१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ

सेनाले निर्माण गरेको टेन्टअगाडि सानो बच्चासहित रहेकी रोकसाना खातुन। तस्बिरः उपेन्द्र/नागरिक

बारा– हावाहुरीबाट घर भत्किएपछि घरविहीन भएकी पुरैनियाकी रोकसाना खातुनको दैनिकी झन् कष्टकर बन्दै गएको छ। यही चैत १७ गते आएको विनाशकारी हावाहुरीपछि पनि पटकपटक हावाहुरीसँगै भइरहेको वर्षाका कारण राहतमा पाएको खाद्यान्न तथा लत्ताकपडा बचाउन समस्या भएकाले उनको दैनिकी झन् कष्टकर बनेको हो।

हावाहुरीमा घरसँगै घरभित्रका सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा क्षति भएपछि सुरुमा दुई रात खुला आकाशमुनि बच्चासहित बिताएकी खातुन अहिले नेपाली सेनाले निर्माण गरेको टेन्टमा बसिरहेकी छिन्। तीन छोरी र दुई छोरासहित टेन्टमा बसिरहेकी उनले सरकारले वर्षाअघि घर निर्माण नगरे टेन्टको बसोबास धेरै कष्टकर हुने बताइन्। वर्षायाम सुरु भएपछि भारी वर्षा हुने र टेन्टमा बस्न नसकिने भएकाले वर्षाअघि नै घर निर्माणको कार्य पूरा गर्नुपर्ने माग खातुनको छ।
‘भारी वर्षा हुँदा टेन्ट राखिएको स्थान जलमग्न हुन्छ,’ खातुनले भनिन्, ‘जसले गर्दा टेन्टभित्र मालसामान राख्न र सुत्न सकिने अवस्था छैन।’ अहिले सुक्खायाममा समेत एक दिन मात्र वर्षा हुँदा पनि टेन्टमा खानबस्न समस्या भइरहेको उनले गुनासो गरिन्।

गत मंगलबार भएको वर्षाले टेन्टभित्र राखिएका राहत सामग्री बचाउन नसकिएको उनले सुनाइन्।

हुरीपीडितको नयाँ घर कहिले निर्माण हुने भन्ने सोचले नै मानसिक तनावसमेत बढेको उनले बताइन्। जेठदेखि असोज महिनासम्म चर्को घाम लाग्ने र भारी वर्षासमेत हुने गरेको छ। तराईमा चर्को घाम लाग्दा टेन्टभित्र बस्दा गर्मीले बिरामी पर्ने डरसमेत रहन्छ भने भारी वर्षाले धेरै क्षेत्रलाई डुबानमा पार्नुका साथै लामखुट्टे र सर्पबाट बच्न समस्या हुने गरेको छ। चर्को गर्मी र भारी वर्षामा टेन्टभित्र बस्न नसकिने भएकाले वर्षा अघि नै घर निर्माण गर्न पाए हावाहुरीपीडितलाई धेरै राहत हुने उनले बताइन्।

‘टेन्टमा त दुई/चार रात मात्र काट्न सकिन्छ,’ पुरैनियाकै साखिर मियाँले भने, ‘धेरै दिन बिताउन त घर नै चहिन्छ।’ सेनाले एउटा मात्र टेन्ट निर्माण गरेको छ र त्यसमा सबै परिवार बाध्यताले बस्नुपरेको अवस्था रहेको उनले बताए। हावाहुरीबाट भत्केको घर निर्माण गर्न र पीडितलाई क्षतिपूर्ति दिन प्रधानमन्त्री केपी ओली, उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहित एक दर्जनभन्दा बढी मन्त्रीहरू र प्रभावशाली नेताले एकपछि अर्को गर्दै प्रभावित क्षेत्रको अनुगमन गरे पनि भत्केका घरको निर्माण सुरु र राहतको पर्खाइमै हावाहुरीपीडित रहेको मियाँले बताए।

प्रदेश २ सरकारले प्रभावितलाई तीन/तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको तर्फबाट प्रभावितलाई पाँच/पाँच लाख दिनका लागि पहल गर्ने घोषणा गरे। उनीहरूले राहतको घोषणा र आश्वासन बाँडिरहँदा हुन्डरीमा परी ज्यान गुमाएका परिवार भने संघीय र प्रदेश सरकारबाट घोषणा गरिएको राहत र घर निर्माणको पर्खाइमा बसेका छन्।

हावाहुरीमा परी बाराका आठवटा स्थानीय तहमा २७ जनाको मृत्यु, चार सय २० जना घाइते भएका थिए भने २७ सयको घर क्षतिग्रस्त भएका भएका छन्।

प्रकाशित: २९ चैत्र २०७५ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App