आलेख

लेखक, पुस्तक र पाठक

शनिबार, ३० चैत २०७५, ०८ : १९ नागरिक

– डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

लेखक, पुस्तक र पाठकलाई एउटा त्रिभुजमा राखेर विश्लेषण गर्न सकिन्छ। यी तीनै पक्षबीच त्रिकोणीय तादात्म्य सम्बन्ध रहेको हुन्छ। त्रिभुजको माथिल्लो चुच्चोमा लेखकलाई र तलका समानान्तर कोणहरूमा पुस्तक र पाठकलाई राखेर हेर्दा पुस्तक र पाठक एउटै सरल रेखामा भेटिन्छन् भने लेखक दुवैको माथि एक्लै देखिन्छ। यसले प्रकाशित भइसकेपछि पुस्तकको सम्बन्ध लेखकसँगभन्दा पनि  पाठकसँग ज्यादा घनिष्ठतम हुन्छ भन्ने कुरालाई इङ्गित गर्छ। यद्यपि पुस्तकको जन्मदाता लेखक नै हो, अर्थात् पुस्तक लेखकीय उत्पादन हो। तर, यसको उपभोक्ता भनेका पाठक हुन्, लेखक स्वयम् कदापि होइन। कुनै पनि उद्योगबाट उत्पादित वस्तु उपभोक्ताका लागि हुन्छ।

सहरिया उपभोक्ताहरूले उपभोग गर्ने हरेक खाद्यवस्तु कृषकका उत्पादन हुन्। कृषकहरूले प्रयोग गर्ने हलो, कुटो, कोदालो लगायतका उपकरणहरू कुनै उद्योगबाट उत्पादित वस्तु हुन्। बजारमा वा व्यवहारमा आइसकेको अवस्थामा उत्पादकको स्वामित्व उत्पादनमाथि समाप्त भएको जस्तै हो प्रकाशित भएको पुस्तकको अवस्था पनि। प्रकाशित कृतिमा के छ भनेर लेखक बोल्नुको औचित्य हुँदैन। कुनै लेखकले आफ्नो समग्र कृतिको वा त्यसका खास पक्षहरूको व्याख्या गर्छ भने यसलाई राम्रो लेखक मान्न सकिँदैन। त्यसको स्तरबारे बोल्ने र विषयको व्याख्या विवेचना गर्ने अधिकार पाठकले पाएको हुन्छ। संस्कृतमा एउटा भनाइ छ – कविः करोति काव्यानी रसम् जानान्ति पण्डिताः। यस भनाइको तात्पर्य के हो भने कविले कविता वा काव्य रचना मात्र गर्छ, त्यसको भाव बुझ्ने काम विद्वान् पाठकवर्गको हो। त्यसैले त रोलाँ बार्थले कृति प्रकाशित भइसकेपछि लेखकको मृत्यु हुन्छ भने। यसलाई बुझ्ने र व्याख्या गर्नेहरू पनि फरक–फरक छन्। कसैले पुस्तक प्रकाशनपश्चात् लेखकको अस्तित्व नै समाप्त हुन्छ भनेर समेत व्याख्या गरेका छन् भने कसैले पुस्तकमा लेखकीय अस्तित्व रहँदैन भन्ने बुझेका छन्।

वास्तवमा रोलाँ बार्थको भनाइको तात्पर्य पुस्तकभित्र लेखक नखोज्नु भन्ने हो। लेखकको परिचय खोजेर कृतिको अध्ययन गर्दा लेखकीय जीवनका विविध पक्ष र उसको चरित्रलाई महŒव दिइन्छ र किताबको विषयवस्तु तथा त्यसमा निहित गुणावगुणको आस्वादन उचित किसिमले हुन सक्दैन भनेर नै रोलाँ बार्थले लेखकको मृत्युको घोषणा गरेका हुन्। हामीले कुनै रचना महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो भनेर अध्ययन ग¥यौँ भने त्यहाँभित्रका कमजोरी केलाउन खोज्दैनौँ, किनभने देवकोटा विशिष्ट कवि हुन् भन्ने कुराले हामीलाई सुरुमा नै प्रभावित गरेको हुन्छ। कुनै नितान्त नवोदित प्रतिभाको परिचयसहित उसको रचना पढ्दा उसको रचनाको स्तरले भन्दा पनि उसको उमेर र लेखनमा उसले लगानी गरेको न्यून समयबाट हामी प्रभावित हुन्छौँ र उचित मूल्याङ्कन गर्न हिच्किचाउँछौँ।

यसर्थ पनि कृति पढ्दा लेखकलाई टाढा राख्नु आवश्यक हुन्छ। पाश्चात्य परम्परामा कृतिपरक अध्ययनको जग यसै क्रममा बसेको हो। कुनै पनि पुस्तकको अध्ययन गर्दा लेखकलाई पूर्णतः नत्यागेसम्म त्यसको विषयवस्तुगत, शिल्पशैलीगत र संरचनागत वैशिष्ट्यको यथोचित मूल्याङ्कन हुन सक्दैन भन्ने मान्यताबाट नै कृतिपरक अध्ययनको विकास भएको हो। टि. एस. एलियटको निर्वैयक्तिकताको सिद्धान्तले पनि कृतिमा लेखकीय स्वत्वलाई अस्वीकार गरेको छ। एलियटले वस्तुनिष्ठ सिर्जनालाई सर्वोपरि महŒव प्रदान गर्दै कलालाई निर्वैयक्तिक घोषणा गरेका छन्। यसै क्रममा उनले के भनेका छन् भने कविले कवितामा आफ्नो व्यक्तित्वको अभिव्यक्ति गर्नु हुँदैन, ऊ त केवल माध्यम हो। यसबाट के स्पष्ट हुन्छ भने रचनाका लागि लेखक अपरिहार्य हुन्छ, तर रचनाभित्र उसको उपस्थिति हुनु हुँदैन।

आई. ए. रिचार्ड्सको व्यावहारिक समालोचनामा पनि कृतिभित्र लेखक होइन, विषय वा अन्तर्वस्तु खोज्न आग्रह गरिएको छ।  यसको अर्थ लेखकलाई बेवास्ता वा अपमान गरिएको भने किमार्थ होइन। लेखकले एउटा मात्र होइन, अनेक पुस्तक लेख्न सक्छ। त्यसैले एउटा किताब प्रकाशित भएपछि ऊ मरिहाल्छ भन्न मिल्दैन। हरेक  किताबको प्रकाशनपछि ऊ मर्छ र अर्को किताब लेख्ने क्रममा पुनः जन्मिन्छ। यसरी लेख्ने ऊर्जा हुँदासम्म ऊ पटकपटक जन्मिन्छ र पटकपटक मर्छ। लेखकीय मृत्युको खास तात्पर्य के हो भने प्रकाशित भइसकेको पुस्तकसँग उसलाई जोड्नुको औचित्य हुँदैन। बुझ्नै पर्ने कुरा के हो भने लेखक पुस्तकभित्र होइन, पुस्तकसँग यसरी बाँचिरहेको हुन्छ, जसरी वाल्मीकि रामायणसँग, व्यास महाभारतसँग, होमर इलियट र ओडेसीसँग, कालिदास अभिज्ञानम् शाकुन्तलम्सँग, तुलसीदास रामचरित मानससँग, म्याक्सिम गोर्की आमासँग, लियो टाल्सटाय युद्ध र शान्तिसँग, रीन्द्रनाथ टैगोर गीताञ्जलिसँग, लक्ष्मीप्रसाद देवकोटा मुनामदन र शाकुन्तलसँग, पारिजात शिरीषको फूलसँग बाँचिरहेका छन्।

गेटे, भर्जिल, बर्नार्ड शा, लु सुन, भानुभक्त आचार्य, बालकृष्ण सम, लेखनाथ पौड्याल, गोपालप्रसाद रिमाल, भूपि शेरचनहरू यद्यपि हाम्रा सामु छैनन्, तर आ–आफ्ना किताबहरूसँग बाँचिरहेका छन्। यस अर्थमा लेखकको मृत्यु हुँदैन। भौतिक संसारबाट बिदा भइसके पनि किताबसँग ऊ बाँचिरहेको हुन्छ। पाठकले लेखकलाई परम्पराको शृङ्खलामा खोज्न र भेट्न सक्छ, तर पुस्तकभित्र खोज्नुको औचित्य हुँदैन भन्ने कुरा नै रोलाँ बार्थको मान्यताको चुरो हो।     
प्राणीहरूमा सर्वश्रेष्ठ मानिएको छ मानवजाति। उसका विविध गुणहरूमध्ये विवेक, वाक्शक्ति, ज्ञानको भोकजस्ता गुण निकै महŒवपूर्ण मानिन्छन्। मानवीय चेतनाको स्तरवृद्धिमा यी गुणहरूको अग्रणी भूमिका रहेको हुन्छ। पाठकवर्ग ज्ञानका भोका हुन्छन्। ज्ञान प्राप्तिका मूलतः दुई माध्यम छन्, ती हुन्– गुरुबाट ग्रहण गर्ने ज्ञान र पुस्तकबाट प्राप्त गर्ने ज्ञान। आजको युगमा ज्ञानको प्राप्तिका लागि गुरुको सङ्गतभन्दा बढी किताबको सङ्ग्रहण र अध्ययनले महŒव पाएको दृष्टिगत हुन्छ। यद्यपि गुरूप्रतिको आस्था, श्रद्धा र सम्मान आफ्नो ठाउँमा हुन्छ नै। गुरुको गरिमामा ह्रास आउन मिल्दैन। तर, आजको युगमा गुरुकुलीन संस्कार भने प्राचीन कालको जस्तो ढङ्गले जीवित छैन। साइबर संस्कृतिको विकाससँगै पुरातन कतिपय मान्यताका पर्खालहरू भत्किएका छन्।

यसकारण पनि विद्युतीय वा मुद्रित किताबले गुरुको भूमिका वहन गरेका हुन्छन्। पाठकहरूलाई विभिन्न तहमा वर्गीकरण गर्न सकिन्छ, जस्तै: असम्पृक्त, सामान्य, औपचारिक, स्रष्टा, द्रष्टा र विशिष्ट। यी सबै प्रकारका पाठकका लागि ज्ञानको खुराक किताबहरूमा हुन्छ। असम्पृक्त पाठकको पठन संस्कृतिप्रति खास लगाव हुँदैन। यद्यपि कतिपय उच्च शिक्षा आर्जन गरेका अर्थात् पढेलेखेका व्यक्ति पनि यसभित्र पर्छन्। यस्ता पाठकले चर्चामा आएका वा कसैको सुझाव वा प्रेरणाबाट यदाकदा कुनै कुनै किताब पढिटोपल्छन्। तर, रुचिपूर्वक पढेर केही सिक्ने वा बुझ्ने मनसाय यसकोटिका पाठकको हुँदैन। सामान्य पाठक यस्ता पाठकलाई भन्न सकिन्छ जसले कुनै न कुनै किताब पढेकै हुन्छन्। र, यसैबाट ज्ञान तथा आनन्द लिन्छन्। यस्ता पाठकको पठन मूलतः स्वान्तसुखाय वा आत्मप्रसन्नतार्थ हुन्छ। औपचारिक पाठकहरू खासखास किताब मात्र पढ्छन्। यस कोटिका पाठकको पठनको मूल उद्देश्य कुनै औपचारिक शिक्षाको तह पूरा गर्ने वा कुनै प्रतियोगितामा उत्तीर्ण हुने खालको हुन्छ, जस्तै: स्नातक, स्नातकोत्तर तह पूरा गर्न वा लोकसेवाका परीक्षा पास हुन पठ्नेहरू यसअन्तर्गत पर्छन्। त्यसैले यस प्रकारका पाठकहरू पाठ्यक्रमले तोकेका सीमित सन्दर्भका किताब र पाठ्यपुस्तकहरू मात्र पढ्छन्। स्रष्टा पाठक भनेका कवि तथा लेखक हुन्। यिनीमध्ये धेरैमा पढ्न संस्कृतिको प्रभाव हुन्छ। अर्काका पुस्तक वा लेखरचना पढेर तिनको लेखन शैली, विषयवस्तु आदिबाट प्रभाव ग्रहण गर्ने गर्छन् स्रष्टा पाठक। यस्ता कतिपय पाठकको लेखनमा विपठनको सिधा प्रभाव देखिन्छ भने कतिपय स्रष्टा पाठकले विपठनको प्रभावबाट आफ्नो लेखनमा नितान्त नयाँ विषय र शैलीको खोज र प्रयोग गरेका हुन्छन्। द्रष्टा पाठक बौद्धिक पाठकअन्तर्गत पर्छन्।

पुस्तकालय उपयोग गर्ने पाठकको सङ्ख्या अत्यन्त न्यून हुँदै गइरहेको देखिन्छ । यसले मुद्रित पुस्तकको पठनमा ह्रास आएको कुरा प्रमाणित हुन्छ। पठन संस्कृतिमा ह्रास आउनु अवश्य नै चिन्ताको विषय हो।

यस तहका पाठकहरूले कुनै पनि किताब गहिरिएर पढेका हुन्छन्। उनीहरूको उद्देश्य विशेषतः किताबको अध्ययन अनुशीलन गरिसकेपछि त्यसको विवेचन, विश्लेषण वा समालोचना गर्ने हुन्छ। त्यसैले यस्ता पाठकलाई भावक, समालोचक वा अन्वेषकको कोटिमा  राखिन्छ। विशिष्ट तहका पाठकमा ज्ञानको तीव्र भोक हुन्छ। यस्ता पाठकहरू तार्किक, तŒववेत्ता र विवेकी हुन्छन्। त्यसैले रुचिअनुसार विशेष खालका किताबहरू छनोट गरेर तिनको गम्भीरतापूर्वक अध्ययन गर्छन्। अध्ययन गरिएका किताबबाट सारवस्तु ग्रहण गर्ने क्षमता यस्ता पाठकमा हुन्छ। यसरी आफ्नो बौद्धिक विकास गर्ने अभिप्रायले यस्ता पाठकले  किताबको अध्ययन गरेका हुन्छन्। केही पाठक यस्ता हुन्छन्, जसलाई ‘किताबका किरा’ भन्न सकिन्छ। उनीहरू कुनै न कुनै किताब पढिरहेकै हुन्छन्। नपढीकन बस्नै सक्दैनन्, मानौँ उनीहरूलाई पढ्ने नशा लागेको हुन्छ। वस्तुतः प्रकाशित किताबका मुख्य उपभोक्ता पाठक नै हुने भएकाले पुस्तक र पाठकबिचको अन्तर्सम्बन्ध निकै गहिरो हुन्छ। त्यसैले आजका लेखकहरू मूलतः पाठकाभिमुख भएको देखिन्छ। फेरि सबै पाठकको रुचिक्षेत्र समान खालको पनि हुँदैन।

पाठकहरू आफ्ना रुचि अनुसारका किताब पढ्न बढी उत्सुक हुन्छन्। त्यतातिर पनि लेखकको दृष्टि पुग्नु उत्तिकै आवश्यक हुन्छ। हरेक लेखकको अभीष्ट आफ्नो पुस्तक धेरैभन्दा धेरै पाठकका हातमा पुगोस्, उनीहरूका दृष्टिमा परोस् र मनमस्तिष्कमा घुसोस् भन्ने हुन्छ। त्यसकारण पनि एउटा जिम्मेवार लेखकको लेखन पाठकाभिमुख हुने गर्छ। आधुनिक लेखकहरूमा यो सोच बढी प्रभावित भएको देखिन्छ पनि। कला, साहित्य, दर्शनआदिका विचारप्रधान, प्रणयप्रधान, प्रकृतिप्रधान, जाति, वर्ग र लिङ्गप्रधान, धर्म र संस्कृतिप्रधान, जीवनीमुलक, आत्मानुभवप्रधान यस्तैयस्तै अन्तर्वस्तुमा लेखिएका विभिन्न वाद, सिद्धान्त आदिमा आधारित किताबका फरक–फरक पाठक हुन्छन्। पाठकलाई प्रभावित गर्ने सन्दर्भमा किताबमा प्रयुक्त भाषाशैलीको पनि भूमिका रहन्छ। अबौद्धिक पाठक सरल भाषाशैलीमा लेखिएका पुस्तकमा रमाउँछन् भने बौद्धिक पाठकहरू स्तरीय र आलङ्कारिक अर्थात् विशिष्ट भाषाशैलीको प्रयोग भएका पुस्तक मन पराउँछन्।
ज्ञान र विज्ञानको व्यापक विस्फोटन भएको आजको युगमा मुद्रित पुस्तकहरूको प्रकाशनले पनि उत्तिकै तीव्र गति पाएको हामी देखिरहेका छौँ। प्रतिस्पर्धामा प्रकाशन संस्थाहरू खुलेका छन्। पाठकवर्गको रुचि क्षेत्रलाई हृदयङ्गम गरेर किताब प्रकाशन गर्नु यस्ता संस्थाको मूल उद्देश्य हुन्छ। यसर्थ कतिपय लेखकहरूले प्रकाशकको माग अनुरूपका पुस्तक लेख्नुपर्ने पनि हुन्छ। दुःखको कुरा के छ भने साइबर संस्कृति, विद्युतीय पुस्तक र पुस्तकालय तथा अधुनातन सामाजिक सञ्जालको विकाससँगै मुद्रित पुस्तकको पठन संस्कृति ह्रासोन्मुख हुँदै गएको देखिँदैछ। प्रकाशकले पाठकको अभाव भइरहेको अनुभूति व्यक्त गरेको सुनिन्छ। पाब्लो नेरुदाले कतै भनेका छन्, यस्तो अवस्था सिर्जना हुनेछ कि कविताका पाठक कवि मात्र हुनेछन्। यसर्थ, पाठक निर्माण गर्नु आवश्यक छ। वास्तवमा नेरुदाको भनाइ अहिलेको परिप्रेक्ष्यमा सार्थक भएको जस्तो लाग्दैछ। पुस्तकालय व्यापक रूपमा छन्, तिनमा पर्याप्त पुस्तकको सञ्चयन छ। तर, पुस्तकालय उपयोग गर्ने पाठकको सङ्ख्या अत्यन्त न्यून हुँदै गइरहेको देखिन्छ । यसले मुद्रित पुस्तकको पठनमा ह्रास आएको कुरा प्रमाणित हुन्छ। पठन संस्कृतिमा ह्रास आउनु अवश्य नै चिन्ताको विषय हो।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...