१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्नेमा जोड

सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुर नगरपालिकाले विश्व सम्पदा दिवसको अवसरमा बिहीबार गरेको प्रवचन कार्यक्रमका वक्ताले प्राचीन स्मारण ऐनअनुसार एक सय वर्ष पुरानो भौतिक वस्तु देशकै सम्पदाको रूपमा स्थापित हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए।

संघीय सांसद् प्रेम सुवालले सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्ने र अन्धविश्वासलाई अन्त्य गर्ने ढंगले संरक्षणमा जोड दिनुपर्ने बताए। सांस्कृतिक सम्पदा संरक्षणले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नुका साथै नयाँ पुस्ताको सेवा हुने बताउँदै सांसद् सुवालले अमानत र उपभोक्ता समितिमार्फत् विकास निर्माणको कार्य अगाडि बढाउनु उचित हुने विचार व्यक्त गरे। ‘द पीस अवार्ड अफ द युनेस्को इन एसिया एण्ड प्यासिफिक’ र ट्रान्सपरेन्सी इन्टरनेसनलबाट सदाचारको टापु भनी पुरस्कृत गरिएको भक्तपुरका विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदा संरक्षण र सरसफाइमा अझ व्यवस्थित ढंगले अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षणमा संघ सरकारले उचित बजेट व्यवस्थापन गर्न नसकेको गुनासो व्यक्त गर्दै आवश्यक काठ, निर्माण सामग्री र दक्ष जनशक्तिको अभावले पुनःनिर्माणमा चुनौती थपिएको गर्नुपरेको बताए। भक्तपुरको दृश्य प्रदूषण रोक्न अव्यवस्थित तार भूमिगत गर्ने प्रक्रिया अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले पर्यटकको बसाइ लम्ब्याउन आवश्यक व्यवस्थापन भइरहेको जानकारी गराए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘भक्तपुर नगरपालिकाका भौतिक र अभौतिक सम्पदाको पुनःजीवन विषयमा प्रस्तुतीकरण दिँदै भक्तपुरको सांस्कृतिक सम्पदा जगेर्ना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताइन्। प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाको काम सह्रानीय भएको बताए। उनले कुनै पनि ठाउँको संस्कृति जोगाउन खुला स्थानको जगेर्ना गर्नु आवश्यक भएको बताए।

नेपालमण्डलको सभ्यता किसानको काँधबाट उठेको बताउँदै उनले भक्तपुरको प्राचीन राजकुलो ब्युँताउन आवश्यक भएको बताए।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दीलिप लामिछानेले भक्तपुरको पुरानो स्वरूपको गहन अध्ययनको आवश्यकता औंल्याउँदै पर्यटक केन्द्रित गतिविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ र भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सम्पदाको महत्वबारे चर्चा गरे। कार्यक्रममा ख्वप इ. कलेजका विद्यार्थी आर्किटेक्ट. रविता शिल्पकारले भक्तपुर नगरपालिका वडा नं. ८ जेंलामा अवस्थित जेंला पुखुचा (पोखरी) को स्थलगत प्रतिवेदनबारे प्रस्तुतीकरण दिएकी थिइन्। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई जेंला पुखुचाको स्थलगत अध्ययन प्रतिवेदन ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले हस्तान्तरण गरेका थिए। विश्व सम्पदा दिवसको अवसरमा बिहीबार नै भक्तपुरको दरबार क्षेत्रमा सांस्कृतिक सम्पदाको फोटो प्रदर्शनी पनि राखिएको थियो।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिका वडा नं ८ जेंला पुखुचा (पोखरी) को स्थलगत अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै।

प्रकाशित: ६ वैशाख २०७६ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App