१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

नाकाको कोदारी खण्डमा सडकको काम हुँदै । तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक– उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि यो नामा झण्डै चार वर्षदेखि बन्द रहँदै आएको छ । 

नाका खुल्ने सन्देश दिँदै पछिल्लो समय भौतिक पूर्वाधार निर्माणमा भएको प्रगति अबलोकन गर्न केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा सरकारी प्रतिनिधि मण्डल तातोपानी पुगेको थियो। ‘आगामी मे ३१ (जेठ १७) बाट नाका सञ्चालनमा ल्याउने दुबै सरकारको तयारी छ’, प्रतिनिधि मण्डलका सदस्य पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले नागरिकसँग भने। 

नाका खुल्नु अघि आवश्यक भौतिक पूर्वाधार विकासको जानकारी लिन सरकारी प्रतिनिधिमण्डल अन्तिम अवलोकन भ्रमणमा तातोपानी पुगेको समेत उनले बताए। ‘नाका खुल्नेमा अब सन्देश रहेन,’ दुबै सरकारको तयारीबारे जानकारी दिँदै उनले भने, ‘निर्धारित समयमै नाका खुल्छ।’ प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, यसै क्षेत्रबाट निर्वाचित सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, यातायात सचिव मधुसुदन अधिकारी र सडक विभागका महानिर्देशक राजेन्द्र शर्मा लगायत थिए। 

पछिल्लो ६ महिनामा भौतिकमन्त्री महासेठले योसमेत तीन पटक नाका भ्रमण हुन्। गत असोजको पहिलो भ्रमणमा उनैले नेपाल–चीन सरकारबीच जेठ १७ बाट नाका सञ्चालनमा ल्याउने तयारी भएको खुलासा गरेका थिए। प्रतिनिधिमण्डलले बाढी, पहिरो र भ्रकम्पले बढी क्षती पु-याएको अरनिको राजमार्गको जुरेदेखि लिपिङ बजारसम्म एक दर्जन ठाउँमा ओर्लेर स्थलगत अनुगमन गरेको थियो। राजमार्गको लिपिङदेखि बसेरीसम्म चीन र त्यहाँदेखि बाह्रविसेसम्म नेपाल सरकारले सडक, पुल, नदी कटान नियन्त्रण लगायत क्षेत्रमा काम गरिरहेका छन्। 

‘चीनले आफ्नो क्षेत्रमा तीन सिफ्टमा चौबीसै घण्टा काम गरिरहेको छ,’ अवलोकन भ्रमणपछि नेकपा नेतासमेत रहेका सापकोटाले भने, ‘यताबाट सडक डिभिजनले काम अघि बढाइरहेको छ।’ उनका अनुसार चीनले मितेरी पुल, लिपिङदेखि बसेरीसम्म सडक स्त्तरोन्नती र लार्चामा सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा पु-याएको छ। मन्त्री ज्ञवाली नेतृत्वको टोलीले सीमा सडक र बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनी सिआरसीका अधिकारीलाई भेटेका थिए। भेटका क्रममा उनीहरुले मे ३१ बाट नाका सञ्चालनमा ल्याउन मे १५ भित्र सडक र मे २० भित्र बन्दरगाह हस्तान्तरण गर्ने गरी काम सक्न आफूहरुलाई चीन सरकारबाट निर्देशन आएको बताएका थिए। 

नाकाको लार्चामा निर्माण अन्तिम चरणमा पुगेको अत्याधुनिक बन्दरगाह । 

‘चीनले निर्धारित समयभित्र काम नसके पनि जेठमा नाका सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको छ,’ सापकोटाले भने, ‘नाका सञ्चालनमा आउँछ बाँकी काम पनि हुँदै जान्छन्।’ भौतिकमन्त्री महासेठले आफ्नो तर्फबाट पनि निर्धारित समय अघि नै पूर्वाधार निर्माणको काम सक्ने प्रतिनिधिमण्डलका सदस्यलाई बताएका थिए। 

उनले सडक डिभिजनलाई बाह्रविसेको साधी खोलामा १५ दिनभित्र बेलिब्रिज राख्न निर्देशन दिएका थिए। गत बर्खाको बाढीले त्यहाँको मोटरेबल पुल बगाएको थियो। त्यहाँ पक्की पुल पनि क्रमशः बन्दै जाने उनले अवगत गराएका थिए। चीनले एक महिनाभित्रै मितेरी पुल सक्ने गरी कामलाई तीव्रता दिएको छ। स्पान (फाउन्डेसन) उठिसकेको उक्त पुल ढलान हाल्ने अवस्थामा पुगेको छ। 

नाकाबाट ६ किमी तल लार्चामा निर्माणाधीन आधुनिक बन्दरगाहको भौतिक काम सकिएको जानकारी सरकारी टोलीलाई गराइएको थियो। बन्दरगाह पुग्न भोटेकोसी नदी माथि पुल हाल्ने कामसमेत सकिएको छ। बन्दरगाह संरचनामा पानी, बत्ती र रंगरोगनको अन्तिम काम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नाका सञ्चालनमा आउनुपूर्व त्यहाँको अवस्था बुझ्न अन्तिम पटक आफ्नो तर्फबाट प्रतिनिधिमण्डल पठाएको स्रोतले बतायो। चीनले आफ्नो तर्फको पुनर्निर्माण सम्पन्न गरिसकेको छ। 

प्रकाशित: २९ चैत्र २०७५ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App