१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जवानीमा अपराध, बुढ्यौलीमा जेल

काठमाडौं-‘पाप धुरीबाट कराउँछ,’ भन्ने बुढापाकाको कथन यतिबेला नारायणबहादुर थापासँग ठयाक्कै मिल्छ। ३५ वर्षे उमेरमा केही हजारको लोभमा बाटो बिराएका थापाले सुख काट्ने उमेर कारागारको चिसो छिडीमा बिताउनु पर्नेछ। थापालाई सोमबार ५५ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेर केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार नुवाकोटबाट पक्राउ गरेका थापा २०५३ मा भएको लागुऔषध कारोबारको एउटा घटनाका मुख्य अभियुक्त हुन । ब्युरोका अनुसार थापा २०५३ पुष ९ मा ज्ञानेश्वरमा लागुऔषध खैरो हेरोईनको किनबेचमा सहभागी थिए । ज्ञानेश्वरमा रहेको एभरेष्ट ट्रेकिङमा स्टोर किपर रहेका थापाले निकट रहेका साथी सरोज रत्न शाक्य सहितको समूहलाई खैरो हेरोइन लुकाउन र किनबेचका लागि आफ्नै कार्यालयको कोठा उपलब्ध गराएको कसुर अदालतले प्रमाणित गरेको हो।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार शाक्य सहितको समूहले २० वर्षअघि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै रक्सौल पुगेर खैरो हेरोईन काठमाडौं ल्याएका थिए। समूहले धेरै मुनाफा हुने भन्दै थापा समेतको सहभागितामा ८५ हजारमा करिब आधा किलोग्राम खैरो हेरोईन काठमाडौं ल्याएर किनबेचको प्रपञ्च गर्दागर्दै प्रहरीले छापा मारेको थियो।

‘घटनाका समय अभियुक्त ३५ वर्षका थिए, उमेरको जोश र पैसाको प्रलोभनले अहिले बुढेशकालमा कारागार पुगेका छन,’ एसपी लोहनीले भने । उनका अनुसार घटनापछि फरार रहेका शाक्य २०६९ मै ब्युरोको टोलीको फन्दामा परिसकेका छन। ‘यी दुई बाहेक अन्य अभियुक्त समेत चाडै पक्राउ पर्नेछन,’ लोहनीले थपे।

ब्युरोको हिरासतमा रहेका थापाका एउटा छोरा दुबईमा छन्। अर्को छोरा जापान र छोरी अमेरिका। काठमाडौं मनमैजुमा घर छ। छोराछोरीको कमाई सन्तोषजनक छ । घरको भाडाबाटै समेत बचत राम्रै हुन्छ । आफु र श्रीमती नुवाकोटमा ठाँटले बसेका छन । नारायणबहादुर थापाको जीवन हाल जस्तै २० वर्ष अघि समेत सुखमय नै थियो। तर प्रलोभनका कारण जघन्य अपराध गरेका थापा त्यसपछि कहिले खुसी रहन नसकेको बयान प्रहरीमा दिएका छन । सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि ५५ वर्षका थापाले लामो श्वास फेर्दै भने ‘एउटा ठूलो डरको आज अन्त भयो,।’  

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार नुवाकोटबाट पक्राउ गरेका थापा लागुऔषध मुद्दाका फरार अपराधी भएको उनको परिवार बाहेक कसैलाई थाह थिएन। 'नुवाकोट भदुटारमा असल किसान र सामाजिक कार्यकर्ताको परिचय बनाएका थापा महिना दुई महिनामा खुसुक्क काठमाडौं आउँथे। घरभाडा उठाउँथे र सुटुक्क नुवाकोट फर्कन्थे', थापालाई पक्राउ गर्ने ब्युरोको टोलीका कमाण्डर प्रहरी निरीक्षक भिष्म हुमागाईले भने। उनले थापाको भनाई उद्दृतगर्दै भने ‘अभियुक्तलाई पक्राउ पर्नुअघि प्रत्येक दिन कहिले पक्राउ पर्छु भन्ने त्रास हुँदो रहेछ, प्रहरी आफु तर्फ आए तर्सने उनले पक्राउ पछि आफु बल्ल ढुक्क भएको सुनाए।’  

ब्युरोका अनुसार लागु औषध मुद्दामा काठमाडौं जिल्ला अदालतले २०५६ चैत्र ३ गते थापा सहित अन्यलाई सात वर्ष ६ महिना कैद र दुई लाख पचास हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। जिल्ला अदालतको फैसला अघि नै धरौटीमा रिहा भएका थापा त्यसयता प्रहरीबाट आफुलाई लुकाउँदै हिडेका थिए।

‘अदालतको पहिलो फैसला पछि फरार रहेका उनलाई आफुलाई पछिल्लो अदालतले गरेका फैसला समेत जानकारी रहेनछ,’ लोहनीले भने । उनका अनुसार काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले २०५९ भदौ ११ मा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। पुनरावेदनको फैसलालाई २०६१ चैत्र ५ मा सर्वोच्च अदालतले सदर गरेपछि ब्युरो फैसला कार्यन्वयनमा जुटेको हो।

‘अभियुक्तका आफन्त समेत कानुन ब्यवसायी भएकाले पक्राउ नपर्दासम्म आफै प्रहरी सम्पर्कमा नआएको बताएका छन, तर अनुसन्धानमा पक्राउ पर्ने डरले काठमाडौं आँउदा मोबाईल समेत नुवाकोटमै छाडेर लकुछिपी आउने गरेको देखियो,’ लोहनीले भने।

प्रकाशित: २ कार्तिक २०७३ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App