१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री

काठमाडौं - बालगुरु आदित्यले तयार पारेको खाकाको आधारमा काठमाडौंस्थित गौरीघाटमा बनाइएको शिवमन्दिरको शनिबार प्राणप्रतिष्ठा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुस्पकमल दाहाल र शेरबहादुर देउवाको उपस्थितिमा सो मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालगुरु आदित्यको असाधारण क्षमताको प्रशंसासमेत गरेका छन्। बालज्ञानी आदित्यको सुस्वास्थ्यको कामना गर्दै उनले भने, ‘लेखेर मात्रै सन्देश दिने नभई वाचन गरेर सन्देश दिने क्षमताको पनि विकास होस् भन्ने कामना गर्दछु, उहाँका हातले सरर महŒवपूर्ण ग्रन्थहरू लेख्न सकून्।’

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, स्रोतविना ज्ञान प्राप्त हुँदैन तर आदित्यमा विनास्रोतको ज्ञान प्राप्त छ। विनास्रोत ज्ञान प्राप्त गर्ने मानवजातिमा आदित्य मात्र भएको पनि प्रधानमन्त्री ओलीले बताए। उनले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको पनि दाबी गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीद्वारा बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गरिएको थियो। कार्यक्रममा उनले विश्वका वैज्ञानिकलाई आदित्यको स्रोतबिनाको ज्ञानबारे अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन्।

कार्यक्रममा नेकपा अध्यक्ष पुस्पकमल दाहालले बालज्ञानी आदित्यमा अद्भूत क्षमता रहेको र त्यसको सबैले सम्मान गर्नुपर्ने बताए। दाहालले पूजनीय चिन्तकहरू नेपालमै जन्मनु गौरवको विषय भएको धारणा राखे। ‘हरेक व्यक्तिको विश्वास र आस्था फरकफरक भए पनि सबैको धरोहर नेपाली नै हुनु गौरवको कुरा हो,’ उनले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको प्रतिभाशाली व्यक्तित्वलाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्ने बताए। नेपालमा जन्मनु सबै नेपालीको सौभाग्य भएको बताउँदै उनले बालज्ञानी आदित्यमा देखिएको दैविक शक्ति सबैले प्राप्त गर्न नसक्ने ठोकुवा गरे। उनले भने, ‘उहाँले प्राप्त गर्नुभएको ज्ञान जोकोही व्यक्तिले प्राप्त गर्न सक्दैन, त्यो ज्ञानको हामी सबैले संरक्षण गर्नुपर्छ।’

प्राणप्रतिष्ठा गरिएको शिव मन्दिर एउटा जनावरको आकृतिमा छ, जसको अगाडिको भाग गाई तथा बीच र पछाडिको भाग नन्दीको आकृतिमा बनाइएको छ। नन्दीको पेटमा चाँदीको ढोका बनाइएको छ भने भित्र पञ्चमुखी शिवलिंग राखिएको छ। नन्दीको पिठ्यूमाथि १८ फिट अग्लो ब्रह्मा, विष्णु र महेश्वरका तीन भागमा विभाजित त्रिगजुर रहेको छ भने पछाडि त्रिशूल र डमरु रहेको छ। मन्दिरको परिकल्पना नौ वर्षे विलक्षण क्षमताका बालक आदित्य दाहालले गरेका हुन्।

कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। मन्दिरको जगदेखि गर्भगृह हुँदै शिवलिंग, पर्खालको दायाँबायाँ भागमा क्यानभासमा बनाइएको शिवपार्वतीको विचित्र पेन्टिङ, सिलिङ, गजुर र ढोकाको खाका सबै आदित्यले नै दिएको बताइएको छ। करिब डेढ वर्षको अवधिमा मन्दिर तयार भएको हो। शनिबार नै आदित्यको व्रतबन्ध र भिक्षादानसमेत गरिएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App