१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चिनियाँलाई नेपाल आउन निम्तो

बेइजिङ - बेइजिङस्थित नेपाली दूतावासमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम गत बुधबार सम्पन्न भएको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्ड र नेपालको ट्राभल्स र टुर एजेन्टहरूको संघ नाटासँग सहकार्य गर्दै कार्यक्रम गरेको हो।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले दूतावासले नेपाली पर्यटन प्रवद्र्धनमा गरिरहेका कामको व्याख्या गरेका थिए। उनले नेपाल चिनियाँ पर्यटकका लागि सर्वोत्कृष्ट गन्तव्य हुनसक्ने भन्दै चिनियाँ सञ्चारमाध्यममा नेपालको प्रकृति, संस्कृति, मनोरन्जन, खानेकुरा, रीतिरिवाज, साहसिक खेलकुदआदि बारेमा निरन्तर प्रचार गरिँदै आएको बताए। नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकले मेरुदण्डको काम गरेको भन्दै पछिल्लो समय नेपाल भ्रमण गर्न चिनियाँ पर्यटकको संख्या बढिरहेको र आगामी वर्ष आयोजना हुने नेपाल भ्रमण वर्षमा उल्लेख्य रूपमा चिनियाँ

पर्यटकलाई नेपाल भित्र्याउन दूतावास क्रियाशील रहेको बताए। नेपाल पर्यटन बोर्डकी श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको परिचय दिएकी थिइन् भने नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट नाटाका चीन संयोजक सुदर्शन नेपालले चिनियाँ भाषामा सम्बोधन गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न निम्ता दिए।

बेइजिङमा आयोजना भएको ‘चाइना आउटबाउण्ड ट्राभल एण्ड टुरिजम मार्केट ‘कटम’’मा भाग लिनका लागि नेपालबाट नेपाल पर्यटन बोर्डसँगै नाटाको संयोजनमा नेपाली पर्यटन व्यवसायीहरू चीनमा आएका हुन्।


सोमबारदेखि बुधबारसम्म बेइजिङमा आयोजना भएको ‘चाइना आउटबाउण्ड ट्राभल एण्ड टुरिजम मार्केट ‘कटम’’मा भाग लिनका लागि नेपालबाट नेपाल पर्यटन बोर्डसँगै नाटाको संयोजनमा नेपाली पर्यटन व्यवसायीहरू चीनमा आएका हुन्। कटम मेलामा नेपालका ८ वटा प्रदर्शनी कक्ष थिए। जसमा नेपाल पर्यटन बोर्डको एउटा विशेष कक्ष रहेको बोर्डका प्रबन्धक सन्तोष घिमिरेले नागरिकलाई बताए।

मेलामा एक सय पचासभन्दा बढी देश र क्षेत्रका ८ सय सहभागीहरूले बीटुबी अर्थात् संस्थागत रूपमा व्यवसाय प्रवद्र्धन गरेका छन्।    नेपालमा चिनियाँ पर्यटक बढिरहेको र आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्षलाई सफल बनाउने मुख्य आधार चिनियाँ पर्यटक नै रहेको घिमिरेले बताए। ‘यसपटकको मेलामा नेपालले गुणस्तरीय प्रचारप्रसार गरेको छ। चिनियाँ पर्यटन व्यवसायीहरू पनि नेपालप्रति निकै उत्साहित छन् ’, उनले भने।

कार्यक्रममा बेइजिङ नर्मल युनिभर्सिटीमा अध्ययनरत नेपाली छात्रा रोमी महर्जनले कुमारी नृत्य प्रस्तुत गरेकी थिइन् भने बेइजिङ बाहिरको हपेइ अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयमा अध्ययनरत विवेक तामाङ, रूपा घिसिङ, जस्मिन श्रेष्ठ र विवेक व्यन्जनकारले आधुनिक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी हपेइ उत्तरी विश्वविद्यालयका अनुपा जमरकट्टेल, साङ्गे लामा र सम्पदा पण्डितले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित: ६ वैशाख २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App