१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा पर्यटकीय स्थल भरिभराउ

रुपन्देही - कुनै बेला पर्यटक नभएर सुनसान हुने रुपन्देहीका पर्यटकीय क्षेत्रमा आजभोलि अप्रत्याशित रुपमा आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ। बुटवल र आपासका पार्क तथा पर्यटकीय क्षेत्रमा अप्रत्याशित रुपमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्।

अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र लुम्बिनीमा नयाँ वर्षको अवसरमा एक लाखभन्दा बढी आन्तरिक पर्यटकले अवलोकन गरेका छन्। अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले लुम्बिनी विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बन्ने गरेको छ। तर, नेपालका पर्व, उत्सव र समुदाय विशेषको पर्वमा भने आन्तरिक पर्यटकले लुम्बिनी भरिभराउ हुन थालेको छ। नयाँ वर्षका बेला अप्रत्याशित रुपमा आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

कोषका सूचना शाखाका राजन बस्नेतका अनुसार आइतबार एकै दिन एक लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका छन््। गत भदौदेखि लुम्बिनी जाने आन्तरिक पर्यटकलाई पनि टिकट शुल्क लिन थालिएको थियो। तर नयाँ वर्षमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। बुद्धजयन्ती, चैत पूर्णिमा र नयाँ वर्षका दिन शुल्क नलिने व्यवस्था गरिएको कोषले जनाएको छ। विदेशीसँगै नेपाली पर्यटकले आइतबार लुम्बिनी भरिभराउ बनेको थियो।

नयाँ वर्षकै कारण बुटवलस्थित मणिमुकुन्द सेन उदान (बुटवल फूलबारी)मा पर्यटक थामिनसक्नु थियो। नयाँ वर्ष भएकाले एकै दिन २० हजार दर्शकले फूलबारी भ्रमण गरेका छन्। पर्व, मेला तथा उत्सवका बेलामा पाँच वर्षअघिसम्म फाटफुट्ट मात्रै पर्यटक आउने फूलबारीमा नयाँ वर्षका बेलामा अवलोकनकर्ताको भीड थामिनसक्नु हुन थालेको हो।

गत वर्ष १५ हजार आन्तरिक पर्यटक आएकामा यो वर्ष बढेर २० हजार पुगेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ। नयाँ वर्षका बेलामा तुलात्मक रुपमा अरु बेलाभन्दा १०औं गुणा बढी अवलोकनकर्ता यहाँ आउने गर्छन्। वृद्धदेखि बालबच्चासम्म फूलबारी भ्रमण गर्न जान्छन्। बुटवल सहरबाट नजिकै पहाडी क्षेत्र फूलबारी पारिवारिक भ्रमणका लागि पनि रमणीय थलो बनेको छ। नयाँ वर्षका बेला परिवारसहित भ्रमण गर्ने यो वर्ष अधिक देखिए। बुटवल बेल्बासकी ७० वर्षीय शोभी नेपाली नातीनातिनासँग फूलबारी घुम्न पाएकामा दंग थिइन।

‘पहिला पहिला घरबाट निस्कन हुँदैन भन्ने चलन थियो, तर घुम्दा धेरै कुरा सिकिन्छ,’ उनले भनिन्। उनमा जस्तै भ्रमण गर्नुपर्छ भन्ने भावनाको विकास नेपालीमा हुन थालेपछि स्थानीय पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सहभागिता उल्लेख हुन थालेको हो। समितिका अध्यक्ष खेम लुइँटेलका अनुसार बुटवल फूलबारी ऐतिहासिक, प्राकृतिक र सामरिक महत्वको क्षेत्र भएकाले पर्यटक आवगमन बढ्दै गएको छ। कुनै बेला दैनिक सात सयको हाराहारीमा पर्यटक आउने गरेकामा अहिले २५ सयदेखि तीन हजारसम्म आउँछन्।

तिनाउ नदीको छेउ, ऐतिहासिक जितगढी किल्लाको शिरानमा अवस्थित बुटवल आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ०५४ मा स्थापना भएको फूलबारी करिब ११  बिघा क्षेत्रफलमा फैलिएको छ। पानी र सेड व्यवस्थित भएकाले यहाँ पिकनिक टोलीलाई सहज छ। प्रतिव्यक्ति ५० रुपैयाँ र विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क लिइन्छ । फूलबारीमा रहेका अनेकथरी फुल, मनोरम बाल उद्यान, साना–ठूला पानीका फोहरा, बुद्धस्तुप, उमेर र भावना अनुसारका पार्क भएकाले नयाँ वर्षमा फूलबारी प्रमुख रोजाईमा परेको हो। 

वुटवल र भैरहवाको विच तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वनविहारमा पनि उस्तै भिड थियो । तिलोत्तमा नगर र छिमेकी जिल्लाबाट समेत नयाँ वर्षका दिन पर्यटकहरुको ओइरो लाग्यो।  यहाँ पनि नयाँ वर्षका दिनमा पर्यटकको ओइरो नै लाग्यो। एकै दिन यहाँ १५ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएको  शंकरनगर वनविहारका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। वनवाटिकामा नयाँ वर्षको अवसरमा

बिशेष साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो। यसैगरि बुटवलको पिसपार्कमा पनि पनि नयाँ वर्ष मनाउनेहरुको बाक्लो भिड थिउो। जंगलको विचमा शान्तभूमी भएकाले यहाँ पनि पर्व, उत्सवका बेलामा पर्यटकहरुको भिड लाग्ने गरेको हो।  यसैगरि बुटवल हिलपार्क, गजेडी ताल, रुपन्देही र पाल्पाको सिमाना पाल्पाको तिनाउ गाउँपालिका स्थित सिद्धवावा धाम र दोभान क्षेत्र पनि नयाँ वर्ष मनाउनेहरुको भिड लागेको थियो।

प्रकाशित: २ वैशाख २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App