१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सरकारको आँखा वनमै

कैलाली- गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय गर्‍यो। जंगल मासेर राजधानी बनाउने कार्यको वन तथा वातावरणविद्का साथै सर्वत्र विरोध भयो। तेघरी यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल गोदावरी क्षेत्रसँगै जोडिएको भावर क्षेत्रको जंगल हो। जुन चुरेको फेदमै पर्छ। घना जंगल मासेर राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध अहिले पनि विरोधहरु सुनिन थालेका छन्।

          यस्तै  सुदूरपश्चिम प्रदेश सरकारले रातो किताबमै उल्लेख गरेर कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको चिसापानीसम्मको चुरेको फेदैफेद र भावर क्षेत्रको सिरानबाटै जैविक पर्यटकीय मार्ग नामाङ्करण गरी बजेट विनियोजन गर्‍यो। त्यो सडक पनि बस्तीबिना चुरेको फेदैफेद र भावर क्षेत्रको सिनारबाटै निर्माण गरिन थालेको भन्दै प्रदेश सरकार आलोचित बनेको छ।

          सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्काले सरकारले बिना अध्ययन चुरेको फेदैफेद र भावर क्षेत्रको सिरानमा बनाउन थालेको जैविक पर्यटकीय मार्गले तराई मरुभूमिकरण हुने बताए। ‘बस्तीमा सडक बनाउनुको साटो जंगलै जंगल बाटो बनाउनु कतिको उचित हो ?, ’ उनले भने,‘यो सब रुख काट्ने मेसो मात्रै गरेको हो सरकारले।’ आफूहरु जंगलमा बाटो बनाउनमा सहमत नभएको बताउँदै उनले भने,‘जंगलमा बाटो बनाउँदा अतिक्रमण बढ्नुका साथै सरकारले चुरे र भावर सिध्याउने खेल खेल्दैछ।’

          गाउँ बस्तीमा सडक पुर्‍याउनुको साटो सरकारले जैविक पर्यटकीय मार्गका नाममा जंगलै जंगल बाटो बनाएर वन विनाश गर्न खोजेको सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। ‘बाटो बनाउने नाममा जंगलमा सडक बनाएर रुख कटानी गरी कार्यकर्तालाई पाल्ने मेसो सरकारले गरिरहेको छ,’ उनले भने,‘यो कदापि राम्रो हैन।’ सरकारले हरेक योजना बनाउँदा जंगलमै आँखा लगाउन थालेको पनि उनले आरोप लगाए। ‘सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी स्थल पनि तेघरी जंगलमै रोज्यो,’ उनले भने,‘अब हुँदा हुँदा बस्ती नभएको ठाउँमा चुरेको फेदी र भावरको सिरानमै सडक बनाउन थल्यो।’ तेघरी जंगलमा राजधानी राख्ने कुरामा आफूहरुको विमती रहेको बताउँदै उनले भने,‘हामीले अत्तरिया क्षेत्रको विरोध गरेका हैनौ, बरु अत्तरियाकै आसपास राख्न सकिन्छ, तर जंगल मास्न पाइँदैन।’

          चुरेको फेदमा पक्की सडक बनाउँदा चुरे र भावर क्षेत्र मासिने चिन्ता वनविज्ञ तथा पूर्व जिल्ला वन अधिकारी रमेश चन्दले गरे। उनले भने,‘यदि पर्यटकलाई लक्षित गरेर सडक बनाउने नै हो भने पदमार्ग बनाउनु उचित हुन्छ। पदमार्ग बनाइँदा न पर्यावरण नसिन्छ, न त चुरे क्षेत्रलाई नै असर पुग्छ।’ चुरेको फेद र भावरको सिरानमा सडक बनाइँदा यसले दीर्घकालसम्म वन विनाश हुनुका साथै काठ तस्करीको रुट बन्न सक्ने उनले बताए। ‘जंगलको बीचैबीच सडक बनाइँदा यसले काठ तस्करीमा प्रश्रय पाउँछ,’ उनले भने,‘अर्को कुरा सडक बनाइँदा डोजर प्रयोग भएपछि त्यसले चुरेलाई हल्लाउने र भत्कने समस्या बढ्छ।’ भावर क्षेत्रमै जैविक पर्यटकीय मार्ग बनाइँदा वन्यजन्तुलाई समेत ओहोर दोहोरमा समस्या पर्नुका साथै चोरी सिकारी बढ्ने सम्भावना हुने उनी बताउँछन्। जैविक पर्यटकीय मार्ग बनाइँदा हजारौ रुख काटिने र त्यसले पर्यावरणमा पनि ठूलो असर पुग्ने उनले बताए।

          राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अनुसन्धान तथा कार्यक्रम सहयोग इकाई कैलाली प्रमुख सुरज थापाले चुरेको फेदीमै सडक बनाइनु राम्रो नभएको बताए। उनले भने,‘हामी चुरे बचाउनु पर्छ भनेर लागेका छौँ, हाम्रो कार्यक्रममा बिना छलफल सडक बनाइनु गैरकानुनी हो।’ प्रदेश सरकारले बनाउन थालेको जैविक पर्यटकीय मार्गका बारेमा एकपटक पनि आफूहरुसँग छलफल नचलाएको उनले बताए। ‘कसैले पनि चुरे क्षेत्रमा काम गर्दा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिसँग छलफल गर्नुपर्दछ,’ उनले भने,‘हाम्रो उपस्थिति र सहमतिबिना चुरे क्षेत्रमा कुनै पनि काम गर्न पाइँदैन।’ ठूला यान्त्रिक साधनले सडक बनाइँदा चुरे क्षेत्रलाई असर पुग्ने बताउँदै उनी भन्छन्,‘सडक बनाउनु नै पर्ने हो भने पनि कोदालोको सहायतामा मानिस लगाएर बनाउन सकिन्छ, तर ठूला यान्त्रिकीकरण प्रयोग गर्न पाइँदैन।’

           जंगल मासेर भौतिक संरचना बनाइन नहुने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ कैलाली अध्यक्ष डण्डीराज सुवेदीले भने,‘चुरे र भावर क्षेत्र त झनै संवेदनशील हो, यसलाई चलाइनु हुँदैन।’ भावर क्षेत्र मास्दा भूमिगत जलस्रोत नासिन गई तराई क्षेत्रमा खानेपानीको हाहाकार हुनसक्ने उनले बताए। ‘कहिले उद्योगका नाममा, कहिले राजधानीका नाममा त कहिले जैविक पर्यटकीय मार्गका नाममा वन क्षेत्रलाई मासिनु हुँदैन,’ उनले भने,‘वन क्षेत्र मासिएमा सबैभन्दा बढी समस्या विपन्न वर्गलाई पर्न जान्छ।’ वन क्षेत्रबाटै विपन्न वर्गले जीविकोपार्जन गरिरहेको उनको भनाइ छ। 

आफूहरु जलवायु परिवर्तनबाट हुने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा चिन्तित रहेकै बेला भावर क्षेत्र मासिन नहुने उनको भनाइ छ। ‘दिनानु दिन वन जंगल मासिँदै गइरहेका बेला वन मासेर भौतिक संरचना र पक्की सडक बनाउँदा हामी वन जोगाउन लागिरहेकाहरु चिन्तित छौँ,’ उनले भने,‘यदि संरचना बनाउनै परेमा पनि वातावरणलाई असर नपर्नेगरी बनाउनुपर्छ।’

प्रकाशित: २६ चैत्र २०७५ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App