२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

बैंगलोर दिल्लीसँग ४ विकेटले निराश

तस्बिर: एजेन्सी

हैदराबाद– कप्तान श्रेयस ऐयरको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले निराश पारेको छ।

बेंगलोरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। ऐयरले ५० बलमा ८ चौका र २ छक्काको मद्दतमा ६७ रनको योगदान गरे। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले कप्तान विराट कोहलीको ४१ रनको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार पारेको थियो।

यसअघि वेस्ट इन्डिजका तीव्र गतिका बलर अल्झारी जोसेफले शनिबार १२ रन खर्र्चंदै ६ विकेट लिएसँगै आइपिएल डेब्यु सुखद बनाएका थिए।

आइपिएलमा शनिबार मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादमाथि ४० रनको जित हात पार्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। न्युजिल्यान्डका एडम मिल्नर चोटका कारण बहिरिएपछि मुम्बईको टोलीमा स्थान बनाएका २२ वर्षे जोसेफले ३.४ ओभरमा १२ रन खर्चंदै ६ विकेट लिएपछि १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदराबाद १७.४ ओभरमा ९६ रनमै अलआउट भएको थियो।

जोसेफले २०१६ मा वेस्ट इन्डिजबाट टेस्टमा डेब्यु गरेका थिए। त्यस्तै उनले हालै इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखला २–१ ले जित्दा १० विकेट लिएका थिए।

‘यो उत्कृष्ट सुरुआत हो। म योजनाअनुसार बलिङ गर्ने चाहन्थें। जब मैले पहिलो विकेट हात पारें,’ जोसेफले भने, ‘म विकेटको खुसीभन्दा पनि स्वाभाविक लयअनुसारको प्रदर्शनमा केन्द्रित भएँ।’

हैदराबादका दपिक होड्डाले सर्वाधिक २० रन जोडे। त्यस्तै ओपनर जोनी बेयरस्टो र मनीष पाण्डेले समान १६ तथा कप्तान डेविड वार्नरले १५ रन जोडे भने कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

वार्नर र बेयरस्टोले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै हैदराबादलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर चौथो ओभरको तेस्रो बलमा राहुल चाहले बेयरस्टोलाई पवेलियनको बाटो देखाएपछि हैदराबादको विकेट पतन सुरु भएको थियो। पाँचाैं ओभरको पहिलो बलमा जोसेफले आइपिएलको पहिलो विकेटका रूपमा वार्नरलाई बोल्ड गरेका थिए । हैदराबादले थप ९ रन जोड्दा विजय शंकरलाई तेस्रो विकेटका रूपमा गुमायो। पाण्डे र होड्डाले चौथो विकेटका लागि १९ रनको साझेदारी गर्दै हैदराबादको इनिङ अघि बढाउने संकेत गरे पनि त्यसपछिका अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा हैदराबाद सस्तो योगफलमा सीमित बनेको थियो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रनको मध्यम योगफल खडा गरेको थियो।

मुम्बईका काइरन पोलार्डले अविजित ४६ रनको योगदान गरे। पोलार्डले २६ बलमा २ चौका र ४ चौका प्रहार गरे।

प्रकाशित: २५ चैत्र २०७५ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App