै गरी धन्दा चलाइरहेको छ।’

क्रसर सञ्चालक खड्काले स्थानीयदेखि सबै दलको दबाबका कारण आफूले त्यस्ता सामग्री बिक्री गर्नुपरेको बताए। ‘बिक्रीका लागि राजनीतिक दलबाट दबाब आउने गरेको छ,’ उनले भने, ‘उद्देश्यविपरीत बिक्री गर्न नपाइने भए पनि कामै रोकिएको भन्दै आएपछि मैले बाध्यतामा परेर बिक्री गरेको हुँ।’ तर दबाबको कुरा गरेर पन्छिन खोजे पनि सञ्चालकले मूल्य राम्रो पाइने भएपछि क्रसर उद्योगबाट नौमुलेको हाइड्रोपावरलाई गिट्टी र बालुवा बिक्री गरिएको बुझिएको छ। त्यस्तै सुर्खेतदेखि दैलेखका विकास निर्माणका योजनाका लागि पनि चर्को मूल्य लिएर सो उद्योगबाट गिट्टी–बालुवा बिक्री हुने गरेको जनाइएको छ।

कर्णाली राजमार्गमा रहेको तल्लो डुंगेश्वर पुलदेखि चार सय मिटरको दूरीमा क्रसर उद्योग कार्यविधिविपरीत सञ्चालन गरिएको छ। यो क्रसर उद्योगले खहरे खोलादेखि लोहोरे र कर्णाली नदी दोहनले तल्लो डुंगेश्वरको पक्कि पुल जोखिममा परेको छ। यसअघि पनि तल्लो डुंगेश्वर–दैलेख बजार सडक स्तरोन्नति तथा मर्मत–सम्भारका लागि लामा कन्ट्रक्सनले राखेको क्रसरका कारण पुल भत्किने अवस्थामा पुगेको थियो।

प्रकाशित: ७ वैशाख २०७६ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App