२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

द्वन्द्वपीडितलाई सीपमूलक तालिम

सुर्खेत– कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडितलाई सीप विकास तालिम दिने प्रक्रिया शुरु गरेको छ।

चालू आर्थिक वर्षमा विनियोजित दुई करोड ५० लाख रुपैयाँ बजेटअन्तर्गत १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्ति तथा तिनका परिवारलाई सीपमूलक तालिम प्रदान गर्न लागिएको हो। मन्त्रालयका सचिव गङ्गाराम गेलालले पहिलो चरणमा तथ्याङ्क सङ्कलन, आवश्यकता पहिचान र दोस्रो चरणमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सँग तालिम सम्झौता गरिने जानकारी दिए।

आवासीय तालिम भएकाले प्रदेश राजधानी सुर्खेत वा नेपालगञ्जमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ। मन्त्रालयले द्वन्द्वपीडित युवाका लागि लामो अवधिको मोटरसाइकल मेकानिक्स, प्लम्बर, लाइट भेहिकल मेकानिक्स, विल्डिङ इलेक्ट्रिसियन र छोटो अवधिको वेटर्स, वेट्रेस, होटल असिस्टेन्ट, फर्निचर मेकर, बार बिन्डर, इण्डस्ट्रियल इलेक्ट्रिसियन तालिम लिन इच्छुकहरुसँग आवेदन मागेको छ। त्यस्तै, महिलाले एसी मेकानिक्स, सहायक ब्यूटीसियन, लाइब्रेरी सहायक, मन्टेश्वरी र कम्प्युटर हार्डवेयर टेक्निसियनमध्ये कुनै एक रोज्न सक्नेछन्।

द्वन्द्वपीडित व्यक्ति स्वयंको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराइ भए सोको प्रतिलिपि तथा द्वन्द्वपीडित परिवारका सदस्यको हकमा द्वन्द्वपीडित व्यक्तिसँगको नाता प्रमाणित प्रतिलिपिलाई आधार मानेर सहभागी छनोट गरिने सचिव गेलालले बताए। प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले सीपमूलक तालिमको व्यवस्था गरेको हो ।

प्रकाशित: ५ वैशाख २०७६ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App