१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रथम राष्ट्रिय परिचयपत्र वाहकको निधन

पाँचथर– नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ। दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए।

उनको शुक्रबार नै फिदिमस्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ। नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए। गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो। गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो। दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन्। पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ।

जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ। नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ। रासस

प्रकाशित: २ वैशाख २०७६ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App