१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

ब्रुमर चल्यो, धुलो हटेन

चावहिल चोकमा फेन्सी पसल सञ्चालन गरिरहेका वेदप्रसाद गौतम काठमाडौं महानगरपालिकाले ब्रुमर ल्याएसँगै खुसीले गद्गद् थिए। बिहानदेखि बेलुकीसम्म धुलाम्मे सडकले हैरान भएका उनी ब्रुमर आएसँगै चावहिल चोकको धुलो अन्त्य हुने आशा गरेका थिए। तर, काठमाडौं महानगरपालिकाले चावहिल चोकमा ब्रुमर पनि लगायो। तर, चोकको सडकमा धुलो कमी भएको छैन। जसको कारणले चावहिल चोकमा बस्ने वेदप्रसाद जस्ता धेरैको समस्या अहिले पनि ज्यूँकात्यू नै छ।

वेदप्रसादका अनुसार अहिले चावहिल चोकमा ब्रुमर लगाउनु र नलगाउनुमा कुनै अर्थ छैन। किनकि चावहिल–साँखु सडक अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। अर्काेतर्फ चावहिल चोकमा ढल निर्माण भर्खरै भएकाले पनि हिलाम्मे र खाल्डाखुल्डी सडकले अत्यधिक मात्रामा धुलो निस्कदै आइरहेको छ। ‘ब्रुमर लगाएपछि सडक सफा होला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘तर, अझै सडक ज्यूँकात्यूँ छ।’ बु्रमर लगाउँदा पनि सडक सफा नभएपछि स्थानीय दिक्क भएका छन्। उनका अनुसार रातीको समयमा महानगरपालिकाले चावहिल चोकको रुटमा बु्रमरले सडक सफा गर्छ। तर, पानी चुहावट भएकाले हुने भएकाले सडक हिलाम्मे देखिन्छ।

पानी चुहावट नरोकिएसम्म र खाल्डाखुल्डी पीच नगरेसम्म ब्रुमर चलाउनुको उपलब्धि नभएको उनले बताए।   महानगरपालिकाले ब्रुमरको प्रयोग गरे पनि सोचे अनुसार चावहिलको सडक सफा नभएको चावहिलका अर्का स्थानीय अनिता तामाङ बताउँछिन्। ‘पुतलीसडक, बागबजारलगायत सडकमा ब्रुमरले धुलोमुक्त बनायो होला। यहाँको सडकमा पनि केही सफा हुन्छ भन्ने आस लिएको थिए। तर, यहाँ ब्रुमर चलाए पनि सडक धुलाम्मे नै छन्,’ धुलो देखाउँदै उनले भनिन, ‘राति ब्रुमर चलाए पनि बिहान उस्तै देखिन्छ। हाम्रो सोच अनुसार सडक सफा हुन सकेन।’   महानगरपालिकाले चौथौ रुटमा टेकु, पुरानो बानेश्वर, सिनामंगल, एअरपोर्ट, गौशाला चावहिल, चुच्चेपाटी लगायत तोकेको छ। यही रुट अनुसारमा ब्रुमर चलाइसकेको छ। कमलपोखरी, थापाथली, कलंकी, पुतलीसडक, बागबजार, बबरमहल, माइतीघर लगायत रुटमा महानगरले ब्रुमर चलाउँदै आएको छ।

सहरलाई स्वच्छ र सफा बनाउन सडक खाल्डाखुल्डी मर्मत गर्नुपर्ने विज्ञ बताउँछन्। ट्राफिक इन्जिनियर आशिष गजुरेलले सडकमा खाल्डाखुल्डी नभए मात्रै धुलो सफा गर्न सकिने बताउँछन्। ‘सडक खाल्डाखुल्डी नभए ब्रुमरले राम्रोसँग काम गर्छ। सडक सफा पनि हुन्छ,’ उनले भने, ‘तर, यहाँका सडकमा खाल्डाखुल्डी छन्।’ महानगरपालिकाले गत चैत १२ गतेबाट ब्रुमर सञ्चालनमा ल्याएको थियो। इटालीबाट आयात गरिएको पाँच आधुनिक ब्रुमरको इन्जिन क्षमता एक सय सात किलोवाट रहेको छ। डिजेलबाट सञ्चालित हुने उक्त बु्रमरमा एक अगाडि, दुई छेउमा र एक भागमा रहनेगरी चारवटा ब्रस रहेको बु्रमरमा पाँच सय लिटर पानी र करिब पाँच घनमिटर धुलो भण्डारण क्षमता छ।पानी परेकोले सर्वसाधारणको अपेक्षा अनुसार उपत्यकाको सडक धुलोमुक्त बनाउन नसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन। ‘हामीले राती ब्रुमरले सडक सफा गरिरहेका छौं,’ उनले भने, ‘पानी परेकाले जति सडक सफा गरे पनि सर्वसाधरणको चित्तबुझ्दो अनुसार काम हुन सकेको छैन। यद्यपि, पहिलेभन्दा केही सुधार भएको छ।’
सडक खाल्डाखुल्डी र जथाभावी घरनिर्माणको सामग्री सडकमा थुपारिँदा ब्रुमर चलाउन असहज भएको उनको भनाइ छ। जथाभावी राखिएका निर्माण सामग्री हटाउन र सडक पिच गर्न महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
१ सय ३० टन धुलो उठाइयो
ब्रुमरले उपत्यकाको पुतलीसडक, बागबजार, माइतीघर लगायत सडकबाट सफाइ थालेको १२ दिनभित्रमा एक सय ३० टन धुलो उठाएको प्रवक्ता डंगोलले जानकारी दिए। उनका अनुसार उक्त सडकका बु्रमरमार्फत् उठाएका धुलो टेकुको ट्रान्सपोटेसनमा राखिएको छ। ब्रुमर सफाइको उपलब्धी पाउनको लागि एक महिना कुर्नु पर्ने उनले बताए।
महानगरपालिकाले ल्याएका पाँच ब्रुमर।

प्रकाशित: २९ चैत्र २०७५ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App