१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

रौतहट-  हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्। गत असोज १६ मा वीरगंजस्थित एउटा घरमा छापामारी हुन्डी कारोबार संचालन गर्ने पाँच जनासहित नगद र चेक गरी दुई करोड  नियन्त्रणमा लिने एसपी श्रेष्ठलाई गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले  सोमवार हेडक्वार्टर बोलाएको हो।

प्रहरी प्रवक्ता हेमन्त मल्लले जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि उनलाई बोलाइएको बताए। तर स्रोतका अनुसार श्रेष्ठले थालेको हुण्डी कारोबारी विरुद्धको कारवाहीले अत्तालिएका ब्यवसायीको योजनामा गृहमन्त्री विमलेन्द्र निधीले कांग्रेस कार्यकर्ताको दवावमा श्रेष्ठलाई काठमाडौं बोलाउन निर्देशन दिएका हुन्।

वीरगंज उपमहानगरपालिका ७ रेशमकोठीस्थित सन्तोष जैनको घरमा गत असोज १६ मा पर्सा प्रहरीले छापामारी घरधनी ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयनका, छोरा ३२ बर्षीय विकी भन्ने अंकुर जैन, वीउनपा ३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुर र लंगडी गाविस १ का ३३ वर्षीय सुनील कुमार पटेललाई ८१ लाख रुपैया नगद र एक करोड ३२ लाख रुपैयाको चेकसहित पक्राउ गरेको थियो । यसैगरी ल्यापटप एक थान, फयाक्स मेशीन एक थान, पैसा गन्ने मेशीन एक थान, मोबाइल सात थान र विभिन्न बैंकको चेक बुक ६ थानसमेत प्रहरीले बरामद गरी हुन्डी कारोबारको विषयलाई गहन अनुसन्धान अगाडि बढाएको थियो।

पर्सा प्रहरी प्रमुखले हुन्डीलाई निरुत्साहित गरी रकमको कारोबारलाई वैध बनाउने कार्यमा लागिरहेको वेला पर्साका नेपाली कांग्रेसका केही नेताहरुले गृहमन्त्री विमलेन्द्र निधिको राजनीतिक शक्ति प्रयोग गरेर एसपी श्रैष्ठलाई तान्न लगाएको स्रोतको दाबी छ।

स्रोतका अनुसार श्रेष्ठले थालेको हुण्डी कारोबारी विरुद्धको कारवाहीले अत्तालिएका ब्यवसायीको योजनामा गृहमन्त्री विमलेन्द्र निधीले कांग्रेस कार्यकर्ताको दवावमा श्रेष्ठलाई काठमाडौं बोलाउन निर्देशन दिएका हुन्।

सन्तोष जैनकी श्रीमती उषा गोयनकाको नाममा दर्ता रहेको न्यु नेहा ओभरसीजले वाणिज्य तथा आपुर्ति मन्त्रालयको वाणिज्य विभागबाट लिएको प्राइभेट फर्म दर्ताको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामाग्री, खाद्य सामाग्री , सुनचांदीको गरगहना तथा सजावटका समानको मात्र कारोबार गर्ने उल्लेख छ। तर न्यु नेहा ओभरसीजले वीरगन्जका विभिन्न उद्योगपति एंव व्यपारीहरुसंग गैर कानुनी रुपमा चर्को ब्याज दरमा कर्जा लगानी गर्ने तथा अवैध रुपमा मुद्राको ओसार पसार (हुण्डी) लगायतका अवैध वित्तिय कारोबार गर्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारेको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति बिना कुनै पनि रकम निक्षेप, संकलन, ओसार पसार, लेनदेन गर्नु अवैध वित्तीय कारोबारभित्र पर्ने भएकोले प्रहरीले कारबाही थालेपछि पर्सा कांग्रेसका केही नेताहरुको अवैध आयको बाटो रोकिएको थियो । न्यु नेहा ओभरसिजको संचालक महिला भएकोले महिलालाई पक्राउ गर्न नहुने भनी नेताहरुले पर्सा प्रहरी प्रमुखलाई निरन्तर दबाब दिइरहेका थिए तर कानुनअनुसार चल्न खोजेपछि एसपि श्रेष्ठलाई  प्रहरी प्रधान कार्यालयले तानेको हो।

पक्राउ परेका पांचै जनामाथि बैंक तथा वित्तीय संस्था ऐन बमोजिम कारबाही अगाडि बढाइएको थियो। प्रहरी प्रमुख श्रेष्ठ तानिएपछि हुन्डीको कारोबार वीरगंजमा फेरि फस्टाउने देखिएको छ। दैनिक करोडौंको हुन्डी कारोबार हुने वीरगंजका अन्य हुन्डी संचालकहरु एसपी श्रेष्ठ तानिएपछि हौस्सिएको स्रोतको दाबी छ।

पर्सा प्रहरीका एकजना अधिकारी भन्छन् – इमानदारी पूर्वक प्रहरी संगठनले काम गरिरहेंकै अवस्थामा तानिनु दुर्भाग्यपूर्ण रहेको छ । पर्सा प्रहरी प्रमुख एसपि श्रेष्ठ तानिएपछि सम्पर्क हुन नसकेको र फर्किने विषयमा पनि कुनै निश्चित नरहेकोले अन्यौलको अवस्था सिर्जना भएको अधिकारीको दाबी छ।

प्रकाशित: २ कार्तिक २०७३ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App