१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवक्ता भन्छन्– प्रधानमन्त्री आउँदा टिभी बन्द गर्नुपर्ने भयो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको गतिविधि निराशाजनक भएको आरोप लगाएको छ। वर्ष २०७५ मा सरकारले गरेको गतिविधिको समीक्षा गर्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो। 

सरकारका लागि वर्ष २०७५ संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण वर्ष हुनुपर्नेमा यसमा असफल भएको कांग्रेसको आरोप छ। 

‘सरकारले यो वर्ष प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने थियो। तर अहिलेसम्म प्रदेश र स्थानीय सरकार सञ्चलनको ऐन बन्न सकेको छैन। प्रदेशसँग प्रहरी छैनन्। निजामती कर्मचारी छैनन्’, उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक संस्थाहरूलाई केन्द्रीकरण गरेर क्षतविक्षत बनाउनुभयो। यो वर्ष सरकारको इन्डिकेट वर्ष थियो। तर सरकार संघीयताविरोधी, जनताविरोधी र  विदेश नीति पनि कमजोर देखियो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष अघिल्ला वर्षका सरकारजस्तो अस्थिरता भोग्नुपर्ने अवस्था नभए पनि काम गर्न नसकेको आरोप कांग्रेसको छ। ‘यो वर्ष सरकारको प्रगति शून्य भयो। संघीयता कार्यान्वयनमा पनि असफल भयो’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संघीयताको तीन चरण कांग्रेसले गरेको थियो। पहिलो चरण घोषणा गिरिजाबाबुले गर्नुभयो। संघीयतासहितको संविधानको नेतृत्व सुशील कोइरालाले र संघीयतासहितको निर्वाचन शेरबहादुर देउवाले गर्नुभयो।’

सरकार शान्ति सुरक्षाको क्षेत्रमा पनि असफल देखिएको प्रवक्ता शर्माले आरोप लगाए। ‘सरकार शान्ति सुरक्षाको क्षेत्रमा लाचार देखियो। २०७५ मा राजधानीमै धेरै हत्या हिंसाका घटना भए। तर सरकारले केही गर्न सकेन’, उनले भने, ‘निर्मला पन्तको हत्यारलाई सरकारले लुकाउन र निर्दोषलाई फसाउन खोज्यो।’

सरकारले भ्रष्टाचार अन्त्य गर्छु भने पनि जताततै भ्रष्टाचार देखिएको प्रवक्ता शर्माले बताए। ‘प्रधानमन्त्रीले भ्राष्टाचार गर्ने देख्न पनि सक्दिनँ भन्नुभएको थियो। त्यो स्वागतयोग्य थियो। प्रधानमन्त्रीले बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु भ्रष्टाचार हैन?’, उनले भने, ‘वाइडबडी प्रकरणलाई लुकाउन शाही आयोगको शैलीमा अर्को समिति बनाउनुकाे अर्थ के हो?’ 

कमिसनको खेलका कारण मेलम्ची आयोजना पूरा हुन नसकेको प्रवक्ता शर्माले बताए। ‘कमिसनको खेलका कारण ९० प्रतिशत काम पूरा भएको मेलम्चीकाे जिम्मा पाएको निर्माण कम्पनी भाग्यो’, उनले भने, ‘प्रधानमन्त्रीले मेलम्चीको पानी आएन भन्नेले दिनमा दुई पटक नुहाउनु भन्नुहुन्छ भन्ने सुन्नमा पाइन्छ भन्ने लागेको थियो त्यो पनि पूरा भएन।’

सरकारी जग्गा निजीकरण गर्न लागेका माफियामाथि छानबिन हुनुपर्ने कांग्रेसको माग छ। ‘बालुवाटरको जग्गा हिनामिनामा नेकपाकै उच्चपदाधिकारीको संलग्नता प्रधानमन्त्रीको जानकारीमा छ कि छैन? छ भने सदाचारको उच्च कोटीमा राख्नुहुन्छ कि भ्रष्टाचार सुन्न चाहन्न देख्न चाहने भन्नेले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने अवस्था आएको छ।’

प्रधानमन्त्री ओलीले आइतबार देशवासीको नाममा सम्बोधन गर्दै बालबालिकाई ढुंगामुढा गर्न सिकाएको कांग्रेसको आरोप छ। ‘प्रधानमन्त्रीले सरकारको विरोध गरेको सुन्दा बूढापाकाले लाठ्ठीले हान्लान्, बालबालिकाले ढुंगामुढा गर्लान् भन्नुभयो’, प्रवक्ता शर्माले भने, ‘तर प्रधानमन्त्रीलाई के थाहा बोल्नेको भन्दा पनि काम गर्नेको नाम इतिहासमा लेखिन्छ।’

प्रधानमन्त्रीले जेसुकै बोल्दा उनको कार्यक्रम आउँदा बालबालिकाले हेर्छन् भनेर टिभी नै बन्द गर्नुपर्ने अवस्था आएको बताए। ‘प्रधानमन्त्रीको कार्यक्रम टिभीमा आउन थालेदेखि बूढापाकाले मनोरञ्जन लिन थालेका छन्’, उनले भने, ‘तर प्रधानमन्त्रीले विचार नगरी बोल्दा केटाकेटीमा नकारात्मक असर पर्छ भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको छ।’

यस्तै, पार्टी उपसभापति निधिले सरकारले न्याय क्षेत्रलाई पनि छायामा पार्न खोजेको आरोप लगाए। उनले संवैधानिक परिषद्को बैठक प्रतिपक्षी दलबिनै गरेर सरकारले अलोकतान्त्रिक काम गरेको आरोप लगाए। उनले कांग्रेसले संवैधानिक परिषदमा कुनै भागबन्डा नखोजेको दाबी गरे। यसअघि प्रधानमन्त्री ओलीले कांग्रेसले भागबन्डा खोजेर बैठकमा सहभागी नभएको आरोप लगाएका थिए। तर उक्त आरोप निराधार भएको निधिले स्पष्ट पारे।

प्रकाशित: २ वैशाख २०७६ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App