ललितानिवास जग्गा प्रकरण

२४ वटा सरकारले नदेखेको हिनामिना

शनिबार, ०७ बैशाख २०७६, ०६ : १४ मातृका दाहाल  | @Dahalmatrika

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए। सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी फिर्ता ल्याउन र दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिए।

विगत हेर्ने हो भने छानबिन समिति वा न्यायिक समितिका प्रतिवेदन तत्कालै सरकारले कार्यान्वयन गरेको नजिर छैन। तर सरकारको अहिलेको पहल सुखद मान्नुपर्छ। त्रिताल नेतृत्वको छानबिन समितिले मंसिर २६ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझायो। प्रतिवेदनको निष्कर्ष छ– सरकारी ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ। सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्नेगरी मन्त्रिपरिषद् र मालपोत कार्यालयबाट विगतमा भएका निर्णय खारेज तथा संलग्न कर्मचारी तथा भूमाफियामाथि कारबाही गर्नुपर्छ।

व्यक्तिका नाममा गराइएको ललितानिवासको जग्गा फिर्ता गर्न प्रधानमन्त्री ओली र गृहसचिव प्रेमकुमार राईको पहलमा त्रिताल नेतृत्वमा छानबिन समिति गठन भएको थियो। सरकारी सम्पत्ति हिनामिना हुन नदिन ओलीले देखाएको यो तत्परता निकै साहसिक रहेको त्रितालको भनाइ छ। यही निर्णयका आधारमा अख्तियार र ब्युरोले ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्नमाथि अनुसन्धान गरिरहेका छन्।

नेता, व्यापारी, भूमाफियालगायतका नाममा गइसकेको उक्त जग्गा सरकारले रोक्का गरिसकेको छ। २०२१ सालमा पञ्चायती सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको १ सय १४ रोपनी बहुदल आउनेबित्तिकै किन र कसरी व्यक्तिका नाममा बनाइयो भन्ने विषय अनुसन्धानकै क्रममा छ। अनुसन्धान प्रतिवेदन आएपछि मात्रै दोषीमाथि सरकारले केकस्तो कारबाही गर्छ भन्ने टुंगो लाग्ला।

तर राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा तत्कालीन भोगाधिकारी, नेता, भूमाफिया र मालपोतका कर्मचारी मिलेर बेचबिखन गर्दा पनि २८ वर्षको अवधिमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन्। २०४६ सालको राजनीतिक आन्दोलनबाट बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि २५औं प्रधानमन्त्री बनेका ओलीले व्यक्तिका नाममा पुगेको सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यो विषय निकै पेचिलो बनेको छ। २०७२ सालमा ओली नै प्रधानमन्त्री भएका बेला भने यो प्रकरण छानबिनको दायरामा आएन।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा तत्कालीन भोगाधिकारी, नेता, भूमाफिया र मालपोतका कर्मचारी मिलेर बेचबिखन गर्दा पनि २८ वर्षको अवधिमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन्। अहिले ओली सरकारले व्यक्तिका नाममा पुगेको सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यो विषय निकै पेचिलो बनेको छ।

२०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि राजकाज मुद्दा लगाइएका नेपाली कांग्रेसका नेता सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेर भारत निर्वासित भए। निर्वासनसँगै सुवर्णशमशेरको स्वामित्वमा भएको १४ रोपनी ११ आना जग्गा सरकारले ०२१ सालमा जफत ग¥यो। सुवर्णशमशेरका अन्य हकदारका नामको करिब २ सय ८४ रोपनी मुआब्जा दिएर तत्कालीन सरकारले अधिग्रहण गरेको अभिलेख छ। जफत गरिएको सो जग्गा २०४९ सालमा फिर्ता गर्ने क्रममा मुआब्जा लिइसकेको जग्गा पनि तत्कालीन भोगाधिकारीले मन्त्रिपरिषद्का सदस्यहरुलाई प्रभावमा पारेर आफ्नो नाममा बनाए।

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्ले सुवर्णशमशेरको जफत भएको जग्गामात्रै तत्कालीन भोगाधिकारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। तर २०४७ सालमा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर २०४९ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले जफत भएको सहित १ सय १४ रोपनी जग्गा तत्कालीन भोगाधिकारीलाई फिर्ता ग¥यो। यसमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीको बदमासी प्रमुख कारण रहेको त्रिताल प्रतिवेदनमा उल्लेख छ।

व्यक्तिका नाममा गराइएको सरकारी जग्गा फिर्ता ल्याउन मनमोहन अधिकारी, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्दबहादुर चन्द, गिरिजाप्रसाद, कृष्णप्रसादको नेतृत्वमा पटकपटक बनेका सरकारले कुनै कदम चालेन। २०६२÷०६३ को राजनीतिक आन्दोलनपछि गठन भएका सरकारले समेत गलत निर्णय सच्याउने प्रयास गरेनन्।

एकातिर माओवादी सशस्त्र द्वन्द्व अर्कातिर त्यही मौकामा माफियाले जग्गा हडप्न सुवर्णशमशेरका छोरा (हकवाला) सँग मिलाएको सेटिङ २०६१ सालमा स्पष्ट भयो। सरकारको नेतृत्व बदलिने क्रमसँगै २०६१ सालमा देउवा फेरि प्रधानमन्त्री बने। त्यही बेला ललितानिवासको छुटपुट जग्गा पनि मिलाएर सुवर्णशमशेरका हकदार रुक्मशमशेरलगायतले लगे। उनीहरूले सो जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीलगायत व्यापारी तथा भूमाफियालाई बिक्री गरे। यसरी लिएको जग्गा सुवर्णशमशेरका हकदारले सत्ता र शक्तिसँग नजिक भएको संगठित गिरोहलाई बिक्री गरे। २०६१ सालमै सो जग्गामध्येबाटै ८ आना तत्कालीन एमालेका नेता विष्णुप्रसाद पौडेलले पनि खरिद गरेको तथ्य नागरिकले खुलासा गरिसकेको छ। उनी अहिले नेकपाका महासचिव छन्। सुवर्णशमशेरका हकदारबाट किनेको सो जग्गा गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुसँग नजिक रहेको गिरोहले प्लटिङ गरेर बिक्री ग-यो।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्यसँगै गठन भएका सरकारले पनि हडपिएको सरकारी जग्गा फिर्ता गर्न चासो देखाएनन्। उल्टै २०६६ चैत र २०६९ असोजमा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल र बाबुुराम भट्टराईले भूमाफिया र व्यापारीकै पक्षमा निर्णय गरे। नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्बाट गलत र अनुचित निर्णय गराउन मतियार बन्नेमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात, निर्वाचन आयोगका वर्तमान आयुक्त सुधीरकुमार शाह, पूर्वमन्त्री छविराज पन्तलगायतको प्रत्यक्ष संलग्नता देखिएको छ। कतिपयले आफैं सदस्य भएको मन्त्रिपरिषद्बाट भएका निर्णयमा अनभिज्ञतासमेत जनाएका छन्।

अहिले सरकारले छानबिन थालेपछि ललितानिवासको जग्गा हिनामिनामा मुछिएका केही भूमाफिया र मालपोत कार्यालयका केही कर्मचारी फरार भइसकेका छन्। तर अनुसन्धान कुनै पनि हालतमा प्रभावित नहुने अख्तियार र ब्युरोका अधिकारी बताउँछन्।


नत्र माफियाले सिंहदरबार पनि कब्जा गर्नेछन्: शारदाप्रसाद त्रिताल

ललितानिवासको जग्गा हिनामिनाबारे छानबिन गर्दा कत्तिको दबाब आएको थियो ?
दबाबचाहिँ आएन। जग्गा हिनामिनामा संलग्न कर्मचारी र भूमाफियालाई विगतका सबै तथ्य र प्रमाण नष्ट भइसके भन्ने भ्रम रहेछ। केही कार्यालयबाट प्रमाण नष्ट पारिएको पनि भेटियो। अन्य निकायसँग पनि प्रमाण छन् भन्ने कुरा उनीहरुलाई हेक्का भएन।

ललितानिवासको जग्गा हडप्नेमाथि कारबाही गर्ने आधार पर्याप्त छन् ?
प्रतिवेदनका हरेक बुँदा तथ्य र प्रमाणसहितका छन्। यति धेरै प्रमाण छन् कि अब आरोपितबाहेक कसैले पनि ललितानिवासको जग्गा व्यक्तिको हो, हिनामिना भएको छैन भन्ने आँटसमेत गर्न सक्दैनन् जस्तो लाग्छ।

त्यसो भए हिनामिनामा संलग्नमाथि कारबाही होला त ?
प्रतिवेदन पेस गर्ने बेला नै हामीले सरकारलाई यो कार्यान्वयन तहमा गएन भने कुनै दिन सिंहदरबार पनि माफियाले कब्जा गर्नेछन् भनेका थियौं। प्रधानमन्त्रीले त्यस्तो आशंका नगर्नुस्, भ्रष्टाचारविरुद्ध मेरो अभियान यही प्रतिवेदन कार्यान्वयनबाटै सुरु हुन्छ, ढुक्क हुनुस् भन्नुभएको थियो, उहाँले प्रतिबद्धता जनाएअनुसार नै अहिले ललितानिवास हिनामिनामा मुछिएकामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेका छन्।

आमसञ्चारका माध्यम पनि सार्वजनिक सम्पत्ति हिनामिनाविरुद्ध एकसाथ अघि बढेका छन्। देशलाई ठग्नेको अनुहार सतहमा आएको छ। उनीहरुको बनिबनाउ र नक्कली प्रतिष्ठाको उजागर भएको छ। अरु ठाउँमा हडपिएको सरकारी र सार्वजनिक सम्पत्ति पनि फिर्ता गर्न सरकारमाथि दबाब परेको छ। सरकारले साहस र हिम्मत जुटाउनुपर्छ।

अब भूमाफिया कमजोर भएका हुन् त ?
ललितानिवासको जग्गा व्यक्तिलाई सुम्पिने हिसाबले भएका निर्णय फिर्ता लिन ढिला गर्नुहुँदैन। अख्तियार र सिआइबीको अनुसन्धान टुंगोमा पुगेपछि एउटा तस्बिर बाहिर आउँछ।

ललितानिवास जग्गा हिनामिना प्रकरण यति धेरै चर्चामा आउँदा कस्तो लाग्यो ?
हामीले देशको सम्पत्ति भूमाफियाको कब्जाबाट फिर्ता ल्याउनुपर्छ भनेर तयार पारेको प्रतिवेदनलाई सरकार र आमजनमानसले साझा सम्पत्तिका रुपमा ग्रहण गर्दा खुसी नहुने त कुरै छैन। बहालमा छँदा र अवकाशपछि पनि देशको पक्षमा काम गर्न पाउँदा खुसी छु।(ललितानिवासले चर्चेको जग्गा हिनामिनासम्बन्धी छानबिन गर्न सरकारले गठन गरेको समितिका संयोजक त्रितालसँग गरिएको संवाद)


‘कानुनअनुसार जग्गा खरिद गरेको हुँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नवलपरासीको बर्दघाटमा रहेको आठ कट्ठा जग्गा बिक्री गरी बालुवाटारमा आठ आना जग्गा किनेको बताएका छन्। पौडेलले शुक्रबार विज्ञप्तिमार्फत सरकारी जग्गा हडप्ने दूषित मनसायले कागज स्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा आफू र परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र नरहने बताएका छन्।

‘२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ।

नवलपरासीको बर्दघाटमा श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट बालुवाटारको जग्गा खरिद गरिएको विज्ञप्तिमा लेखिएको छ। ‘त्यतिबेला म विष्णुप्रसाद पौडेल मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु।’

मुलुकमा सुशासन कायम गर्न आफू जस्तोसुकै योगदान गर्न पनि तयार रहेको उनले बताएका छन्। ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई म हार्दिक स्वागत तथा समर्थन गर्छु’, विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको आधिकारिक निकायबाट हुने छानबिनका निष्कर्षप्रति मेरो समर्थन रहने छ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad