१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सपना र संघर्षको सौन्दर्य

हामी वर्षान्तमा आइपुग्यौँ। चैत्र महिनाको अर्थ, वर्षान्त। वर्षान्तको अर्थ वर्षभरिका क्रियाकलापको पछाडि फर्केर गरिने सिंहावलोकन हो। के ठीक भयो र के बेठीक, के गज्जब भयो र के सुधार्न बाँकी रह्यो, के गरियो र के गर्न बाँकी रह्यो भन्ने विश्लेषण र त्यसको मनन्ले हामीलाई सधैँ अघि बढ्न प्रेरित गरिरहन्छ।

वर्षान्तमा हामीले विविध चरणमा सपना पाल्ने, संघर्ष गर्ने र लक्ष्य हासिल गर्नेहरुको कथा प्रस्तुत गरेका छौँ। खासगरी यस पटक हामीले मिस नेपालको आवरण पस्किएका छौँ। मिस नेपाल शृंखला खतिवडा, मिस नेपाल आयोजक हिडन ट्रेजर, नृत्यमा आफ्नो करियर पस्किएकी अञ्जना गुरुङ आदिको कथाले हामीलाई जीवनका बारेमा गम्भीर भएर सोच्न बाध्य बनाउँछ।

सानै उमेरदेखि विश्व मञ्चमा उभिएर नेपाललाई चिनाउँछु भन्ने लक्ष्य राख्ने शृंखला होऊन् या यो मञ्च बनाउन संघर्ष गरेर खारिएका गोपाल कक्षपति, दुवैको कथाले हामीलाई सपनाको मूल्य सिकाउँछन्। त्यस्तै आफ्नो शारीरिक दुरुहतालाई अस्वीकार गरेर नृत्यलाई जीवनयापनको माध्यम बनाइरहेकी अञ्जना गुरुङको कथाले पनि हामीलाई संघर्षको अर्थ बुझाउँछन्।

आखिर जीवन सपना र संघर्षको सेतु त हो! सपना र संघर्षले निर्माण गर्ने जे–जस्ता अवस्था आइपर्छन्, त्यो नै जीवनको भोग बन्न पुग्छ। हामी त्यसैको कुलयोगलाई सुख वा दुःख भनी परिभाषित गर्छौं। सपना र संघर्षको कुलयोगले नै अन्ततः हाम्रो जीवनलाई सन्तुष्टितर्फ अघि बढाउँछ।
हामीले हेरम्बबहादुर राजभण्डारीको कथा पढौँ या दिनेश अधिकारीका अनुभूति सुनौँ, सबैले देखाउँछन्, जीवनको उपलब्धि र सफलता भनेको कुनै फुमन्तरको चमत्कार होइन। जीवन जिउने क्रममा गरिएका ससाना संघर्षको प्रतिफल हो। जसले संघर्ष गर्न जान्दैन, उसले चमत्कारको अनुभूति गर्न पाउँदैन।

अझ हामीले यहाँ प्रस्तुत गरेको डिक्रा वादीको संघर्षको कथाले हामीलाई अर्कै संसारमा पु¥याउँछ। उनको कथाले हाम्रो समाजको यथार्थ र विगतलाई उदाङ्गो बनाइदिन्छ। यस्ता यथार्थले हामीलाई हाम्रा सीमितता, हामीले समाजका लागि दिनुपर्ने योगदान र गर्नुपर्ने कामका बारेमा उत्प्रेरणा पनि दिन्छ। आफ्ना लागि त पशु पनि जिउँछ, अरुका लागि जिउने त मनुष्य हुन्छ। यही मनुष्य बन्ने प्रेरणा हामीले खुला आँखाले देख्ने सपनाले हामीलाई दिन्छ।

पर्व, उत्सव र रमाइलोले हामीलाई जीवनको सकारात्मकता र सामुदायिकताको भावनालाई बलियो बनाउँछ। कसरी होलीजस्ता रङ्गीन पर्वले हामीलाई एक्लिदै जान थालेको मानव समाजसँग जोड्छ भन्ने सिकाउँछ। प्रविधिले हामीलाई एक्लाइरहेको छ र होलीजस्ता पर्वले हामीलाई समूहमा जाने, समाजसँग अन्तरक्रिया गराउन भूमिका खेलिरहेको हुन्छ। चाहे त्यो होली होस् या अन्य चाडपर्व तिनले हामीलाई समाजबाट अलग्ग रहनु हुन्न, समाजसँग घुलमिल हुुनपर्छ भन्ने सन्देश दिइरहेको छ। पछिल्लो समय त यस्ता चाडपर्व अझ महत्वका हुन थालेका छन्। यिनै कुरालाई यस पटकको होली पर्वको अवसरमा हाम्रा विद्वान लेखकका आलेखले हामीलाई सिकाएका छन्।

हामीले यो अंकलाई यसरी जीवन जगतसँग जोड्दै सकारात्मकता अँगाल्दै कसरी सफल हुने भन्ने बुझ्न र बुझाउने प्रयास गरेका छौँ। यी सबै आलेख, अन्तरवार्ता र विश्लेषणले तपाईंमा थोरबहुत उत्प्रेरणा भर्नेछ भन्ने हामीलाई लागेको छ।
तपाईंको परिवार पठन सुखद् रहोस्।

प्रकाशित: २६ चैत्र २०७५ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App