१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिया श्रमिकको ज्याला दिने प्रतिबद्धता

तस्बिरः भीम/नागरिक

इलाम - सूर्याेदय नगरपालिकाका चिया उद्योगले सरकारले तोकेको श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। आफूहरूले राखेका माग सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनीसहित तत्काललाई श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्न उद्योगी राजी भएका हुन्।

सरकारले तोकेको न्यूनतम् ज्याला कार्यान्वयन नभएको भन्दै चिया श्रमिक गत चैत १७ देखि आन्दोलनमा छन्। उनीहरूले चिया प्रतिष्ठान ठप्प पारेपछि उद्योगीले न्यूनतम् ज्याला दिने निर्णय गरेका हुन्। ५२ चिया बगान तथा उद्योग आबद्ध रहेको सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनले सोमबार पत्रकार सम्मेलन आयोजना गरी श्रमिकको ज्याला कार्यान्वयन गर्ने जनाएको हो।   एसोसिएसनको चैत ३० मा बसेको बैठकले श्रम ऐनसमेत कार्यान्वयन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। एसोसिएसन अध्यक्ष पुनम राईले श्रमिकले राखेका माग उद्योगीले पूरा गरेसँगै उद्योगीले राखेका मागसमेत सरकारले पूरा गर्नुपर्ने बताए। ‘हामीले सरकारसमक्ष २० बुँदे माग राखेका छौं, हाम्रा माग पूरा नभए आउँदो साउनदेखि उद्योगीले नै आन्दोलन सुरु गर्नेछौं,’ उनले भने, ‘उद्योगीका माग पूरा नभएसम्म श्रम ऐनका व्यवस्था र सरकारले तोकेको न्यूनतम् ज्याला कार्यान्वयन गर्न सकिँदैछ।’ उनले साना चिया उद्योगलाई श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्न बढी समस्या हुने बताए।

सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोके पनि उनीहरूले दुई सय ६५ देखि तीन सय आठ रुपैयाँसम्म मात्र पाउँदैथिए। उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ रुपैयाँ थपेर चार सय २७ रुपैयाँ ज्याला तोकिएको थियो। अब एसोसिएसनमा आबद्ध सबै उद्योगले श्रमिकलाई दैनिक चार सय २७ रुपैयाँ ज्याला दिने भएका हुन्। ‘साउनयता उद्योगमा निरन्तर काम गरेका श्रमिकले त्यतिबेलैदेखिको ज्याला पाउँछन्,’ एसोसिएसनका सचिव गोपाल कट्टेलले भने, ‘बगानका श्रमिकको ज्यालाको हकमा चाहिँ कुरा हुनै बाँकी छ।’

श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ। एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ। आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करारलगायतको व्यवस्था छ।

सूर्याेदय नगरपालिकाले श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन र उद्योगीले राखेका माग पूरा गराउन सरकारसमक्ष समन्वय गरेको थियो। नगरकै पहलमा दुई चरणसम्म श्रमिक र उद्यागीबीच वार्ता भएपनि निष्कर्ष आउन सकेको थिए। केही दिनअघि नगरले संघीय सरकारका श्रममन्त्रीसँग उद्योगीको भेटघाट गराइ उद्योगीले राखेका मागमा ध्यानाकर्षण गराएको थियो। सूर्याेदय नगरमा ६१ चिया उद्योग छन्।

तर, एसोसिएसनबाहेकका चिया बगान र उद्योगले चाहिँ श्रमिकको मागबारे बोलेका छैनन्। ठूलो क्षेत्रफल र धेरै श्रमिक आबद्ध रहेका इलाम र झापाका सात सरकारी चिया बगानको व्यवस्थापन पक्ष एसोसिएसनमा आबद्ध छैन। यी बगान र उद्योग श्रमिक आन्दोलनका कारण बन्द नै छन्। कन्याम, इलाम, सोक्तिम, चिलिमकोट, टोकला, बर्ने र बारादसी चिया बगान सरकारी स्वामित्वका हुन्। तर, सरकारले २०५७ मा त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा दिएर यी बगान ५० वर्षका लागि लिजमा दिएको छ। बगान लिजमा दिएपछि आफूहरूका सेवा–सुविधा कटौती भएको र सरकारले तोकेको ज्यालासमेत नपाएपछि श्रमिक लामो समयदेखि आन्दोलनमा छन्।

नेपालकै पुरानो इलाम चिया बगानमा आन्दोलनरत चिया श्रमिक इलाम चिया उद्योगअगाडि धर्ना दिँदै। सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनमा आबद्ध निजी उद्योगले श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने बताए पनि सरकारी बगानका श्रमिक आन्दोलनमै छन्।

प्रकाशित: ३ वैशाख २०७६ ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App