१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। गएको आवमा यस्तो आय चार खर्ब ५७ अर्ब ८८ करोडमात्र थियो।

अन्तिम श्रम स्वीकृती संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जानेको संख्यामा समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ। यद्यपी आय भने बढेको छ। श्रम स्वीकृतीको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यस अवधिमा ४.६ प्रतिशतले बढेको छ। विप्रेषण आम्दानी नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा रहँदै आएको छ। सन् २००० को दशकदेखि नै नेपाली अर्थतन्त्रको एउटा सबल खम्बाको रुपमा उदाएको रेमिट्यान्स वृद्धिदर अघिल्लो वर्ष केही कमी आए पनि अहिले यो सुधारात्मक अवस्थामा देखिएको छ।

साउनबाट सुरु भएको यस आर्थिक वर्षको दोस्रो चौमासमम्म पाँच खर्ब ८२ अर्ब  रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि विदेशमा कामको खोजीमा जाने नेपालीहरुको संख्या निरन्तर घट्दै आएको छ। दुई वर्षअघि रेमिट्यान्स नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को करिब २९ प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०७३/७४ मा नेपालमा करिब ६ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। गत आवमा सात खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। बचत गरेको रकम उत्पादनमूलक क्षेत्रमा लागनी हुन सकिरहेको छैन। नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनले यसको ज्यादै ठूलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको भनिएको छ। रेमिट्यान्सको २४ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको छ।

त्यस्तो रकम उपभोगमा खर्च हुने तर, आन्तरिक उत्पादन नबढ्ने अवस्थामा आयात बढ्न गइ व्यापार घाटामा समेत चाप परेको छ। त्यस्तो आय लगानीमा परिणत भएमात्रै उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। यस्तो   रकम अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको छ।

तेस्रो घरपरिवार सर्वेक्षण (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे) ले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो। नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न खर्च हुने गरेको छ।
खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ।

सन् १९८० को दशकपछि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले गर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरूमा रोजगारीका लागि जाने श्रमशक्तिमा उच्च वृद्धि हुँदै गएको हो।

प्रकाशित: ५ वैशाख २०७६ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App