१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘हरेक कुरामा उपयुक्त समय आउनुपर्छ’

काठमाडौं – निर्माता सुनिलकुमार थापाले २०५९ सालमा फिल्म ‘ए मेरो हजुर’ निर्माण गर्दा सुनिलकी छोरी सुहाना सानै थिइन् । फिल्ममा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी थियो । कथा अनुसार झरनाको छोरीको चरित्रमा बाल कलाकार चाहिने भएपछि सुनिल र झरनाले सुहानालाई नै अभिनय गराए । शिव रेग्मीले निर्देशन गरेको यो फिल्म ‘हिट’ साबित भयो । उसबेला फिल्ममा आमा झरनाकी छोरीको भूमिकामा अभिनय गरेकी सुहाना अहिले उनै आमाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’बाट नायिकाका रूपमा ‘डेब्यू’ गर्दैछिन् । यो फिल्म आगामी शुक्रबार अर्थात् चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नायक अनमोल केसीसँग स्क्रिन शेयर गरेकी सुहाना फिल्ममा आउन केही ढिलाई भएको गुनासो गर्छिन् । ‘मेरो ममी १९ वर्षमा फिल्ममा आउनुभयो । तर म २१ वर्षमा आएँ । त्यो हिसाबले केही ढिला भयो कि भन्ने चाहिँ छ’, हालैको भेटमा सुहानाले भनिन्, ‘बुबाममी दुवैजना सानो उमेरमै फिल्ममा आउनुभएकोले मलाई त्यस्तो लागेको हो । तर हरेक कुरामा उपयुक्त समय आउनुपर्छ । यो मेरो उपयुक्त समय थियो ।’अभिनेत्री झरनाको यो दोस्रो फिल्म निर्देशन हो । यसअघि उनले ‘ए मेरो हजुर २’बाट निर्देशनमा ‘डेब्यू’ गरेकी थिइन् । ‘ए मेरो हजुर २ मा अभिनय गर्न मलाई रुची पनि थिएन । त्यसकारण म त्यो फिल्मबाट दर्शकमाझ आइनँ’, सुहाना खुलिन्, ‘ए मेरो हजुर ३ पनि मैले च्वाइस गरेको होइन् । बुबाममीले छोरीलाई पनि अवसर दिनुपर्छ भनेर अभिनयमा ल्याउनुभएको हो ।’

सुटिङमा हामी कलाकार र निर्देशकको भुमिकामा थियौं । त्यसकारण पनि आमा अथवा बुवा भन्ने कुरा आएन ।

सुहाना सानै उमेरदेखि नै होस्टलमा बसिन् । होस्टलमा बसे पनि घर आएको समयमा फिल्म हेर्थिन् । ‘होस्टलमा बसेकाले फिल्मकर्मीसँग खासै घुलमिल हुँदैन थियो । तर पनि समय मिलेको खण्डमा फिल्म चाहिँ हेर्थे’, अमेरिकामा स्नातक अध्ययन पुरा गरेकी सुहानाले भनिन्, ‘पहिला एउटा फिल्ममा बाल कलाकारको भुमिकामा अभिनय गरे पनि अहिले आएर नायिका बन्ने मौका जु¥यो ।’अभिनयको कुनै प्रशिक्षण नलिएकी सुहानाले फिल्मको वर्कसपमै अभिनयको ज्ञान लिएकी थिइन् । आमाले निर्देशन गरेको फिल्ममा अभिनय गरे पनि सुटिङस्थलमा आमा र छोरीको रूपमा उनीहरूले व्यवहार गरेनन् । ‘सुटिङमा हामी कलाकार र निर्देशकको भुमिकामा थियौं । त्यसकारण पनि आमा अथवा बुवा भन्ने कुरा आएन’, सुहानाले भनिन्, ‘मेरो ध्यान कसरी राम्रो आउटपुट दिने भन्नेमै थियो ।’

सुहानाले अनमोल अभिनित एकदुईवटा फिल्म मात्र हेरेकी छन् । उनलाई अनमोलको काम गर्ने शैली, इमान्दारपन मनपर्दोरहेछ । ‘फिल्ममा स्क्रिन शेयर गर्दा अनमोलमा घमण्डपन देखिनँ । काममा उनी सहयोगी भावनाका रहेछन्’, सुहानाले भनिन् ।फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, अर्पण थापालगायतको अभिनय छ । फिल्ममा अनमोल दोहोरो भुमिकामा छन् । 

प्रकाशित: २८ चैत्र २०७५ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App