१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्रोइलर कुखुराको ‘स्ट्यान्डर्ड’ तौल तोकियो

बनेपा - राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘‘स्ट्यान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ‘ग्रेडिङ’पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ।

‘सुरु–सुरुमा अढाई किलो तौलमा आएमात्रै किसानले ‘फुल रेट’मा बिक्री मूल्य पाउने प्रणाली कायम गरेका थियौं। पछि यसलाई दुई किलो दुई सय ग्राम ग¥यौं। यो ‘स्ट्यान्डर्ड तौल करिब १० वर्षसम्म कायम रह्यो,’ संघका अध्यक्ष जंगबहादुर बिसीले भने। विगतमा ‘स्ट्यान्डर्ड तौल पु-याउन किसानले बढी दाना खुवाउनु परेको र त्यस अवधिमा कुनै रोगव्याधि आइहालेमा खोर सखाप हुने अवस्था भएकाले विगतको निर्णयलाई पुनरावलोकन गरिएको उनको भनाइ छ।

‘किसानले उत्पादन गरेका सानो साइजको ब्रोइलर पनि कसरी छिटो बिक्री हुने वातावरण बनाउने भन्ने चिन्ता थियो। नेपाल दाना उद्योग संघको अगुवाइमा आइतबार सम्पन्न पोल्ट्री व्यवसायीको बैठकले मंगलबारदेखि लागू हुने गरी नयाँ प्रणाली कायम गरेका हौंं,’ बिसीले थपे। यतिखेर संघले ब्रोइलरको खरिद दर प्रतिकिलो दुई सय ३० रुपैयाँ कायम गरेको छ। तर, यो भाउ पाउन किसानले कम्तीमा दुई किलो दुई सय ग्राम भएको ब्रोइलर लैजानु पर्ने अवस्था थियो। सो तौलभन्दा कम ब्रोइलरलाई ग्रेडिङमा भाउ घटाएर कोल्ड स्टोरले किन्दै आएका थिए। मंगलबारदेखि दुई किलो साइजको ब्रोइलरमा किसानले ‘फुल रेट’ पाउने भएका हुन्।

‘कोल्ड स्टोरले मनलाग्दी नगरुन् भनेर हामीले प्रत्येक एक सय ग्रामको फरकमा ‘ग्रेडिङ’ प्रणाली बनाएका छौं। एक किलो नौ सय ग्राम भएमा चार रुपैयाँ कम दिन्छौं। एक किलो आठ सय ग्राममा नौ रुपैयाँ र एक किलो सात सय ग्राम तौलमा १५ रुपैयाँ कम गरेर खरिद गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सानो साइजको ब्रोइलरको तयारी मासु बनाउने क्रममा बढी जर्ती जाने भएकाले यस्तो निर्णय गरिएको हो,’ बिसीले थपे। विगतमा सानो साइजको ब्रोइलर किन्नमा कोल्ड स्टोरले आनाकानी गर्थे। तौल बढाउनकै लागि महँगो दाना खुवाएर लामो अवधिसम्म पाल्नुपर्ने किसानको बाध्यता थियो। ‘अब सानो साइजको ब्रोइलर बिक्दैन भनेर किसानले चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गरेका हौं,’ उनले दाबी गरे।

पछिल्ला वर्षहरुमा कुखुराको दानामा अत्याधुनिक ‘पेलेट’ दानाको प्रविधि भित्रिएपछि ब्रोइलरको तौल बढेकोमात्रै नभई पाल्नुपर्ने अवधिसमेत घट्दै आएको विज्ञको भनाइ छ। ‘सन् १९८० को दशकमा साढे तीन किलो दाना खुवाउँदा ब्रोइलर कुखुराको तौल एक किलो हुन्थ्यो, त्यो पनि कम्तीमा ७० दिन पालेपछि मात्रै। तर, अहिले परिस्थिति ठ्याक्कै फेरिएको छ, १६ सय ग्रामदेखि दुई किलो दाना खुवाउँदा ब्रोइलरको तौल एक किलो आउनेमात्रै नभई पाल्नुपर्ने अवधि पनि घटेर ३६ देखि ३८ दिनसम्म हुन थालेको छ,’ पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराईले भने।

हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष पाँच किलो तीन सय ग्राम मासु र साढे ५० वटा अण्डा उपलब्धता रहेको छ। भट्टराईका अनुसार विगत तीन वर्षमा ब्रोइलर (मासुका लागि) र लेयर्स (अण्डाका लागि) पाल्ने व्यावसायिक किसानसँगै चल्ला तथा दानाको खपत बढेको मात्रै नभई कुखुरा उत्पादन पनि बढेको छ। ‘आर्थिक वर्ष ०७३÷७४ मा मासु उत्पादन डेढ लाख मेट्रिक टन र अण्डा एक अर्ब ४१ करोड गोटा उत्पादन भयो। यसका लागि कुखुराले सात लाख ५३ हजार मेट्रिक टन दाना खाएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा २४ हजार मेट्रिक टन बढी हो,’ उनले थपे।

नेपालमा कुखुरापालन व्यवसायको मूल्य शृंखला (भ्यालु चेन) मानिएको ह्याचरी, दाना, किसान, फ्रेस हाउस, स्लटर हाउस, औषधि बिक्रेता, अण्डा क्रेट र बाकस बनाउनेलगायत कार्यमा प्रत्यक्ष रुपमा डेढ लाखले र अप्रत्यक्ष रुपमा दुई लाख व्यक्तिले रोजगारी पाएका नेपाल दाना उद्योग संघको तथ्यांक रहेको छ। सन् २०१७/१८ सम्म आइपुग्दा नेपालको पोल्ट्री व्यवसायमा निजीक्षत्रेको साढे ८६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको व्यवसायीको भनाइ छ।

प्रकाशित: २५ चैत्र २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App