१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वअर्थमन्त्री आचार्यको प्रश्नः देशभित्र करको कचकच छ, विदेशी लगानीकर्ता कसरी आउँछ?

बागलुङ– पूर्व अर्थमन्त्री महेश आचार्यले सरकारले लगानीको वाताबरण बनाउने नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनले आइतबार बागलुङमा आयोजना गरेको कार्यक्रममा बोल्दै आचार्यले विदेशी लगानीकर्तालाई रेड कार्पेट बिछाएर स्वागत गर्ने भनेको सरकारले भनाई अनुसारको काम गर्न नसकेको आरोप लगाए। ‘प्रधानमन्त्रीले विदेशी लगानीकर्तालाई रेड कार्पेटमा स्वागत गर्छौ भनेर भाषण त गर्नुभयो’, उनले भने, ‘तर भनाई र गराईमा तालमेल देखिएन। करको कचकचले कहिले वीरगञ्जमा हड्ताल भएको छ, कहिले विराटनगरमा हड्ताल भएको छ। देशभित्र यस्तो किचलो हुँदा विदेशी लगानीकर्ता आउँदैनन्।’

नेपालमा लगानी सम्मेलन हुने अघिल्लो साँझसम्म पनि विप्लवका कार्यकर्ताहरु सरकारले पक्राउ गरिरहनुले लगानीकर्तालाई आश्वस्त पार्न नसकेको उनको भनाई छ। ‘दुई तिहाई बहुमतको प्रधानमन्त्रीले प्रतिपक्षी दलको नेतालाई साथमा राखेर लगानीकर्तालाई आउनुस् नेपालमा सबै प्रकारका राजनीतिक समस्याहरु समाधान भएका छन् भनेर देखाउनुपर्ने समयमा त्यस्तो हुन सकेन’, आचार्य भन्छन्, ‘एकातिर लगानी सम्मेलनका लागि विदेशी नेपाल आउँदै थिए भने अर्को तर्फसंगै विप्लव कार्यकर्ताहरु पक्राउको समाचार आइरहेको थियो। यसले विदेशीलाई विश्वस्त पार्न सकेन।’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको आर्चाले काँग्रेसले कोरेको आर्थिक नीतिको बाटोमा कम्युनिस्ट आएको बताए।

‘नेपाली काँग्रेसले २०४८ सालदेखि नै विदेशी लगानीको आवश्यक पर्ने देखेर त्यती खेरै विदेशी प्रविधि र पूँजीलाई नेपालमा ल्याउनुपर्छ भनेर लाग्यो’, उनले भने, ‘कम्युनिस्ट साथीहरुले त्यसो गर्नु हुँदैन। सब चिज राज्यले उत्पादन गर्नुपर्छ भन्नुहुन्थ्यो। अहिले सरकारले विदेशी लगानी भित्र्याउन नसके देशमा आर्थिक उन्नति हुँदैन भनेर विदेशी लगानी भित्राउन सुरु गरेको छ। यो राम्रो पक्ष हो।’ प्रधानमन्त्री एकलौटी ढंगले अगाडि बढ्न खोज्दा मुलुकमा राजनीति स्थिरता कायम हुन नसकेको उनको भनाई छ। 

प्रकाशित: २४ चैत्र २०७५ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App