१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘रेशमीमार्ग युवा सपना’मा नेपाली युवाहरू उत्कृष्ट

बेइजिङ - बेइजिङमा आइतबार सम्पन्न ‘दोस्रो रेशमी मार्ग युवा सपना’ बहुराष्ट्रिय प्रतिस्पर्धामा नेपाली युवाहरू पुरस्कृत भएका छन्। शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म चलेको गायन र वक्तृत्वकला प्रतियोगितामा नेपाली युवाहरूले पुरस्कार जितेका हुन्।   

चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’मा सहभागी ७२ वटा मुलुकहरूबाट ५ सयभन्दा बढी व्यक्तिले यो प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा चीनमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरू धेरै संख्यामा सहभागी थिए। त्यसबाहेक विभिन्न देशबाट पनि सहभागी हुन चीन आएका थिए। प्रतियोगितामा फोटोग्राफी, एकल गायन, समूह (व्याण्ड) गायन, वकृत्वकला, स्याण्ड पेन्टिङ (बालुवा चित्रकला) लगायतका विधाहरू समावेश थिए।

बेइजिङ नर्मल विश्वविद्यालयको स्नातक तह दोस्रो वर्षमा चिनियाँ भाषा अध्ययन गरिरहेका सुजन श्रेष्ठले गितार चिनियाँ गीत गाएर दोस्रो स्थान प्राप्त गरेका छन्। एकल गायनमा थुप्रै चिनियाँ युवाहरूलाई पछि पार्दै श्रेष्ठले पुरस्कार जितेका हुन्। उनले ‘ता चुङ्को’ अर्थात् महान् चीन बोलको गीत गाएका थिए। उनले गाएको गीतले चीनको भूगोल, समाज, प्रकृति, संस्कृति सबै कुरालाई समेटेको छ। गीतमा ग्रेटवाल र त्यसमाथि उडिरहेको बादलको पनि मोहक ढंगले व्याख्या गरिएको छ। चीनमा अत्याधिक रुचाइएको गीतमा पर्ने ता चुङ्को गीतले ‘हामी सबैको एउटा घर छ। त्यसको नाम हो चीन। हाम्रो दाजुभाइ दिदीबहिनीहरू धेरै छन्। चीन तिमी सधैं बाँचिरहू। चीनको समृद्धिको कामना गर्दछु।’भन्ने अर्थ बोकेको छ।

सुजनले चिनियाँ गीतको अन्तमा ‘यस्तै गीत नेपालीमा पनि छ। त्यसको केही अंश सुनाउँछु ’ भन्दै ‘यो मन त मेरो नेपाली हो’ गीत गाएका थिए।

सुजनले चिनियाँ गीतको अन्तमा ‘यस्तै गीत नेपालीमा पनि छ। त्यसको केही अंश सुनाउँछु ’ भन्दै ‘यो मन त मेरो नेपाली हो’ गीत गाएका थिए। सुजनले गीत गाउँदा दर्शकदिर्घामा बसेकाहरूले अनवरत रूपमा ताली बजाई प्रोत्साहन दिएका थिए। सुजन यतिबेला ‘भ्वाइस अफ चाइना’ प्रतियोगितामा पनि सहभागी भएका छन्।

उनले दुई चरणको छनोट पार गरिसकेका छन् भने अझै दुई चरणबाट छनोट भएपछि उनी ब्लाइण्ड अडिसनमा जानेछन्। चीनका ठूला सहर र सबै प्रान्तबाट भाग लिने भ्वाइस अफ चाइनामा सुरुमा लाखौं प्रतियोगीहरू सहभागी हुने गर्दछन्। व्यक्तिको प्रतिभासँगसँगै भोटिङ पनि हुने भएकाले सुजनले नेपालीहरूबाट पनि भोटको अपेक्षा गरेका छन्।

व्याण्ड(समूह)अन्तर्गत प्रतियोगितमा नेपाली विद्यार्थीहरूको समूहले तृतीय स्थानमा चित्त बुझाएका छन्। व्याण्डमा अंकित लोहनीले ‘रेशम फिरिरी’ गीतसँगै ‘लेकाली हे हे चोयाको डोको’ गीत गाएका थिए। अंकितको गीतमा समीर शाक्यले ड्रम बजाएका थिए भने रोमान्स महर्जनले बेस गितार बजाएका थिए। त्यसैगरी पदम गुरुङले बाँसुरी बजाएका थिए भने अमर शाहले लिड गितार बजाएका थिए। अंकित लोहनी बेइजिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातक गर्दैछन् भने अमर शाह पेकिङ विश्वविद्यालयमा एमबीबीएसका विद्यार्थी हुन्। शाक्य, महर्जन र गुरुङ बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयमा चिनियाँ भाषामा स्नातक गरिरहेका विद्यार्थीहरू हुन्। नेपाली व्याण्डमा विशेषगरी बाँसुरीले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

गिटार अन्य गीतमा पनि प्रयोग भएको थियो तर बाँसुरी अन्य गीतमा प्रयोग नभएकाले पनि बाँसुरीको सुरिलो धुनले सबैलाई तानेको थियो।    प्रतियोगिताकै अर्को विधा वकृत्वकलामा पनि नेपाली विद्यार्थीको प्रस्तुति उत्कृष्ट रह्यो। ‘मेरो सपना’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा पेकिङ विश्वविद्यालयमा एमबीबीएस गरिरहेकी बिहानी पोखरेलले तेस्रो स्थान जितिन्। उनले ‘मेरो जीवन मेरो सपना’ आफूले छनोट गर्नुको कारण बताएकी थिइन्। नेपालको प्राकृतिक सौन्दर्य उल्लेख गर्दै सगरमाथा नाघेर चीनमा पुगेर अध्ययन गर्न थालेको कुरालाई सुन्दर ढंगले उनले प्रस्तुति गरेकी थिइन्। उनले आफ्नो वकृत्वकला सँगसँगै पावर पोइन्टबाट बुदाँहरू पनि देखाएकी थिइन्।

प्रकाशित: ३ वैशाख २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App