१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

भेरी–बबई सुरुङको बाटो

मुलुकमा तोकिएका समय र लागतमा आयोजना निर्माण सम्पन्न भएका उदाहरण ज्यादै कम छन्। अहिले मुलुकको रोग नै  तोकिएका अवधि र बजेटमा आयोजना सम्पन्न नहुनु हो। तर यहीबीच ठूलामध्ये एक भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएकै बजेटभित्र समय सीमाभन्दा एक वर्ष छिटो सकिएको छ। हाम्रो परम्परामा यो खुसी मान्नुपर्ने विषय बनेको छ। आयोजनाको १२.२ किलोमिटर सुरुङ निर्माण गर्न सरकारले साढे २ वर्षको समय दिएको थियो। ठेकेदार कम्पनीले १ वर्ष ६ महिनामै यसलाई पूरा गरेको हो। सरकारले १० अर्ब ५६ करोड रुपैयाँ सुरुङ खन्न छुट्ट्याएको थियो। काम सकिँदा लागत मूल्य बढेको छैन। आयोजनाका अनुसार सुरुङ खन्न २ मिटरजति बाँकी छ। त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेकाले दुई मिटर बाँकी राखिएको हो। आयोजनाले एक महिनाभित्र उद्घाटन गराउने तयारी गरेको छ। यही आयोजनाअन्तर्गत ‘हेडवक्र्स’ र अन्य काम गर्न भने अब ठेक्का प्रक्रियामा जान थालिएको छ। प्राविधिक कर्मचारीका अनुसार सुरुङ पूरा नभएसम्म हेडवक्र्स निर्माण गर्न मिल्दैन। नहरमा पानीको ‘लेबल’ मिलाउनुपर्ने भएकाले पहिले सुरुङ पूरा गर्नुपर्ने भएको हो। तैपनि सुरुङ तयार हुने बेला हेडवक्र्स निर्माणका लागि ठेक्कापट्टा लगायतका सबै काम पूरा हुनुपर्ने थियो। जुन भएका छैनन्। अहिले ठेक्का आह्वान गर्ने तयारी आयोजना कार्यालयले गरेको छ। हेडवक्र्स निर्माणलगायत सबै आयोजना पूरा गर्न सरकारले अझै ५ वर्षको समय दिएको छ। सुरुङ खन्न देखाइएको तत्परताले आयोजना समयमा सकिनेमा आशा गर्ने आधार पर्याप्त छन्।

यो आयोजनामा सुरुङ खन्न मुलुकमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो। सुरुङ चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले खनेको हो। प्रविधि प्रयोग गर्न सके काम छिटो हुन्छ भन्ने यसले देखाएको छ। जलविद्युत् आयोजनाहरू बनाउँदा पनि सबैभन्दा धेरै समय लाग्ने सुरुङ खन्न नै हो। आयोजनाले भेरी नदीको पानी सुर्खेतको चिप्लेमा बाँध निर्माण गरी हात्तीखालमा विद्युत्गृह बनाएर बर्दियाको बबईमा झार्ने योजना राखेको छ। आयोजनाबाट बर्दियाको ३६ र बाँकेको ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने तयारी छ। मुलुकभर बनिरहेका आयोजनामध्ये कतिपय समय र लक्ष्यबमोजिमको बजेटमा बनेका पनि छन्। तर राष्ट्रिय गौरवमा पर्ने ठूला आयोजनाको एउटा भाग समयमा सकिनु निश्चय नै सुखद विषय हो। सरकारले पूर्वाधार विकासमा जोड दिने हो भने उक्त सुरुङ खनेजस्तै अन्य काम पनि समयमा सक्नुपर्छ। तर हाम्रो इतिहास र वर्तमान दुवै सुखद छैनन्।  भौतिक पूर्वाधार निर्माणमा हुने खेलाँचीले मानवीय दुर्घटना भएका उदाहरणसमेत छन्। केही महिनाअघि रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा ४/५ जनाको ज्यान गएको थियो।

मुलुकका अन्य भागमा पनि पुल नबनेकै कारण नदीमा डुबेर धेरैले ज्यान गुमाइरहेका छन्। काठमाडौं–मुग्लिन सडकअन्तर्गत कृष्ण भीरको पहिरोले धेरैको ज्यान लिएको सबैलाई थाहा भएकै कुरा हो। पछिल्लो समय मुग्लिन–नारायणगढ सडक समयमा नसक्दा पनि धेरै दुघर्टना भएका थिए। समयमा काम नसकिनु मात्र होइन, सकिएको काम पनि गुणस्तरीय हुने गरेका छैनन्। दशकौंदेखि पूर्वाधार निर्माणका क्षेत्रमा भएका चरम लापरबाहीले एकातिर सर्वसाधारणको ज्यान गइरहेको छ भने अर्कातिर राज्यको अर्बौ रुपैयाँ खेरा गइरहेको छ। यसको गतिलो उदाहरण मेलम्ची खानेपानी आयोजना हो। मुलुकमा मेलम्चीजस्ता समयमा काम नसकिने आयोजना दर्जनौँ छन्। कति आयोजना त सुरु नगर्दै राजनीतिक, आर्थिक र वातावरणीय विवादमा पारेर वर्षौँ पर धकेलिएका छन्। केही आयोजना बनाउन कुन् मुलुक र कुन ठेकेदार कम्पनीलाई दिने भन्दैमा समय बितिरहेको छ। राज्य संयन्त्रले आयोजनामा प्रत्येक वर्ष खर्बौँ रुपैयाँ बजेट विनियोजन गर्छ। तर समयमा सक्न तदारुकता नदेखाउँदा प्रत्येक वर्ष विकास बजेटको ७० प्रतिशतभन्दा बढी रकम खर्च हुन सकेको छैन। आयोजना समयमा नसकिनुमा प्रमुख दोषी नेता, कर्मचारी र निर्माण व्यवसायी हुन्। त्रिपक्षीय रूपमा हुने कमिसन मोहले आयोजना समयमा बन्ने गरेका छैनन्। यिनैको मिलोमतोमा वर्षौँदेखि राज्यकोषमाथि लुट मच्चिइरहेको छ। सरकारले आयोजना निर्माण तोकिएको अवधिमा पूरा गर्ने हो भने पहिले कमिसन खेल रोक्न सक्नुपर्छ। काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्ने व्यवस्था नगरेसम्म आशा गर्ने ठाउँ देखिँदैन। सरकारी नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा हुन भेरी बबईको सुरुङमा जस्तै काम हुनु जरुरी छ।   

प्रकाशित: २६ चैत्र २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App