१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महानगरमा गुड्लान् त रात्रिकालीन बस ?

विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन्। जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ। तर, नेपालको राजधानी सहर काठमाडौं भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ। नेपालको राजधानी सहर काठमाडौं बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ।

बेलुकाको साढे ७ नबज्दै उपत्यकामा सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यापारिक केन्द्र पनि ठप्प जस्तै हुन्छन्। ठमेल र दरबारमार्गलाई अपवाद छाडेर अन्य ठाउँ ठप्पजस्तै हुन्छ। जसले गर्दा काठमाडौं सहर रातमा सुनसानजस्तै देखिन्छ। काठमाडौं सहरलाई बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन्। जसको कारणले सर्वसाधारणले सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन्। काठमाडौं महानगरपालिकाको चौथौं नगर सभाको अधिवेशसनले काठमाडौ महानगरभित्र बिहान ५ बजेदेखि राती १० बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने नियम ल्याएको छ।
महानगरभित्रका रुटमा  सञ्चालन हुने सार्वजनिक सवारीसाधनले कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि  राती ९ बजेसम्म र अन्य महिनामा बिहान ५ बजेदेखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने नियम लयाएको हो। महानगरपालिकाले सवारी सञ्चालन गर्नुपर्ने नियम ल्याएर मात्रै हुँदैन। व्यापार तथा व्यावसायिक क्षेत्रलाई पनि रातको १० बजेसम्म खुल्ने वातावरण नबनाएसम्म रात्रिबस सञ्चालन गर्न सकिँदैन ।

यातायात व्यवस्था विभागले सर्वसाधारणले बेलुकीपख सार्वजनिक यातायात चढ्दा सास्ती भोगेको भन्दै गत भदौ १३ गतेदेखि सार्वजनिक सवारीसाधन राती १० बजेसम्म अनिवार्य सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो। तर, नियम ल्याउने कार्यान्वयन नगर्ने प्रवृत्तिकै कारणले कार्यान्वयन हुन नसकेको हो।  महानगरले ल्याएको नियम कडाइपूर्वक कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन्।

‘बेलुकीपख सार्वजनिक सवारीसाधन चढ्न सधैं हानाथाप गर्नुपर्छ,’ सुन्धारामा भेटिएका हिमेश शाक्यले भने, ‘बेलुका १० बजेसम्म सवारीसाधन गुडेमा यात्रुलाई धेरै हदसम्म सहज हुन्थ्यो। यसअघि पनि रातको समयमा सवारीसाधन चल्ने हल्ला गर्ने तर कार्यान्वयन नगर्ने समस्या देखिएको छ।’ उनका अनुसार उक्त नयाँ नियम कार्यान्वयन भए उपत्यकामा यात्रा गर्ने यात्रुलाई सहज हुने थियोे। ट्राफिक इन्जिनियर आशिष गजुरेलले काठमाडौं उपत्यकामा रातको समयमा यात्रु कम पाइने, सुरक्षा र सरकारी सहायताबिनै सञ्चालन भएकाले  रात्रि बस सेवा असफल भएको बताए। ‘रात्रिबस सेवा पूर्वतयारीबिनै हचुवाको भरमा सञ्चालन गरिन्छ। जसको कारणले दीर्घकालीन हुन नसकेको हो,’ उनले भने, ‘रात्रिबस सञ्चालनको लागि सरकारले शान्ति सुरक्षा र पर्याप्त यात्रु नभएकाले टिक्न नसकेको हो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी निकायले यातायात व्यावसायीसँग समन्वय नगरिकन रातको १० बजेसम्म सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको बताए।

‘सरकारी निकायले रातको १० बजेसम्म अनिवार्य सार्वजनिक सवारीसाधन गुडाउनुपर्ने निर्णय गरेको सुन्नमा आएको छ,’ उनले भने, ‘सरकारी निकायले पूर्वतयारीबिनै ल्याएको योजना कार्यान्वयन हुनेमा आशंका देखिन्छ।’ उनका अनुसार बेलुकाको १० बजेसम्म सार्वजनिक सवारीसाधन चल्नको लागि विभिन्न पसल तथा उद्योग कलकारखाना तथा होटलहरू सञ्चालन गर्नुपर्ने हुन्छ। ‘रातको समयमा सवारीको सुरक्षा र यात्रु पाउने सुनिश्चित भएको खण्डमा हामी २४ औं घण्टा पनि सवारीसाधन सञ्चालन गर्न तयार छौं,’ उनले भने, ‘सस्तो प्रचारबाजीको लागि निर्णय गर्ने र कार्यान्वयन गर्ने प्रवृत्तिको अन्त्य होस्।’ महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले वैशाखसम्म काठमाडौं महानगरपालिकामा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउने दाबी गरे। ‘अहिले यातायात व्यवसायीले आफ्नो अनुकूलमा मात्रै सार्वजनिक बस सञ्चालन गरिरहेका छन्। जुन बेलासम्म अत्यधिक म्यासेन्जर पाइन्छ, त्यो बेलासम्म मात्रै चलाउने गरेका छन्,’ उनले भने, ‘यातायात व्यवसायी नाफामुखी मात्रै हुन भएन। उनीहरू पनि सेवामुलक भावनाबाट अघि बढ्नुपर्ने देखिन्छ।’

प्रवक्ता डंगोलले यातायात व्यावसायी र प्रहरीसँग विभिन्न चरणमा छलफल गरेर नै ऐन ल्याएको दाबी गर्छन्। ‘सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको छ। त्यसैले पनि रात्रिकालिन बस सेवा सञ्चालन गरेर पर्यटन वषलाई सफल बनाउनुपर्ने जरुरत देखिन्छ,’ उनले भने, ‘शान्तिसुरक्षा र यात्रुको व्यवस्थापन गरेर कार्यान्वयन गरेर नै छाड्नेछौं।’ सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ मा सार्वजनिक सवारी यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई परिचय पत्रका आधारमा सहुलियत उपलब्ध गराउनुपर्ने लगायतका प्रावधान उल्लेख गरिएका छन्। सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने, चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।

महानगरसँग स्वीकृति नलिई कुनै पनि सवारीमा प्रचार सामग्री राख्नु नपाइने भएको छ। ऐनमा यात्रु, चालक र परिचालकका कर्तव्य उल्लेख गरिएका छन्। टिकट काटेर मात्र यात्रा गर्ने, यात्राका क्रममा उत्पादित फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, अरुलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नगर्ने, अश्लिल नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने आचरणलाई यात्रुको दायित्वमा राखिएका छन्।

पोशाक लगाएर मात्र सवारी चलाउने, जथाभावी यात्रु चढाउने र ओराल्ने वा जथाभावी पार्किङ नगर्ने, अश्लील नबोल्ने, अश्लील गीत नबजाउने, अश्लील फोटो नटाँस्ने, रुट स्वीकृत नपाएका सडकमा नजाने, मदिरा तथा सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने, यौनजन्य दुव्र्यवहार नगर्नेजस्ता दायित्व चालकको आचरणमा राखिएका छन्। यी आचारणको पालना नगर्ने यात्रु, चालक, परिचालक र कम्पनीलाई सजायसम्बन्धी व्यवस्था पनि ऐनले गरेको छ।

फेरि रात्रिबस सञ्चालन हुनेमा आशंका
दुई वर्षअघि साझा यातायातले रात्रिकालीन बस सेवा महानगरमा शुभारम्भ गरेको थियो। तर, केही समय बित्न नपाउँदै पर्याप्त यात्रु नभएको भन्दै साझा यातायातले रात्रिबस सेवा बन्द ग¥यो। गत भदौ १३ गते यातायात व्यवस्था विभागले नयाँ सवारी दर्ता तथा रुटपर्मिट नवीकरण गर्न आउने बस तथा मिनिबस कम्पनीका सञ्चालकसँग करारनामा सम्झौता गरेर बेलुका १० बजेसम्म सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेको थियो। तर, उक्त नियम हालसम्म कार्यान्वयनमा आएको छैन।
‘सार्वजनिक यातायात कम्पनीसँग सम्झौता गरेर रातको १० बजेसम्म सार्वजनिक सवारीसाधन गुडाउने सम्झौता गरेका छौं,’ यातायात व्यवस्था कार्यालय साना ठूला सवारी कार्यालयका प्रमुख वसन्तकुमार पन्थीले भने, ‘रुटपर्मिट र नयाँ सवारी दर्ता गर्न आउने सार्वजनिक सवारीसाधनसँग सम्झौता गरेका छौं।’ उनका अनुसार अहिलेसम्म नियममा व्यावहारिक रूपमा समस्या देखिएकाले कार्यान्वयन हुन नसकेको हो। ट्राफिक इन्जिनियर आशिष गजुरेल पूर्वतयारी र आर्थिक सहायताबिनै रात्रिबस सञ्चालन गर्न समस्या हुने बताउँछन्। ‘रात्रिकालिन बस सेवा सञ्चालनमा सुरुवाती चरणमा केही आर्थिक सहायता उपलब्ध गराउनुपर्ने देखिन्छ,’ उनले भने, ‘केही समय बानी बसाल्नको लागि पनि अनुदान रकम उपलब्ध गरेर सुरुवात गरेमा पछि आफैं दीर्घकालीन रूपमा चल्न सक्नेछ।’

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले वैशाख १५ गतेभित्र सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ स्थानीय राजपत्रमा प्रकाशित गरेर रात्रिकालीन सवारीसाधन सञ्चालनमा ल्याउने दाबी गरे। ‘पहिला स्थानीय तहले ऐन कानुन बनाउन पाउँदैनथे। त्यसैले कार्यान्वयनमा समस्या हुन्थ्र्याे,’ उनले भने, ‘अहिले स्थानीय सरकार आफैंले ऐन बनाएर कार्यान्वयन गर्न पाउँछ। त्यसैले यसपाली रात्रिकालिन बस सेवा सञ्चालन गरेर नै छाड्नेछौं।’

प्रकाशित: २९ चैत्र २०७५ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App