१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

नेपालगन्ज – दिदीभाइ नङ्सलदेवी तामाङ र रत्नजित तामाङ महिला तथा पुरुष एकलतर्फ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

विभागीय टोली त्रिभुवन आर्मीकी नङ्सलले आर्मीकै गीता राईलाई २१–११, २१–११ को  सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेकी हुन्। उता आर्मीको प्रतिनिधित्व गरेका भाइ रत्नजितले पुलिसका पूर्णबहादुर थापालाई २१–११, २१–७ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरे।

मंगलबारै सम्पन्न महिला एकलतर्फ सेनाका रसिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोस्रो चरणमा स्थान बनाए। रसिलाले एपिएफकी अञ्जना राईलाई २१–१२, २१–७ ले पराजित गर्दा अनुले प्रदेश १ की अरुणा तामाङलाई २१–११, २१–५ ले, रञ्जनाले सुदूरपश्चिमकी नीलिमा महरालाई २१–६, २१–८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१–१४, २१–१० ले हराए। यसै गरी एपिएफका जेसिका गुरुङ, शोभा गौचन र सुनैना मुखियाले पनि दोस्रो चरणमा स्थान बनाए। जेसिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१–१०, २१–९ ले,  शोभाले सुदूरपश्चिमकी विष्णा विष्टलाई २१–१४, २१–१० ले तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१–१०, १९–२१, २१–१६ ले हराए। यस्तै सम्झना शर्मा, नीता लम्साल, सीता राई, सीमा राजवंशी, सफी खत्री, पुनम गुरुङ, अग्रिमा भण्डारी र प्रसूना खत्रीले पनि दोस्रो चरणमा स्थान बनाए।

पुरुष एकलतर्फ एपिएफका दिपेश धामी प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोस्रो चरण प्रवेश गर्दा एपिएफका गौतम कठायत, विजित थापामगरले दोस्रो चरणमा स्थान सुरक्षित गरे। गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१–१२, २१–१२ ले तथा विजितले एपिएफकै निरञ्जन देवकोटालाई १५–२१, २१–१३, २१–१२ ले स्तब्ध पारे। यस्तै सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–७ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गर्दा पुरुष एकलमा आर्मीका विशाल खड्का, प्रफुल महर्जन, नवीन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका विष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकास श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्मा पनि दोस्रो चरण प्रवेश गरे। 

आर्मी बास्केटबलको फाइनलमा
 दाङ - विभागीय टोली त्रिभुवन आर्मी र  प्रदेश नम्बर ३ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा जारी बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। महिलातर्फ पनि प्रदेश नम्बर तीनले अन्तिम दुईमा स्थान बनाउँदा प्रतिद्वन्द्वी विभागीय टोली नेपाल पुलिसलाई पाएको छ। 

पुरुषतर्फ मंगलबार भएको खेलमा आर्मीले पुलिसलाई ८५–७१ को स्कोरमा पराजित गरेको हो भने प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ९३–६३ को स्कोरमा हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो।  महिलातर्फ मंगलबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले सुदूर पश्चिमलाई ५५–४४ को स्कोरमा हराउँदै अन्तिम दुईको यात्रा तय गर्दा प्रदेश नम्बर ३ ले आर्मीलाई ३९–२३ ले स्तब्ध बनाउँदै पुलिससँगको भेट निधो गरेको हो। महिलातर्फ तेस्रो स्थानका लागि मंगलबारै सम्पन्न खेलमा आर्मीले सुदूर पश्चिमलाई ५१–३९ ले हराउँदै कांस्य पदकमा चित्त बुझायो। 

जुडो: मिक्स टिममा आर्मीलाई स्वर्ण
आठौंअन्तर्गत १६औं राष्ट्रिय जुडोको तेस्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ। प्रहरी दोस्रो तथा प्रदेश ५ तेस्रो भए। एक टिममा ६–६ खेलाडीले एकआपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो। स्कोरअन्तरका आधारमा आर्मीलाई सफलता मिलेको हो। समग्र जुडो स्पर्धामा पुलिस च्याम्पियन बन्यो। १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा पुलिसले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो। दोस्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत  ४ कांस्य हात पा¥यो। १ स्वर्ण, ३ रजत र ४ कांस्यका साथ प्रदेश ५ तेस्रो भयो भने १ स्वर्ण एपिएफको पोल्टामा प-यो। 

कबड्डी: आर्मी र प्रदेश ५ भिड्ने
आठौं खेलकुदअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन्। बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ ले तथा प्रदेश ५ ले एपिएफलाई ३५–२८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। 

महिलातर्फको खेलमा भने आर्मी र प्रहरीले उपाधिका लागि भिड्ने भएका छन्। आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए। 

बक्सिङ: सुष्मा र मिनुलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन्। मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन्। सोही तौल समूहमा नेपाल पुलिसकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे। 

यस्तै महिला ५४ के मिनुले पुलिसकी निशा तामाङलाई हराउंदै स्वर्ण जितिन्। सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते। यस्तै पुरुष ५६ केजीमा एपीएफका पूरन राई, ५२ केजीमा आर्मीका तेज बहादुर देउवाले स्वर्ण हात पारे। 

प्रकाशित: ४ वैशाख २०७६ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App