१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सबैतिर आन्तरिक पाहुना

पोखरा लेकसाइडमा शनिबार राती आन्तरिक पाहुनको भीड। तस्बिरःउमेश पुन/नागरिक

पोखरा - पोखरामा अंग्रेजी नयाँ वर्ष निकै नै धुमधाम हुने गर्छ। क्रिसमस र अंग्रेजी नयाँ वर्ष एकै समयमा पर्दा त्यो बेला पोखरा स्वदेशी र विदेशी पर्यटकले भरिभराउ हुन्छ। तर, यो पटक नेपाली नयाँ वर्षले पनि पहिलेभन्दा केही रौनकता बढाएको छ। पोखरामा मात्र नभई आसपासका क्षेत्रमा पनि आन्तरिक पाहुनाको भीड बढ्दा रौनकता थपिएको व्यवसायीले बताए।

चैतेदसैं र नेपाली नयाँ वर्ष एकैपटक परेको र दुई दिन लगातार सार्वजनिक बिदा हुँदा पोखरा घुम्न आउने आन्तरिक पर्यटकको यो वर्ष पहिलेभन्दा बढेको व्यवसायीले बताए। व्यवसायीले पछिल्लो समय नेपाली नयाँ वर्षमा पनि रौनक बढ्न थालेको बताए। आन्तरिक पर्यटककै कारण होटलको अकुपेन्सीमा पनि केही राहत मिलेको उनीहरुको भनाइ छ। पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले आन्तरिक पर्यटकमा बिदाको सदुपयोग गर्दै घुम्नुपर्छ भन्ने मानसिकता बढेको बताए। उनका अनुसार ५०–६० प्रतिशत हाराहारीमा रहेको अकुपेन्सी नयाँ वर्षको रमझमका कारण एकाएक ९० प्रतिशतमा उक्लेका थियो। ‘दुई दिनको अन्तरमा पोखराका होटलको अकुपेन्सी झन्डै दोब्बरमा उक्लियो। पर्यटन व्यवसायीले दुई दिनका लागि भए पनि पर्याप्त पाहुना पाए,’ उनले भने, ‘एकाएक ९० प्रतिशत अकुपेन्सी पाउँदा व्यवसायीलाई राहत मिल्यो।’

नेपाली नयाँ वर्ष र त्यसका अवसरमा पोखरामा गरिने गतिविधि आन्तरिक पर्यटक भित्र्याउनका लागि फलदायी बनेको पराजुलीले बताए। उनका अनुसार आइतबारको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारीमा रहेको छ। ‘दुई दिन लगातार बिदा प-यो। त्यसले आन्तरिक पर्यटक एकाएक बढायो,’ उनले भने, ‘पोखरामा आन्तरिक पर्यटकको चाँसो निकै नै छ भन्ने यसले पुष्टि गर्छ।’ उनका अनुसार मुख्य सिजन भए पनि योपटक विदेशी कम थिए। सिजन भए पनि भारतीय पर्यटक पनि यो पटक कम आएका छन्। भारतमा चुनाव भएकाले भारतीय पाहुना कम भएको उनले बताए।

‘विगत तीन–चार वर्षदेखि नेपाली नयाँ वर्षको रौनक बढ्दै गएको अनुभव गरिरहेका थियौं। यो पटक साच्चै सोचेजस्तै भयो,’ उनले भने, ‘आन्तरिक पर्यटकको घुमाइ बढ्न थालेको पुष्टि भएको छ।’ अंग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ वर्षको पनि रौनक बढ््न थालेको पुष्टि भएको छ। ‘अंग्रेजीजस्तै नेपाली नयाँ वर्ष पनि नेपालीले प्राथमिकतामा दिन थालेका छन्,’ उनले भने, ‘त्यसको पुष्टि गर्ने आधार यो पटकको नेपाली नयाँ वर्षमा पोखरा आएका आन्तरिक पाहुनाको भीडभाडले पुष्टि गरेको छ।’ पोखरामा पछिल्लो समय निकै नै धेरै होटल बनेको र ती सबै होटलले पाहुना पाएकामा व्यवसायी खुसी भएको पराजुलीले बताए।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पनि दुई दिन लगातार बिदा परेकाले पनि आन्तरिक पाहुना आगमन उल्लेख्य रुपमा बढेको बताए। पोखरामा मात्र सीमित नरहेर आसपासका क्षेत्रमा पनि घुम्न पुगेका आन्तरिक पाहुनाको भीड बढेको उनले बताए। ‘पछिल्लो दुई दिन त पोखराले आन्तरिक पाहुनाको उल्लेख्य उपस्थिति भेटायो,’ तुलाचनले भने, ‘नेपाली नयाँ वर्षमा पनि घुम्ने आन्तरिक पाहुनाको संख्या बढ्न थालेको छ। यसपटक आन्तरिक पाहुनाको आगमन उल्लेख्य रुपमा बढेको पाएका छौं।’ लगातार दुई दिन सार्वजनिक र यो बेला लामो समयकोस्कुल बिदा परेर पनि बालबच्चासहित घुम्न निस्कने आन्तरिक पाहुनाको भीड बढेको उनले बताए।

तुलाचनका अनुसार पोखरा मात्र घुम्ने नभई आन्तरिक पाहुना तनहुँको बन्दिपुर, लुम्बिनी र सौराहा घुम्न पनि पुगेका छन््। ‘यतिबेला पर्यटकीय सिजन चलिरहेको छ। यही बेला नेपाली नयाँ वर्ष पनि परेको छ। नेपाली नयाँ वर्ष र पर्यटकीय सिजनले पर्यटन क्षेत्रमा केही चमक ल्याएको छ,’ उनले भने, ‘त्यसको प्रभाव पोखरामा मात्र नभई अन्य गन्तव्यमा पनि परेको छ।’ चार–पाँच दिनको भ्रमण योजना बनाएर पर्यटक हिँडेको उनले बताए।

हिमाली जिल्ला मुस्ताङले पनि दुई दिनमा झन्डै चार हजार संख्यामा आन्तरिक पाहुना पाएको त्यहाँका व्यवसायीले बताएका छन््। आन्तरिक पाहुना बढेपछि त्यहाँ भीड बढेको छ। पोखरा मात्र नभई आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराबाट झन्डै १५ किलोमिटर दूरीमा रहेको पोखराकै अर्काे पर्यटकीय सहर लेखनाथले पनि यो पटक आन्तरिक पाहुनाको उल्लेख्य

उपस्थिति पाएको छ। बेगनासताल क्षेत्रमा आन्तरिक पाहुनाको उपस्थिति ह्वात्तै बढेको त्यहाँका व्यवसायीले बताए। ‘अरुबेला पोखरामा भीडभाड हुँदा पनि लेखनाथ क्षेत्रमा सुनसान हुन्थ्यो, तर यो पटक लेखनाथले पनि आन्तरिक पाहुनाको राम्रो उपस्थिति पायो,’ स्थानीय व्यवसायी दुर्गाप्रसाद अधिकारीले भने, ‘बेगनासमा सायद पहिलोपटक होला यतिधेरै पर्यटकको भीड लागेको।’ पोहोर नयाँ वर्ष पारेर फिस फेस्टिबल आयोजना गर्दा पनि यो स्तरमा आन्तरिक पाहुनाको उपस्थिति अहिलेजस्तो नरहेको उनले बताए।

अरुबेला सामान्य भीडभाड हुने बेगनास क्षेत्रमा पर्यटकको भीड ह्वात्तै बढेपछि स्थानीय व्यवसायी खुसी भएका छन््। नयाँ वर्षको दिन बेगनासताल चोकदेखि बेगनासतालको बाँधसम्मै पर्यटकको भीड थियो। ‘यत्तिको भीड त मैले कहिले देखेको थिएन,’ होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने। होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले पनि योपटकको भीड देखेर व्यवसायी दंग परेको बताए। बेगनास क्षेत्र ओझेलमा परेको भनेर गुनासो गरिरहँदा वर्षको पहिलो दिन भएको भीडले उत्साह थपेको उनले बताए। ‘वर्षको पहिलो दिन हामीले आशा गरेभन्दा बढी पर्यटक आए,’ उनले भने, ‘आइतबार त बेगनास क्षेत्रमा खुट्टा राख्ने ठाउँसमेत थिएन।’

पर्यटक आगमनसँगै स्थानीय होटल तथा रेस्टुरेन्ट पनि भरिभराउ भएको व्यवसायीको भनाइ छ। पर्यटक आगमनले आइतबार बिहानदेखि बेलुकासम्मै रेस्टुरेन्ट भरिभराउ भएको व्यवसायीले बताए। शनिबार शतप्रतिशत अकुपेन्सी रहेका बेगनासका होटल आइतबार केही घटे पनि कमजोर नभएको उनले बताए। यसअघि सामान्य समयमा बेगनासमा औसत ५० प्रतिशतमात्रै अकुपेन्सी रहने गरेको व्यवसायीले बताए।
‘गन्तव्य बेगनास’ अभियान सञ्चालनपछि बेगनास क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय पर्यटन व्यवसायीको ठम्याइ छ। गत चैत १७ देखि २१ गतेसम्म पूर्वाञ्चल क्षेत्रमा लेखनाथले प्रवद्र्धनात्मक भ्रमण गराएको थियो। सो भ्रमणमा पोखरा भ्रमण गर्दा लेखनाथलाई नबिर्सन गरेको आग्रह र त्यसपछि प्रचारप्रसारले बेगनासलाई ह्वात्तै माथि उठाएको थापाले बताए। त्यस्तै आन्तरिक पाहुनामा खर्च गर्ने क्षमता बढेपछि घुम्ने प्रचलन बढेको पनि उनले बताए।

नयाँ वर्षमा पर्यटकको चहलपहल बढे पनि उनीहरुको बसाइ लम्ब्याउन भने अझै नयाँ कार्यक्रम गर्नुपर्ने स्थानीय पर्यटन व्यवसायीको भनाइ छ। ‘पाहुना त आएका छन्। तर, उनीहरुको बसाइ अवधि कम छ,’ थापाले भने, ‘अब हामीले आएका पाहुनाको बसाइ अवधि बढाउन पहल गर्नुपर्छ।’ बेगनास क्षेत्रमा दुई दर्जन जति पर्यटक स्तरीय होटल छन््। ती होटलमा एक सय ५० रुम रहेका छन््। बेगनास क्षेत्रका होटलमा पाँच सयदेखि तीन हजार पाँच सय रुपैयाँसम्म होटलका कोठा उपलब्ध हुन्छन््। बेगनासताल क्षेत्रबाट गणेश हिमालदेखि अन्नपूर्ण हिमालको विभिन्न हिमशृंखला देखिन्छ।

प्रकाशित: २ वैशाख २०७६ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App