१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रिदेशीय साझेदारी भयो भन्नु कुटनीतिक मर्यादा विपरित:रावल

काठमाडौं–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर भएको टिप्पणी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्री दाहालले प्रतिक्षालयमा भएको उक्त भेटलाई नेपालकालागि दुर्लभ भेट भन्नु प्रचार बाहेक अरु केही नभएको जिकिर गरे। ‘प्रतिक्षालयमा बस्दा कुनै देशको प्रमुख वा सरकार प्रमुखसँग भेट हुनु के नौलो कुरा हो र,’ उनले भने।
रावलले प्रधानमन्त्री दाहालले  सो भेटलाई त्रिदेशीय साझेदारी भनेर हल्ला फिँजाएको १२ घण्टा बित्न नपाउँदै भारत र नेपाल दुवै देशका विदेश मन्त्रालयले त्यसको खण्डन गर्नुले नेपालको कुटनीति र राष्ट्रियतामा झनै आँच आएको र बेइजत भएको टिप्पणी गरे।

उनले भने, ‘हिँड्दाहिँड्दै भएको भेटलाई हाम्रा प्रधानमन्त्रीले छाती फुलेर सिंह जत्रो भयो भन्नु भयो, तर म त  स्यालजस्तो देख्छु।’ प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी त्यस्तो प्रतिक्रिया दिनु नेपालको कूटनीतिक मर्यादामा आँच पुर्याउने काम मात्रै भएको उनको भनाइ छ।

हिँड्दाहिँड्दै भएको भेटलाई हाम्रा प्रधानमन्त्रीले छाती फुलेर सिंह जत्रो भयो भन्नु भयो, तर म त  स्यालजस्तो देख्छु।

उनले आफू संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन जाँदा विश्वका धेरै नेताहरुसँग बाटोमा हिँड्दाहिँड्दै भेट भएको र फोटो सेसन चलेको स्मरण गर्दै भने, ‘मैले त्यतिवेला धेरै देशका प्रधानमन्त्री तथा राष्ट्रपतिसँग हात मिलाएको थिएँ, तर मैले त्यसलाई प्रचारको विषय बनाईंन, अमेरिकी राष्ट्रपति बराक ओबामासँगपनि भेट भएको थियो, खोई मैले त्यसलाई प्रचार गर्न आवश्यक ठाँनिन्।’

उनले प्रधानमन्त्रीको सचिवालयले प्रतिक्षालयमा भएको भेटलाई त्रिदेशीय साझेदारीमा समझदारी भयो भनेर प्रचार गरेको केही घण्टा बित्न नपाउँदै नेपालकै परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गर्नु कुटनीतिक असफलता भएको दाबी गरे । प्रधानमन्त्री दाहालले भ्रमण सकेर स्वदेश फर्कने क्रममा आफूले देशकै लागि गर्व गर्ने काम गरेको भएपनि नेपालका मिडियाले आफूलाई गाली गरेको भनेर आक्रोश पोखेको उल्लेख गर्दै रावलले भने,‘प्रधानमन्त्रीजीले राम्रो काम गरेको भए अरु त परै जाओस्, हामी प्रतिपक्षी दल एमालेले पनि खुलेरै स्वागत तथा प्रशंसा गर्दथ्यो, अब तपाईले नै त्यस्तो काम गर्नुभयो अनि आलोचना नगरे के गर्नु त ?’

रावलले प्रधानमन्त्रीले अघिल्लो भारत भ्रमणमा नेपाल र भारतबीच जारी भएको संयुक्त २५ बुँदे विज्ञप्तिमा भारतको विदेश नीतिलाई समर्थन गर्ने कुरा देशभक्त नेपालीहरुले अस्विकार गरिसकेको समेत बताए । उनले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ भित्रै तीनवटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने भएको उल्लेख गर्दै भने, ‘चुनावको लागि यो सरकारले खोई त निर्वाचनको कार्यतालिका अघि सारेको?’ उनले वर्तमान सरकारले चुनावको लागि योजनाहरु अघि नै नसारेको उल्लेख गर्दै अहिलेसम्म आफ्नो दलसँग कुनै छलफल नगरेको बताए।

तर, उनले एक वर्षभित्रै तीन वटै निकायको चुनाव हुन सक्ने दाबी समेत गरे । उनले थपे,‘चुनाव गर्नको लागि निर्वाचन आयोग तयार छ, सुरक्षा निकाय तयार छ, हामी तयार छौं, चुनावको लागि विल संसदमा प्रस्तुत भएको छ, अनि चुनाव गर्न किन नसकिने ?’

 

प्रकाशित: २ कार्तिक २०७३ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App