१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डिपो प्रमुख यादवमाथि अख्तियारको छानबिन

काठमाडौं– नेपाल आयल निगम विराटनगरका डिपो प्रमुख दिनेश यादवले अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

तेल चोरी लगायत विभिन्न अनियमितता गरेको आरोपमा यादव पटक–पटक विवादित बन्दै आएका थिए। अहिले पेट्रोल पम्प सञ्चालकबाट अतिरिक्त रकम लिएको आरोपमा अख्तियारले यादवमाथि अनुसन्धान सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख महेश आचार्यले व्यवसायीसँग थप रकम असुलेको उजुरीका आधारमा यादवमाथि छानबिन भइरहेको बताए। ‘डिपो प्रमुखमाथि लागेका अरोपमाथि गहन अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘आयोगले अहिले प्रमाण संकलनको काम गरिरहेको छ।’

आयोगले थप अनुसन्धानका लागि निगम केन्द्रीय कार्यालयमा समेत पत्राचार गरेको छ। अख्तियारले पत्राचार गरेपछि निगमको गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा अनुसन्धान टोली बनाएको छ। निगम स्रोतका अनुसार छानबिनका लागि क्षेत्री नेतृत्वको टोली विराटनगर गएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याउँदा बीच बाटोमा डिजेल चोरी भएको घटनामा पनि यादवमाथि अख्तियारले छानबिन गरिरहेको छ। केही समयअघि निगमका कर्मचारी र ट्यांकर चालकको ‘सेटिङ’मा पेट्रोलियम पदार्थ चोरी भए पनि कारबाही भएको थिएन।

पेट्रोलियम पदार्थको चुहावट रोक्न निगमले सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि ट्यांकर चालक र कर्मचारीको मिलेमतोमा तेल चोरी हुने गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बरौनीबाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर २० हजार लिटर डिजेल लिएर आएको को १ ख ४९६५ नम्बरको ट्यांकर निगमको विराटनगर डिपोमा अनलोड गर्दा करिब २५ सय लिटर डिजेल कम भएको थियो।

निगमले डिजेल चोरी भएको ट्यांकरसितको निगमको करार समेत रद्द गरेको थियो। उक्त ट्यांकरका चालक धर्मेन्द्र शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गरेको थियो। विराटनगर डिपोमा इन्धन चोरी घटना गम्भीर प्रकृतिको भएकाले ट्यांकरको करार रद्द र चालकलाई भविष्यमा इन्धन ढुवानीमा अयोग्य हुने निर्णय गरेको थियो।

निगमले तेल चोरी भएको  ट्यांकर सञ्चालकका १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गरे पनि व्यवसायीको आन्दोलनपछि खुला गरेको थियो। उक्त घटनामा निगमले छानबिन समिति बनाए पनि कुनै कारबाही भएन। विराटनगर डिपोमा ‘लस टार्गेट’ नाघेर डिजेल र पेट्रोल चुहावट भएको छ। विवादित यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको दबाबमा निगम व्यवस्थापनले विराटनगर पठाएको थियो। यादव सधैं विवादमा तानिने कर्मचारी हुन्। निगमको सातौं तहमा कानुन अधिकृतका रूपमा प्रवेश गरेका यादव जुन डिपोमा जान्छन् त्यहाँ अनियमितता भएको आरोप लाग्ने गरेको छ। कानुन सेवामा प्रवेश गरेका यादव राजनीतिक पहुँच प्रयोग गरेर प्रशासन सेवातर्फ आएका थिए।

भारतीय नाकाबन्दीका बेला निगमको भैरहवा डिपोमा रहेका यादव पेट्रोलियम पदार्थ बिक्रीवितरणमा अनियमितता भएको आरोपमा केन्द्रीय कार्यालयमा तानिएका थिए। यादव २०७३ पुसमा पनि निलम्बनमा परेका थिए। तत्कालीन भूमिसुधारमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनसित घुुस मागेको आरोपमा आपूर्ति मन्त्रालयले उनलाई निलम्बन गर्न निर्देशन दिएपछि निगमले निलम्बन गरेको थियो।

यादव आयल निगमको अमलेखगन्ज डिपोमा हुँदा पनि कारबाहीमा परेका थिए। निगम अमलेखगन्ज डिपोमा प्राविधिक नोक्सानी बढी देखाएर तेल बिक्री गरेको आरोपमा अख्तियारले कारबाही अघि बढाएको थियो।

डिपो प्रमुखमाथि ‘निगरानी’
निगमका डिपो प्रमुख विभिन्न घटनामा विवादमा आइरहेपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले डिपो प्रमुखमाथि निगरानी बढाएका छन्। स्रोतका अनुसार पौडेलले विराटनगर डिपो प्रमुख यादव र झापाका डिपो प्रमुख सनम कार्कीलाई मौखिक निर्देशनमा काठमाडौं तानेका छन्।

‘यादवको भूमिका शंकास्पद र विवादित भएकाले करिब दुई हप्ताका लागि काठमडौं तानिएको हो,’ निगम स्रोतले भने। निगमका एक उच्च अधिकारीका अनुसार कार्यकारी निर्देशक पौडेलले गुनासा आएका अधिकांश डिपो प्रमुखमाथि विभिन्न संयन्त्रमार्फत निगरानी गरिरहेका छन्। केन्द्रीय कार्यालयमा कर्मचारीलाई कडाइ गरेका पौडेलले डिपो प्रमुखको उपस्थितिबिना पनि डिपोको सिस्टम चलाउन यस्तो रणनीति बनाएका हुन्। ‘डिपो प्रमुखका गतिविधिलाई संयन्त्र बनाएर सूक्ष्म अध्ययन गरिरहनुभएको छ,’ निगमका एक अधिकारीले भने, ‘गलत गर्नेलाई कारबाही गर्ने योजना हो।’


हावाहुरी पीडितलाई खाद्यान्न वितरण
नेपाल आयल निगमले बारा र पर्साका हावाहुरी पीडितलाई आद्यान्न वितरण गरेको छ। हावाहुरीले घरबारविहीन भएका दुई जिल्लाका पीडितलाई १२ सय नौ बोरा चामल वितरण गरेको निगमको अमलेखगन्ज डिपो प्रमुख दिनेश यादवले बताए।

बाराको फेटा गाउँपालिकामा दुई सय ७० बोरा, सुवर्ण गाउँपालिका दुई सय ३०, प्रसोनीमा एक सय ४०, परवानीपुरमा तीन सय ५२ बोरा, पर्साको जगरनाथपुर गाउँपालिकामा दुई सय १७ बोरा चामल वितरण गरिएको हो। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरेको यादवले बताए।

प्रकाशित: २५ चैत्र २०७५ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App