१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘लुटतन्त्र मौलायो’

भक्तपुर– मानव अधिकारकर्मीले ‘लोकतन्त्र लुटतन्त्र’ मा परिणत भएको बताएका छन्। राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुर शाखाले परिवर्तित राजनीतिक अवस्था र मानवअधिकार विषयमा बुधबार आयोजना गरेको विचार गोष्ठीमा सहभागी मानवअधिकारकर्मीले जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको दाबी गर्दै ‘लोकतन्त्रका नाममा लुटतन्त्र’ मौलाएको विचार व्यक्त गरेका हुन्।

गोष्ठीमा प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष भवानीप्रसाद खरेलले दुईतिहाइ बहुमतको सरकार बने पनि त्यसको अनुभूति जनताले गर्न नपाएको बताए। उनले ‘लोकतन्त्रका नाममा लुटतन्त्र’ चलेको बताए। उनले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको दलका नेताहरूले आसेपासे, नातागोता र कार्यकर्तालाई मात्र सेवासुविधा दिने गरेको आरोप लगाए। आम जनता भने निरास भएको उल्लेख गर्दै उनले मानवअधिकारको प्रत्याभूति हुनेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिए। ‘दुईतिहाइको सरकारले मानवअधिकार रक्षा हुनेगरी काम गर्नुपर्छ, अहिले पनि जनता त्रसित वातावरणमा दैनिकी गुजारिरहेका छन्’, उनले भने, ‘सरकारको शैली हेर्दा कुनै पनि बेला स्वतन्त्रता र अधिकार खोसिने हो, थाहा छैन। तसर्थ मावनअधिकारकर्मी सदा सतर्क रहन जरुरी छ।’

आयोजक संस्थाका राष्ट्रिय उपमहासचिव घमान तामाङले सरकारकै गलत नीति र कार्यक्रमले संघीयताविरोधी तत्व मौलाएको धारणा व्यक्त गरे। उनले संघीयताविरोधी तत्वलाई कारबाही गर्ने नाममा निहत्था जनताले दुःख नपाउन भन्नेतर्फ सरकार सजग हुनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका केन्द्रीय पार्षद् राधाकृष्ण भण्डारी, ललितपुर जिल्लाका कोषाध्यष अणु जोशी, भक्तपुर जिल्ला सदस्य शिवहरि खनाल, जिल्ला अध्यक्ष राजेन्द्र कोजूलगायतले निर्वाचित सरकारलेसमेत जनताको मनोबल बढ्ने कार्यक्रम गर्न नसक्दा असन्तुष्टि बढिरहेको बताएका थिए।

प्रकाशित: ५ वैशाख २०७६ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App