१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बढी यात्रु बोक्नेलाई प्रहरीबाटै उन्मुक्ति

काठमाडौं-बढ्दो सवारी दुर्घटना रोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साउन ३१ गते निर्णय गर्‍यो– सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज गर्ने।

तर, उक्त निर्णयविपरीत सवारीमा क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन गुडिरहेका छन् । मन्त्रालयको उक्त निर्णयविपरीत दसैंको समयमा लामो तथा मध्यम दुरीका सडकमा सिटभन्दा बढी यात्रु कोचेर सवारी साधन गुडिरहे ।

नियमविपरीत सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी तथा चालकलाई प्रहरी तथा ट्राफिक प्रहरीलेसमेत रुट पर्मिट र लाइसेन्स खारेज नगरी उन्मुक्ति दिइरहेका छन् । सवारी जाँच गर्न बसेका सुरक्षाकर्मीले त्यस्ता चालकलाई सामान्य ५ सय रुपैयाँ मात्र जरिवाना तिराएर कोचाकोच यात्रु बोक्न छुट दिइरहेका छन्।

सुरक्षा जाँचक्रममा भएको यही छुटको फाइदा उठाउँदै चालकले कारबाही नाममा काटिएको ५ सय रुपैयाँको चिट समग्र यात्राभर भेटिने जाँचक्रममा देखाउँछ र निर्वाध यात्रु कोचेर गाडी चलाउँछ ।

‘रुट पर्मिट नै खारेज गर्ने सजायमा आँखा चिम्लिँदा बस चालक तथा सहचालकको मनपरी बढेको छ,’ यातायात सिन्डिकेट र मनपरीविरुद्ध एक दशकदेखि संघर्षरत् राम थापाले भने, ‘उनीहरूको मनपरीमा ट्राफिक प्रहरीको पनि मिलेमतो छ । जरिवानाबापत् ५ सय रुपैयाँको चिट काटिदिन्छन् अनि धेरै यात्रु कोच्न छुट दिएर ज्यान जोखिममा पार्छन ।’ उनले एउटा ५ सयको जरिवाना चिट देखाएर चालकले नियमविपरीत यात्रु बोक्न छुट पाइरहेको बताए ।

सवारी तथा यातायात ऐन अनुसार पनि यात्रुबाहक बसले सिट क्षमताभन्दा बढी बोक्न पाइँदैन । ऐनको दफा १०२ मा यात्रुबाहक सार्वजनिक सवारीमा  सवारी दर्ताको प्रमाणपत्रमा लेखिएको सीट संख्याभन्दा बढी यात्रु राखेर चलाउन नुहने स्पष्ट लेखिएको छ ।

यस्तै ऐनको दफा १२३ मा  कुनै सवारीचालक वा सवारीधनी वा व्यवस्थापकले लामो, मध्यम दुरी र स्थानीय सडकमा चल्ने सवारीसाधनले सीटबाहेक  अन्य भागमा यात्रु राख्न नपाइने स्पष्ट उल्लेख छ ।

मन्त्रालयले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याउन  साउन ३१ गते यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासँग छलफल गरी बढी यात्रु बोक्ने सवारीसाधनको रुट पर्मिट र लाइसेन्स खारेज गर्ने निर्णय लिएको थियो । सुरक्षाकर्मीले नै आँखा चिम्लिँदा उक्त निर्णय कार्यान्वयनमा आउन नसकेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सिटभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गरिरहेको जानकारी दिए । उनले दसैंको समयमा छोटो दुरीका सडकमा यात्रुकै आग्रहमा केही स्थानमा सिट क्षमताभन्दा बढी यात्रु बोकेको हुनसक्ने बताए ।

प्रकाशित: ३ कार्तिक २०७३ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App