१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चार नेता चन्द्रागिरि रिसोर्टमा

काठमाडौं - प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलबीच पार्टी एकीकरण टुंग्याउने विषयमा छलफल भएको छ। उनीहरुबीच बिहीबार राति र शुक्रबार दिनभर चन्द्रागिरि रिसोर्टमा छलफल भएको हो।

छलफल टुंग्याएर शुक्रबार दिउँसो ४ बजे रिसोर्टबाट फर्केका नेताहरुले केके विषयमा छलफल भयो भन्ने गोप्य राखेका छन्। छलफल सकेर अध्यक्ष दाहाल मधेसी पत्रकार समाजको कार्यक्रममा सहभागी भए भने प्रधानमन्त्री ओली सीधै बालुवाटार गएका थिए। त्यस्तै गृहमन्त्री थापा र महासचिव पौडेल पनि आआफ्नो निवासतिर लागेका थिए।

नेपाल पक्षलाई खबरै गरिएन

पछिल्लो सचिवालय बैठकबाट दुई अध्यक्षले पार्टी एकीकरण प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएका भए पनि त्यसमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सहभागी गराउने सहमति भएको थियो। तर चन्द्रागिरि छलफलमा उनलाई सहभागी गराइएन। गृहमन्त्री थापा यसअघि एकीकरण टुंग्याउन गठित कार्यदलको संयोजक र महासचिव पौडेल सदस्य थिए। ‘दुई अध्यक्षबीच छलफल भएहोला तर यो विषयमा नेता नेपाललाई कुनै जानकारी छैन’, नेपालनिकट स्रोतले भन्यो।

स्रोतका अनुसार चार नेताले केन्द्रीय सदस्यको कार्यविभाजन र एकीकरणको बाँकी काम सक्नेलगायत विषयमा छलफल गरेका छन्। जिल्ला र भ्रातृ संगठनको नेतृत्व टुंग्याउने विषयमा छलफल भएको बालुवाटारनिकट स्रोतले जनाएको छ। छलफलपछि एकीकरण टुंगो लगाउन सचिवालयको बैठक बोलाउने तयारी छ। १२ महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम दुई साताभित्र टुंग्याउने गरी प्रक्रिया अघि बढाइएको छ।

स्रोतका अनुसार २२ अप्रिल अर्थात् वैशाख ९ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस भएकाले त्यही दिन सबै प्रक्रिया टुंग्याउने गरी छलफल अघि बढेको छ।

पार्टी अध्यक्ष ओली र दाहालले दुई साताभित्रै टुंग्याउने गरी छलफल गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार २२ अप्रिल अर्थात् वैशाख ९ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस भएकाले त्यही दिन सबै प्रक्रिया टुंग्याउने गरी छलफल अघि बढेको छ। ‘एकीकरण वैशाख ९ भित्र टुंग्याउने गरी छलफल भएको छ। अबको सचिवालय बैठकले त्यस विषयमा निर्णय गर्नेछ’, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निकट स्रोतले भन्यो। यसअघि पार्टी एकता टुंग्याउन अध्यक्ष द्वयले नेताहरु वामदेव गौतम र ईश्वर पोखरेलसँग छलफल गरेका थिए। नेता नेपाल बिरामी भएका कारण बाहिर निस्किएका छैनन्। उनीसँग छलफल हुन नसकेको स्रोतले जनाएको छ।

यसैबीच उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले पार्टी एकीकरण प्रक्रिया छिटै टुंगिने बताएका छन्। उनले नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग दुई अध्यक्ष र महासचिव तथा सचिवालय सदस्य बसेर पार्टी एकीकरणकै विषयमा छलफल भएको दाबी गरे। ‘एकीकरणको विषयमा दुई अध्यक्ष गम्भीर बन्नुभएको छ। जतिसक्दो छिटो यो प्रक्रिया टुंग्याउने तहमा हुनुहुन्छ। त्यही कारण बिहीबार साँझदेखि नै उहाँहरु छलफलमा हुनुहुन्छ’, उनले भने।

प्रकाशित: ३० चैत्र २०७५ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App