१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खाता खोल्दा बैंकले नै सय रुपैयाँ जम्मा गरिदिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले यसअघि कुनै पनि बैंक खाता नभएका नागरिकलाई खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित बैंकले नै सय रुपैयाँ खातामा राखि दिने व्यवस्था गरेको छ।  यसअघि कुनै पनि बैंक खाता नभएकाहरुले सरलीकृत पद्धति अनुसार खाता खोल्न पाउने छन्। यसरी खोलिएको खातामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रोत्साहनस्वरुप सय रुपैयाँ जम्मा गरिदिन सक्नेछन्। सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ। चालु वर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७५ मा यो व्यवस्था थप गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो।
यस व्यवस्था अनुसार खाता खोलेका सेवाग्राहीले वार्षिक अधिकतम एक लाखसम्म कारोबार गर्दा परिचयपत्र आवश्यक पर्ने छैन। तर एक लाखभन्दा बढी रकम कारोबार गर्नुपरेमा ग्राहक पहिचान पुष्टि हुने कागजपत्र पेस गर्नुपर्नेछ। नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र लगायत सरकारले प्रमाणित गरेको परिचयपत्र बुझाउनुपर्छ। सरकारले चालु वर्षको बजेटमा सबै नेपालीको बैंक खाता खोल्ने योजना सार्वजनिक गरेको थियो। त्यसअघि नै नेपाल राष्ट्र बैंकले सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने घोषणा गरेको थियो। सोही अनुसार खाता खोल्ने कार्यमा पनि सरलीकरण गरिएको राष्ट्र बैंकको भनाइ छ।
यसैगरी, आगामी शनिबार (चैत ३० गते) बैंक तथा वित्तीय संस्थालाई नियमित रुपमा नै कार्यालय खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। राजस्व संकलनका लागि शनिबार बैंक तथा वित्तीय संस्था खुला गर्न भनिएको हो।
 

प्रकाशित: २८ चैत्र २०७५ ००:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App