१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बूढ्यौली बिसाउन ‘मिलन घर’

दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा वृद्धवृद्धाका लागि समय कटाउने निर्माण हुदै गरेको ‘मिलन घर’। तस्विरः रमेश खतिवडा/नागरिक

दोलखा–   बूढेसकाल लागेपछिको दैनिकी। छोरा, बुहारी काममा जान्छन्। नातीनातिना पढ्न। घरमा दिनभर जसो एक्लै बस्नुपर्छ। गफ गर्ने र समय कटाउने साहरा केही हुन्न।

बूढेसकालले छोपेपछिको गाउँघरमा वृद्धवृद्धालाई हुने यस्तै पट्यारलाग्दो दैनिकीलाई थोरै भएपनि राहत दिन दोलखाको तामाकोसी गाउँपालिकाले वृद्धवृद्धाका लागी मन बहलाउने केन्द्र अर्थात वृद्धवृद्धाका लागि ‘मिलन घर’ निर्माण शुरु गरेको छ।

जिल्लाको दक्षिणी भेगमा रहेको यो गाउँपालिकाले यस्तो मिलन घर शुरुमा पालिकाको वडा नम्बर ४ मालुमा निर्माण थालेको छ। मालुको डाँडागाउँमा बनिरहेको मिलनघरको निर्माण अन्तिमचरणमा पुगेको गाउँपालिकाले जनाएको छ। मालुपछि यस्ता मिलनघर पालिकाका ७ ओटा वडा र बाक्लो बस्ती भएका टोलहरुमा बनाउने नीति गाउँपालिकाको छ।

तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार मालुडाँडामा बनिरहेको घर तीन महिना भित्र पुरा हुनेछ। ‘गाउँघरमा दिनभरी घर बस्नुपर्दा वृद्धवृद्धालाई दिक्क लाग्न सक्ने र त्यस्तो जीवनयापन गुजार्नु पर्दा बुढेसकालमा डिप्रेसनमा जाने गरेका थुप्रै उदाहरण छन’ पोखरेलले भने– ‘वृद्धवृद्धालाई पनि बुढेसकालमा एक्लोपना महशुस हुन दिनुहुन्न भनेर गाउँपालिकाले आफ्ना सबै वडा र बाक्लो बस्तीहरु भएका ठाउँमा यस्था मिलन केन्द्र बनाउने नीति लिएको हो’।

पोखरेलका अनुसार हाल निर्माण भईरहेको ५ कोेठे घर भित्र सुविधा सम्पन्न कोठाहरु, भजनकीर्तन गर्ने हल, टेलिभिजन कोठा, चिया, नास्ता र तातोपानी पकाउने भान्सा कोठा, र स्वास्थ्यकर्मी सहित सहयोगी बस्ने कार्यालय कोठा रहनेछ। बाहिर विभिन्न रुखविरुवा सहित फराकिलो फुलबारी बनाइनेछ। मिलन घर भित्र बृद्धबृद्धाका लागी सजिलो खालका योगा र व्यायाम गर्ने व्यवस्था मिलाउने पोखरेलको सोच छ।

गाउँपालिकाका अनुसार घरमा खाना खाएर लौरो टेक्दै त्यस्ता बृद्धबृद्धा आफ्नो घर नजिकको मिलन केन्द्रमा पुग्ने र दिनभरी भजनकीर्तन गर्ने, टेलिभिजन हेर्ने, धार्मिक पुस्तकहरु पढ्ने, फुलबारी वा बाहिर चउरमा बसेर आपसमा गफिने साथै समय बिताउने  गर्नेछन्। दिनभरी मिलन घरमा बसेर बेलुका परिवार सँग बिताउन वृद्धवृद्धा पुनः आफ्नै घर फर्किनेछन्। ‘उहाँहरुको नियमित स्वास्थ्य जाँचका लागि  मिलन केन्द्र भित्रै एक जना स्वास्थ्यकर्मी र चिया नास्ता खुवाउनका निम्ति एक जना सहयोगी व्यवस्था गर्नेछौं’ पोखरेलले सुनाए।

मिलन केन्द्र निर्माण भएपछि वृद्धवृद्धालाई अल्मलिने र समय कटाउन थलो बन्ने साथै स्थानीय सरकारले समेत वृद्धवृद्धाको रेखदेख र स्वास्थ्यमा काम गर्न सजिलो हुने वडा नं ४ मालुका वडाध्यक्ष होमबहादुर श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०७५ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App