१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रोमान्स विथ धौलागिरि

टोड्केमा गुराँसको बैंस हेर्दै धौलागिरिसँग आँखा जुधाउने कि! डाँडासम्मै जीप वा मोटरबाइकमा जान सकिन्छ। बेनीबाट हिँडेर जाँदा ६ घण्टा लाग्छ।

गुराँस फुल्ने मौसम। लाली चढिसक्यो वनमा। गुराँसको बैंस हेर्दै धौलागिरिसँग रोमान्स गर्न टोड्के आकर्षक गन्तव्य बन्दै छ। त्यहाँबाट धौलागिरि मात्र होइन, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल पनि देखिन्छ।
सिरसिरे बतास। स्वच्छ हावापानी। शान्त। मधुमास मनाउन उपयुक्त।

म्याग्दीको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा छ टोड्के। प्राकृतिक सौन्दर्य त छँदैछ, धार्मिक महत्व पनि छ। त्यहीँ छ स्वर्गद्वारी मन्दिर–स्वर्गद्वारी महाप्रभुले ध्यान गरेको ठाउँ।

टोड्के क्षेत्र पदयात्राका लागि सुन्दर भूमि। बेनीबाट गलेश्वरधाम हुँदै झीँ गाउँ भएर टोड्के र टोड्केमा रात बिताएर पूर्णगाउँ वा कुहुँगाउँ हुँदै तातोपानी झर्ने ‘टोड्के ट्रेक’मा यात्रा गर्न सकिन्छ।

टोड्केबाट तीन घण्टा हिँडेमा मालिका धुरी पुगिन्छ। त्यो धुरीमा चण्डी र ज्येष्ठ पूर्णिमामा मेला लाग्छ। त्यहाँसम्म पुग्न नसक्नेहरू टोड्केकै सिद्धथानमा पूजा गर्छन्।

टोड्केको दक्षिणमा पूर्णगाउँ र उत्तरमा झीँ, दक्षिणपूर्वमा उवाखेत छन्। पूर्णगाउँबाट आधा घण्टा, झीँ र उवाखेतबाट डेढ घण्टा हिँडे टोड्के पुगिन्छ। पूर्णगाउँ, उवाखेत र झीँमा होम स्टे सुविधा छ।

डाँडामा आधुनिक रिसोर्ट पनि खुलेको छ–टोड्केहिल रिसोर्ट। तीन करोड रुपैयाँ लागतमा बनेको रिसोर्टमा अट्याच बाथरुम सहितका १० कोठा, १० वटा टेन्ट, सेमिनार हल र  रेष्टुरेन्ट छन्।

वर्षैभरि घुम्न सकिन्छ टोड्केमा। त्यहाँबाट सिजनमा आलु, मुला र मह कोसेली ल्याउन पाइन्छ।
कसरी पुग्नेः काठमाडौं–बेनी २८२ किमी, काठमाडौंबाट बसमा १० घण्टा। बेनीबाट टोड्के जाने ५ वटा सडक छन्। एउटा रुट बेनी, गलेश्वर, झीँ हुँदै टोड्के, अर्को रुट बेनी, अर्थुंगे, झीँ हुँदै टोड्के, बेनी, अर्थुंगे, पुलाचौर, पूर्णगाउँ हुँदै टोड्के, अर्को बेनी, गलेश्वर, उवाखेत हुँदै टोड्के र बेनी, अर्थुगे, उवाखेत हुँदै टोड्के पुग्न सकिन्छ। सबै मोटर बाटोबाट जीपमा टोड्के जान सकिन्छ। बेनीबाट पदयात्रा गर्न पनि सकिन्छ, समय ६ घण्टा। पदयात्रा रुट बेनी, अर्थुंगे, पुलाश्रम, जगन्नाथ हुँदै टोड्के।
bhadgaonle@gmail.com

निम्तो


भीम शेरचन
प्रवर्द्धक, टोड्केहिल रिसोर्ट
प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणमा पर्यटक रमाउँछन्। टोड्केलाई चम्काउन हामीले रिसोर्ट बनाएका हौं। पदयात्रा गर्न, हनिमुन मनाउन, विकेण्ड मनाउन र फेमिलीसँग रमाइलो गर्न टोड्के राम्रो गन्तव्य हो। टोड्के क्षेत्रमा केही दिन बिताएर शरीर र मनलाई चंगा बनाउन सकिन्छ।
सम्पर्क: ०६८–६२००४५  

प्रकाशित: २५ चैत्र २०७५ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App