१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले सगरमाथाको उचाइ मापन गर्ने

काठमाडौं - नेपाल सरकारले सगरमाथाको उचाइ मापन गर्ने भएको छ। यसअघि विदेशीले मापन गरेका आधारमा सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर मान्दै आएकामा सरकारले पहिलो पटक आफ्नै स्रोतमा उचाइ नाप्न लागेको हो। यसअघि इटालेली, चीन, भारतीयलगायत देशका टोलीले समगरमाथाको उचाइ मापन गरेका थिए। भूमि व्यवस्था, सकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ। टोलीले करिब दुई महिना त्यहाँ बसेर मापन कार्य गर्नेछन्।

उचाइ मापन गर्न प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्दैै सफलताको शुभकामना दिए। ओलीले यथार्थ उचाइ मापन गरेर आउन आग्रह गरे। उचाइ नाप्ने काम जोखिमपूर्ण भएको भन्दै आफ्नो स्वास्थ्य र मौसममा ख्याल गर्न प्रधानमन्त्री ओलीले सुभाव दिए। नेपाली सर्भेयरले गरेको मापन नै अब आधिकारिक हुने ओलीको भनाइ छ। ‘एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नु होला,’ उनले भने।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ नाप्न पहिलो पटक नेपाली सर्भेयरको टोली सगरमाथा पठाएको बताइन्। ‘विगतमा विदेशीले सगरमाथाको उचाइ नापेका थिए,’ अर्यालले भनिन्, ‘पहिलो पटक आफ्नै स्रोतमा उचाइ नाप्न लागेका हौं।’ ऐतिहासिक काम गर्न लागको मन्त्री अर्यालले बताइन्। २०७२ को भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा चलेको थियो। ‘यकिन उचाइको विषयमा विभिन्न कुरा उठेका छन्,’ मन्त्री अर्यालले भनिन्, ‘अब पहिलो पटक आफ्नै प्राविधिकद्वारा उचाइ यकिन गर्छौं।’

सगरमाथाको उचाइ मापन गर्न नापी विभागका प्राविधिक कर्मचारीले तालिम लिइसकेका छन्। उचाइ मापनका लागि आवश्यक पर्ने यन्त्रसहित प्राविधिक टोली बुधबार नै सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीले पर्वतारोहण सम्बन्धी तालिम पनि लिएका छन्। उचाइ मापन टोलीमा गौतम नेतृत्वमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरज सिंह भण्डारी, अमिन युवारज धिताल रहेका छन्। उक्त टोलीलाई सगरमाथा आरोहणमा गाइड गर्दै आएका पथप्रदर्शकले सघाउने छन्। पथप्रदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङ्पासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेलसमेत छन्।

टोलीको नेतृत्व गर्ने गौतमले यसअघि निजामति कर्मचारीका तर्फबाट सन् २०११ मा सगरमाथा आरोह गर्न लागेका थिए। प्राविधिक टोलीले गर्न लागेको मापन पहिलो पटक भएको गौतमले बताए। ‘यसअघि नापीका प्राविधिकले नापेका थिएनन्,’ उनले भने, ‘हामीले मापन गरेपछि पहिलो रेकर्ड हुनेछ।’ मापन गर्न करिब दुई महिना लाग्ने गौतमले बताए। मुलुकका लागि जोखिम मोलेर महŒवपूर्ण काम गर्न लागेको गौतमले बताए।

विश्वकै सबैभन्दा अग्लो चुचुरोको उचाइ इटालियनले सन् १९७५ मा मापन गर्दा आठ हजार आठ सय ४८ दशमलब १३ मिटर भएको थियो। नापी विभागले २०७२ मा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडालाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर उचाइ बढेको पाएको थियो। संसारभर अहिले सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठेकाले पनि निराकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए। उचाइ मापनका लागि विभिन्न राष्ट्रका नापनक्सा सम्बन्धी वैज्ञानिकको सुझावअनुसार सगरमाथाको उचाइ जिएनएसएस प्रविधिमा नाप्न लागिएको विभागले जनाएको छ। आरोहणलाई मौसमले पनि प्रत्यक्ष असर पार्ने भएकाले नापीको कार्य मौसममा समेत निर्भर रहन्छ। सगरमाथा नाप्न करिब २५ करोड खर्च लाग्ने अनुमान गरिएको थियो।

प्रकाशित: २८ चैत्र २०७५ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App