१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

अतिक्रमण र अनधिकृत किनबेचको चपेटामा परेको राम जानकी दुलहा भगवान् मन्दिर। तस्बिर : सुरेश/नागरिक

जनकपुर - जनकपुरधाम उपमहानगरपालिका–२३ बसपार्कस्थित नेपाल सरकारमातहत रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले अतिक्रमण गरी निजी संरचना निर्माण गरेका छन्।

स्थानीय चलनचल्तीको भाउ अनुसार कम्तीमा एक करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने १५ बिघा (तीन सय कठ्ठा) जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्। ‘राम–जानकी दुलहा भगवान् बेला निकास (मन्दिर)’ नामक कुटीको संरक्षणमा रहेको सो जग्गा मन्दिरका ‘स्वघोषित’ महन्तसँग मिलेर भूमाफियाहरूले खरिद–बिक्री गरिरहे पनि नियमनकारी निकाय मौन बसेको पाइएको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा गुठी संस्थानले अधिकारविपरीत परिचालन गर्दा माफियाको हातमा पुगेको स्थानीय लक्ष्मीकान्त झाले बताए। १८८९ सालमा तत्कालीन राजा राजेन्द्र शाहले मन्दिरमा नित्य पूजापाठ तथा भगवान्को मूर्तिलाई भोग लगाउन आवश्यक स्रोत व्यवस्थापनका लागि भन्दै १५ बिघा चार कट्ठा जग्गा बिर्ताबकस गरिदिएका थिए।
अवकाशप्राप्त भूमिसुधार अधिकृत लक्ष्मीकान्त झाका अनुसार तत्कालीन राजा राजेन्द्रले मन्दिरको नाउँमा बिर्ताबकस गरिदिएको जग्गाको प्रमाण अझै सुरक्षित छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार १९५२ सालमा जानकी मन्दिरको वर्तमान भौतिक संरचना निर्माण हुनुभन्दा ६० वर्षअघि राम–जानकी दुलहा मन्दिर जनकपुर क्षेत्रको प्रसिद्ध थियो।

तर ‘दुलहा भगवान् मन्दिर’को संरक्षण र उपभोगमा रहेको एउटा आठ बिघा चार कठ्ठा र अर्को सात बिघा गरी दुई कित्तामा रहेको १५ बिघा सात कठ्ठा जग्गामध्ये अधिकांश जग्गा अतिक्रमित भइसकेको स्थानीय सुरेन्द्र यादव बताउँछन्। मन्दिरको जग्गामध्ये मासिक प्रतिबिघा चार हजार रुपैयाँको दरले चार बिघा जग्गा बसपार्कले भाडामा लिएको छ। चार कठ्ठा जग्गा जनकपुर–जलेश्वर सडकमा परेको छ। त्यसबाहेक करिब ९० प्रतिशत जग्गा अतिक्रमणको चपेटामा परेको सोही मन्दिरका पुजारी वीरेन्द्र दास ‘वैष्णव’ले बताए।

‘मन्दिरका स्वघोषित महन्त विषखोपरा भनिने राम एकवाल दासले मन्दिरको जग्गा निजी सम्पत्तिसरह जथाभावी बिक्री–वितरण गर्दा पनि गुठी संस्थान, जिल्ला प्रशासन, प्रहरीलगायत नियमनकारी निकाय किन मौन बसेका होलान् ?’ पुजारी वीरेन्द्र दास’ले भने, ‘स्थानीयले अतिक्रमणको विरोध गर्दै लिखित उजुरी दिए पनि ती निकायले वास्ता नगर्नुले अतिक्रमणमा सबैको मिलेमतो रहेको गन्ध आइरहेको छ।’

दुई छोरा र पाँच छोरीका पिता राम एकवाल दास ‘दुलहा भगवान् मन्दिर’का आधिकारिक महन्त होइनन्। उनीउपर सो मन्दिरका महन्त धनेश्वर दासको हत्या अभियोग लागेको छ। महन्त दासको निधनपछि औपचारिक प्रक्रिया पूरा नगरी विषखोपराले आफू सो मन्दिरको महन्त भएको घोषणा गरेका थिए।

विषखोपराले मन्दिरको नेतृत्व हत्याएसँगै कुटीमातहतको जग्गा बिक्री–वितरण सुरु भएको स्थानीयको आरोप छ। विषखोपराका विरोधमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र उच्च (साविकको पुनरावेदन) अदालत जनकपुरमा हत्यालगायत अभियोगहरू विचाराधीन छन्। आफूलाई मन्दिरको महन्त घोषणा गरे पनि विषखोपराको दिनचर्या आफूविरुद्धका मुद्दा व्यवस्थापन गर्न प्रहरी–प्रशासन धाउँदै बितिरहेको हुन्छ।

अतिक्रमित जग्गामा पूर्वसांसद, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा उच्च तहका कर्मचारीहरू घर बनाएर बसेका छन्।

तत्कालीन विन्धी गाविसका अध्यक्ष तथा हाल जनकपुरधाम–७ का वडाध्यक्ष शत्रुधन पाण्डेका अनुसार विषखोपराले साविक महन्त धनेश्वर दासको नामबाट करिब सात बिघा जग्गा बिक्री गरेका छन्। ‘पाँच धुरदेखि दुई कठ्ठासम्मको टुक्रा बनाएर विषखोपराले दुई सय आठ जनाको नाउँमा जग्गा बिक्री गरिसकेका छन्,’ दुलहा भगवान् मन्दिरको जग्गामा निजी घर बनाएर बसिरहेकाहरूको फेहरिस्त देखाउँदै पाण्डेले भने, ‘धर्मको नाउँमा मठ–मन्दिरका महन्तहरूले भूमाफियालाई पालेर सामाजिक अपराध बढाइरहेका छन्।’

अर्बौं मूल्य पर्ने सरकारी जग्गा बिक्री तथा अतिक्रमण हुनुमा अप्रत्यक्ष रूपमा गुठी संस्थानका कर्मचारीको मिलेमतो रहेको पाण्डेको आरोप छ। नेपाल सरकार तथा प्रदेश सरकारको सहयोग प्राप्त भए अतिक्रमण जग्गा तत्काल खाली गराउन सकिने वडाध्यक्ष शत्रुधन पाण्डे बताउँछन्। राम–जानकी दुलहा भगवान् मन्दिरको अतिक्रमित जग्गामा पूर्वसांसद, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा उच्च तहका कर्मचारीहरू घर बनाएर बसेका छन्।

प्रकाशित: २९ चैत्र २०७५ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App