१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘केन्द्रीय सरकारले झुर कर्मचारी पठायो’

रामेश्वर श्रेष्ठ, मेयर महालक्ष्मी नगरपालिका

जनप्रतिनिधिका रूपमा विकास निर्माणको मुख्य योजनाकार भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?
एकदमै नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। अर्को तरिकाले हेर्दा यसरी जनताको काम गर्ने अधिकार पाउनु, योजनाकार बन्नु अवसर पनि हो। त्यसकारण जनताको कामलाई अवसर मानेका छौं। सकेसम्म जनताको समस्यामै केन्द्रित रहेर नगरपालिकाले कार्य सम्पादन गरिरहेको छ। लामो समयदेखि समस्या भोग्दै आएका जनतालाई विकास निर्माण र उनीहरूका अन्य आवश्यकता परिपूर्ति गर्दै काम गरिरहेका छौं। जनताको समस्यालाई केन्द्रमा राखेका छौं। प्रशासनिक कार्यलाई व्यवस्थित र चुस्त पारेका छौं। सबैभन्दा पहिले कम्तीमा उहाँहरूमा आधारभूत आवश्यकता पूरा गरौं भन्ने मेरो सोच थियो। सोही अनुसार कामअघि बढाएका छौं।
निर्वाचित भएयता नगरपालिकाभित्र के–के काम गर्नुभयो ?
धेरै काम भएका छन्। खानेपानीको बन्दोवस्त मिलाउने, भूकम्पपीडितका समस्या हल गर्ने, शिक्षा, स्वास्थ्य, यातायात र सडकको क्षेत्रमा धेरै काम भएका छन्। यसका अनुभूति जनतालाई दिलाइसकेका छौं। त्यस्तै, वडा कार्यालयलाई व्यवस्थित पार्ने, ढल निकासका लागि विदेशी प्रोजेक्टसँग समन्वय गर्ने, नगरपालिकाभित्रको प्र्रशासनिक कामलाई थप व्यवस्थित पार्ने लगायत धेरै काम भइरहेका छन्। ठूला पाइलट प्रोजेक्टमाथि काम अघि बढेको छ।
नगरपालिकाले सरकारी शिक्षा क्षेत्र सुधार र व्यवस्थित गर्नका निम्ति कस्ता काम गर्दैछ ?
हामीले चुनावको बेलामा नै तीन प्राविधिक विद्यालय बनाउँछौं भनेका थियौं। त्यसैलाई ध्यान दिएर अहिले नगरपालिकाले शिक्षा क्षेत्र व्यवस्थित गर्दैछ। जसको लागि यो वर्ष नै दुई प्राविधिक विद्यालय सञ्चालनमा ल्याउँदै छ। निजीका विद्यार्थीलाई पनि सरकारीमा तान्ने कार्यक्रम बनाएका छौं। हरेक स्कुलका प्रधानाध्यापक बोलाएर छलफल चलाइरहेका छौं। हरेक स्कुलका गतिविधिको अध्ययन गरेका छौं। उहाँहरूको काम कारबाही कस्तो छ, त्यसमा नगरपालिकाले अनुगमन पनि गरेको छ। बेलाबेलामा अभिभावकसँग पनि बैठक बस्ने गरेका छौं। अर्को कुरा, गत वर्षदेखि नै शिक्षकको तलब हरेक महिना व्यक्तिगत खातामा पठाइदिएका छौं। त्यसपछि बोर्डिङ र सरकारी स्कुलका शिक्षकलाई डाकेर अनुभव आदानप्रदान गराएका छौं। सामाजिक उत्तरदायित्वअन्तर्गत बोर्डिङ स्कुलले सरकारी स्कुललाई सहयोग गर्नुपर्छ भनेर अनुरोध गरेका छौं। हरेक बोर्डिङ स्कुलको छात्रवृत्तिको व्यहोरा हामीले हाम्रो वेबसाइटमा अपडेट भएको छ। सरकारी स्कुललाई बोर्डिङसरह बनाउने सोच हाम्रो छ। त्यसको लागि गत वर्षदेखि कक्षा ८ को परीक्षालाई पनि हामीले गुणस्तरीय बनायौं। अबको लक्ष्य सरकारी र निजी स्कुलको गुणस्तरीयतालाई बरोबरी बनाएर अघि बढ्ने हो।

स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, कर्मचारी पठाएन।

कर्मचारी व्यवस्थापनको काम कसरी भइरहेको छ ?
अहिले नगरपालिकालाई सबैभन्दा गाह्रो काम भनेकै कर्मचारी कजाउन हो। सरकारका धेरैजसो कर्मचारी एकदमै कमजोर छन्। प्रविधिमा रमेर काम गर्न जान्दैनन्। केन्द्रीय सरकारले पठाएका कतिपय कर्मचारी बेकामे नै छन्। उनीहरूलाई कसरी काम लगाउने निकै समस्या भएको छ। ७० जना कर्मचारी हुनुपर्ने ठाउँमा केही सीमित कर्मचारीबाट मात्रै काम लिनुपर्ने बाध्यता छ। त्यसैले स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, मन्त्रालयले यसको सुनुवाई गरेको छैन। आवश्यक कर्मचारी पनि पठाएको छैन।
तपाईंको नगरपालिकाभित्र स्वास्थ्य पनि त्यति व्यवस्थित भएन, औषधि पनि पर्याप्त पाइँदैन भनेर गुनासो आइरहेको हुन्छ, यसतर्फ ध्यान किन दिनुभएन ?
महालक्ष्मी नगरपालिकाले नगरपालिकाको दाजोमा बेग्लै काम गरेको छ। हामीले शिक्षा, स्वास्थ्य, सडक, यातायात र ढल निकासलाई अहिले प्र्राथमिकतामा राखेर काम गरिरहेको छौं। यी क्षेत्रमा नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको छ र त्यसै अनुरुपका कार्यक्रम पनि गरिरहेका छौं। स्वास्थ्य क्षेत्रकै सुधारको लागि भनेर लुभु स्वास्थ्य चौंकीलाई सुधार गरेका छौं। अहिले दिनमा सय जना जति बिरामी ओपिडीमा जान्छन्। त्यहाँ २४ सै घण्टा बर्थिङ सेन्टर खोलिदिएका छौं। स्वास्थ्यकर्मी पनि त्यसै अनुरूपका राखेका छौं। ल्याब, इन्कुभेर, फार्मेसीलगायत सेवा पनि दिएका छौं। अहिलेसम्म औषधिको अभाव भयो भनेर गुनासो आएको छैन र त्यस्तो गुनासो आउन दिन्नौं।
महालक्ष्मी क्षेत्रको सडक र यातायात निकै असहज छ, लामो समयदेखि यस क्षेत्रका मुख्य सडक निर्माणाधीन अवस्थामा छन्, सर्वसाधारणले आवतजावत गर्दा दैनिक रूपमा भोगेको सडक र यातायातको समस्या कहिले हल हुन्छ ?
यातायात र सडकको क्षेत्रमा पनि हामीले व्यापक सुधार ल्याएका छौं। साझा यातायातसँग सम्झौता गरेर बस सञ्चालन पनि गरिसकेका छौं। अहिले महालक्ष्मी क्षेत्रको मुख्य सडक पनि फराकिलो बन्दै छ। सडकको काममा बढी प्रगति भएको छ। चौडा पार्ने काम सकिएर अब कालोपत्र गर्ने क्रममा छौं। सानागाउँ, हरिसिद्धीबाट पनि यातायात सञ्चालन गरेका छौं। खानेपानीको क्षेत्रमा पनि धेरै काम भएको छ। सबैभन्दा बढी खानेपानीको समस्या १, २, ३ र ४ मा थियो। त्यस क्षेत्रमा पनि हामीले खानेपानीको प्रबन्ध सहजै मिलाएका छौं। केही खानेपानी योजनाको कामका लागि डिपिआरको काम पनि भइसकेको छ।
नगरपालिकाले वडालाई समान किसिमले बजेटको दिएन, वडाका पर्यटकीय क्षेत्रको विकासको लागि ठूला योजना बनाइएन भन्ने गुनासो वडाध्यक्षबाट आउने गरेको छ, यसबारे के भन्नुहुन्छ ?
हरेक वडालाई व्यवस्थित पार्ने योजना नगरपालिकाको हो। सुरुदेखि नै वडा वडाबाट विकास खोजेर अघि बढिरहेका छौं हामी। त्यसको लागि हामीले एक एक करोडको बजेट पनि वडालाई दिएका छौं। अन्य समस्यालाई हल गर्ने सन्दर्भमा पनि नगरपालिकाले बढी चासो दिइरहेको छ। वडा अध्यक्षसँग सहकार्य पनि भइरहेको छ। यस क्षेत्रका केही वडामा प्रचुर पर्यटकीय सम्भावना लुकेकाले हामीले त्यस विषयमा पनि बढी भन्दा बढी चासो दिइरहेका छौं।
महालक्ष्मी क्षेत्रको अर्को समस्या ढल व्यवस्थापनको पनि हो, यसको व्यवस्थापनका लागि नगरपालिकाले कसरी काम गरिरहेको छ ?
वडा ५ देखि ९ सम्मको ढल व्यवस्थापनका लागि तीन अर्बको सम्झौता भएको छ। हामीले विदेशी कम्पनीसँग समन्वय गरेरै भए पनि ढल निकास र सरसफाइको कामलाई बढी भन्दा बढी चासो दिइरहेका छौं। मैले विदेश भ्रमणको क्रममा पनि ढल निकास र सरसफाइको लागि केही कम्पनीसँग सम्झौता गरेर लगानी भित्र्याएको छु। अहिले ढल निकास र सरसफाइको क्षेत्रमा पनि धेरै काम भइरहेको छ।
आफ्नो कार्यकालभित्र नगरपालिकालाई कस्तो बनाउने सपना छ ?
सबैले भन्दा राम्रो र उत्कृष्ट बनाउँ भन्ने नै छ। तर, हामीले बनाउँछु भनेर मात्रै पनि भएन। धेरै काम त केन्द्रीय सरकारमै भर पर्छ स्थानीय तहलाई कस्तो बनाउने भनेर। केन्द्रीय सरकारले पुग्दो बजेट दिएको भए हामीले त्यसै अनुसारका विकास निर्माणका काम गर्ने थियौं। बजेट नभएर हामीले विदेशी प्रोजेक्ट भित्र्याएरै भए पनि विकास निर्माणका काम गर्नुपर्ने अवस्था छ। त्यसैले मेरो कार्यकालभित्र महालक्ष्मी नगरपालिकालाई व्यवस्थित, शिक्षित, सुन्दर नगरपालिका बनाउँछु। त्यसको लागि जनप्रतिनिधि भएदेखि नै कम्मर कसेर विकासका काममा लागिपरेको छु। परिकल्पना अनुसार नै काम गरिरहेको छु।
तपाईंको नगरपालिकाभित्र केही विकट वडा पनि छन्, ती वडा जति विकट छन् त्यति सम्भावना र प्रचुरता पनि छ, वडाभित्र लुकेका सम्भावना कसरी खोज्दै हुनुहुन्छ ?
महालक्ष्मी नपाको १० वडा जंगल नै जंगलले घेरिएको वडा हो। पर्यटनको हिसाबले पनि यो क्षेत्र ज्यादै सम्भावना बोकेको मानिन्छ। लाकुरीभञ्ज्याङ सबैभन्दा प्रचुर सम्भावना बोकेको क्षेत्र हो। यहाँबाट उपत्यकाको सबै दृश्य नियाल्न पाइन्छ। गर्मी नहुने र ठिकक्को ठाउँ हो। त्यहाँ पर्यटक तान्नका लागि केही काम भएका पनि छन्। यस वडाको ६० प्रतिशत भिरालो जमिन छ।  यस्तो क्षेत्रमा होमस्टे पनि सञ्चालन गर्न सकिन्छ भन्ने हेत्तुले काम अघि बढेको छ। त्यस्तै, अरु ५, ६, ७, ८, ९, १० सँगै अन्य वडामा पनि धेरै सम्भावना लुकेका छन्। यहाँका सम्भावना खोजी व्यवस्थित बनाउनेतर्फ हामीले चासो दिएका छौं। वडाको विकास निर्माणको लागि १÷१ करोड बजेट पनि दिएको छौं।
लामो समय तालिका बोकेर तपाईं मेयर भएयता तीनपटकसम्म विदेश भ्रमण जानुभयो, तपाईंको विदेश यात्राबाट नगरपालिकालाई के फाइदा पुग्यो ?
म यसै गएको होइन, तालिम र केही प्रोजेक्टका कामले गर्दा गएको हुँ। सबै कुरा भन्न मिल्दैन। यद्यपि मेरो विदेश यात्राबाट नगरपालिकालाई फाइदा पुगेको छ। मैले विदेश गएर सरसफाइ र ढल निकासको लागि केही कम्पनीसँग सम्झौता गरेको छु। ती प्रोजेक्टका काम अहिले अघि बढ्ने क्रममा छन्। अर्को कुरा, हामीलाई केन्द्रीय सरकारले दिएको झिनो बजेटबाट ठूला विकास निर्माणका काम गर्न पुग्दैन, त्यसकारण पनि विदेशी प्र्रोजेक्टसँग काम गर्नुपर्ने बाध्यता छ।
प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २९ चैत्र २०७५ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App