१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मलाई धम्क्याउनेसँग मेरै क्षेत्रका राजनीतिक व्यक्तिको कनेक्सन छः सांसद लिङ्देन

काठमाडौं– झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्क्याउन आफ्नै क्षेत्रको राजनीतिक व्यक्तिको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देनलाई केही दिनअघि ‘५० लाख दे, नभए मार्दिन्छु’ भन्दै निरन्तर मोबाइलमा धम्की आएको थियो। पैसाका लागि मात्रै कसैले धम्की दिएको हुनसक्छ भन्ने आशंका भइरहेका बेला सांसद लिङ्देनले झापामा पत्रकार सम्मेलन गर्दै झापाकै एक जना अपाराधिक व्यक्ति र आफ्ना क्षेत्रका राजनीतिक व्यक्तिको पनि संलग्नता भएको दाबी गरे।

उनलाई धम्क्याउन प्रयोग भएको नम्बर ती दुई व्यक्तिसँग पनि सम्पर्क भएको पाइएको उनले बताए। यद्यपि ती व्यक्तिबारे थप खुलाउन चाहेनन्। ‘यो घटनालाई सिआइबीले सुक्षम रूपमा अध्ययन गरिरहेको छ। यो नम्बरबाट मबाहेक अन्य दुई जनालाई सम्पर्क गरेको पाइयो’, उनले भने, ‘दुवै जना झापाकै हुन्। एक जना क्रिमिनलमा पक्राउ परेर छुटेका हुन्। पैसाका लागि क्राइम गर्नसक्ने तर मलाई गर्दैन भन्ने खालको र अर्कोचाहिँ मेरै निर्वाचन क्षेत्रको राजनीतिक मान्छे रहेछन्।’

उनलाई धम्क्याउन प्रयोग भएको एनसेलको सिम हुम्लाको व्यक्तिको नाममा रहेको र झापाका व्यक्तिसँग कनेक्सन भएको देखिएकाले अध्ययन गर्दै जाँदा यस्तो पाइएको उनले बताए। ‘हुम्लाका व्यक्तिले झापाको दुई जनासँग कनेक्सन गरेको पाइयो’, उनले भने, ‘तर एकैपटक उनीहरूलाई पक्राउ गर्न मिलेन। उनीहरूले पनि मलाई जस्तै धम्क्यायो भने भने प्रमाण नपुग्नसक्छ भनेर प्रहरीले अनुसन्धान गर्ने हेतुले उनीहरूलाई नियन्त्रणमा नलिएको हो।’ 

लिङ्देनलाई धम्क्याउन प्रयोग भएको सिम हुम्लाका प्रदीप रोक्काको नाममा देखिएको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने धम्क्याउने व्यक्ति झापा बनियानीका तिलकदास पराजुलीलाई पनि नियन्त्रणमा लिएको छ। ‘हुम्लाका ती व्यक्तिले काठमाडौं बसपार्कबाट सिम निकालेको पाइयो’, लिङ्देनले भने, ‘मसँग नागरिकता पनि छैन सिम आवश्यक प-यो भने ती व्यक्तिलाई खाजा खुवाएर उन (पराजुली)ले सिम निकालेको अनुसन्धााका क्रममा खुलेको छ।’

यत्रो घटना हुँदा पनि जाहेरी किन नगरेको भन्दै सांसद लिङ्देनमाथि अहिले प्रश्न उठिरहेको छ। तर सांसद लिङ्देनले भने आवश्यक समयमा उजुरी दिने बताए। ‘मैले प्रहरीसँग सहकार्य गरेको छुँ। किन जाहेरी नदिएको भन्ने प्रश्न आइरहेको छ’, उनले भने, ‘पक्राउ परेकाबाट थप केही आओस्। उपयुक्त समयमा उजुरी दिन्छ। मलाई धम्क्याएको विषयबारे प्रधानमन्त्री पनि जानकार हुनुहुन्छ।’ घटनामा संलग्न पराजुलीले आफूलाई पैसा चाहिएकाले यसो गरेको प्रहरीसँग बताएको सांसद लिङ्देनले जानकारी दिए। तर पैसाका लागि मात्रै आफूलाई यस्तो धम्की नआएको उनी बताउँछन्।

‘पैसाको लागि नै गरेको भए पनि मसँग गर्नुपर्ने अवस्था देखिँदैन, मसँग ५० लाख फिरौती दिने अवस्था पनि छैन’, उनले भने, ‘पक्राउ परेको मान्छेसँग कुनै दुस्मनी पनि छैन, यो यतिकै गरेको जस्तो पनि देखिँदैन। सिम प्रयोग गराई पनि चलाखीपूर्ण ढंगबाट गरिएको छ। यसमा गहिरो अनुसन्धान हुनुपर्छ भन्ने मेरो माग हो।’

यसरी धम्क्याइयो लिङ्देनलाई

‘राजेन्द्र सर हो भने मलाई फोन गर्नुन। तपाईंको नम्बर बीजी मात्र आयो। तपाईं ह्वाटस्एप्स खोल्नु ल म्यासेज पठाएको छु। केही इमेरजेन्सी छ। म कुरै सुन्दा आत्तिएँ’, चैत ६ गते साँझ ललितपुरस्थित डेरामा बसिरहेकासांसद लिङ्देनलाई ९८४३९४.... नम्बरबाट म्यासेज आयो। म्यासेज देखे पनि उनले बेवास्था गरे। तर लगत्तै अर्को म्यासेज आयो। 

म्यासेज पठाउने ती व्यक्तिले आफू शुभेच्छक भएको बताएका थिए। लिङ्देनलाई बारम्बार धम्कीपूर्ण र सूचना दिने खालका म्यासेज आएपछि उनी ह्वाट्सएप्स हेर्न बाध्य भए।

‘सर कोही तपाईंलाई मार्न चाहन्छन्, तीन जना इन्डियन मान्छे आएको थियो। उनीसँग दुई जना नेपाली मान्छे पनि थिए। आएर भेटे। एउटा सायद पुलिस जस्तो लाग्यो तिनीहरूसँग पेस्तोल पनि थियो हिन्दीबाट कुरा गर्दै थियो। तपाईंलाई मार्न नेपालीले २० लाख दियो बाँकी ३० लाख काम भएपछि भन्दै थियो। तपाईंकै मान्छे मिलेको छ होला मान्छे मार्नुप-यो पैसाको टेन्सन नलिनु भन्दै थिए’, ह्वाट्सएपमा म्यासेज थियो। 

ती व्यक्तिले विदेश जान आफ्नो चैत ७ गते बिहान १० बजेको टिकट भएको बताएका थिए। उनले दिएको समयपछि भने लिङ्देनलाई त्यो नम्बरबाट कहिल्यै फोन, म्यासेज आएन। त्यसपछि  चैत ८ गतेबाट अर्को नम्बर ९८१३५४....बाट म्यासेज आउन सुरु भयो। त्यो नम्बरबाट उनलाई निरन्तर हिन्दीमा म्यासेज आयो। 

‘तेरा आदमी हामको ५० लाख देकर, हामको तेरेको मार्ने के लिए काठमाडौं बुलाया, मगर तुतो अच्छा आदमी हे। मगर ए आदमी हामको पैसा दे चुका है। हाम क्या करुँ? हे तु पैसा दे सकता हे तो हाम बात करते हे, उ कौन आद्मी हे?’, उनलाई ह्वाट्सएप्समा आएको म्यासेज हो यो। उनलाई यस्तै म्यासेज ५÷७ दिनसम्म यही नम्बरबाट आइरह्यो। 

‘मसँग कुरा गर भनेर म्यासेज गर्छ। कहिले तँलाई मार्न लगाउने मान्छे अहिले आएको छ नगर भन्छ’, सांसद लिङ्देनले भने, ‘तर मैले कहिल्यै उसको म्यासेजको रेस्पोन्ज गरिनँ। सिआइबीले अनुससन्धान थालेपछि उसले तँ राम्रो मान्छे रहेछस् तँलाई मारेँ भने मलाई अल्लाहले पनि छाड्दैन, म इन्डिया गएँ। तर उनीहरूले तँलाई छाड्दैनन् भनरे म्यासेज पठायो। त्यसपछि त्यो नम्बर पूरै बन्द भयो।’

प्रकाशित: २७ चैत्र २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App