१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मसानघाटले परिचित ठाउँ धार्मिक पर्यटकीय स्थलमा रुपान्तरण

इटहरी– दशकअघिसम्म इटहरीको बुढी खोला नदी मसानघाटले परिचित थियो। त्यहाँ जान प्रायः सबै डराउँथे। मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो। 

बुढी खोला नदी छेउमा जताततै फोहर त थियो। खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो। तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिबेला बद्लिएको छ। दुवैको परिचय पनि फेरिएको  छ। अहिले यस ठाउँलाई बृहत्तर मुक्तिधाम विकास समितिमार्फत धार्मिक पर्यटकीय स्थलको रुपान्तरण थालेर रुप बद्लिएको हो। 

मुक्तिधाम इटहरीको पुनःनिर्माण र सौन्दर्यकरण गर्न १० करोड रुपैयाँ खर्चेर मन्दिरको पुर्नःनिर्माण पुरा गरि आइतबार उद्घाटन गरियो। मन्दिरको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।

सुनसरी–मोरङको सीमा छुट्याउने बुढी खोला नदीको पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फको तटीय क्षेत्रलाई व्यवस्थित आर्यघाट र त्यसको ठीक पश्चिमपट्टी दाताले दिएको जग्गामा पुनःनिर्माण गरिएको मन्दिरको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्। योजना अनुसार, छ वर्षअघि १० करोड खर्चेर शव अन्त्येष्टि गर्ने व्यवस्थित आर्यघाट र मन्दिर पुर्नःनिर्माणको काम थालिएको थियो। घाट परिसर क्षेत्रमा छवटा मन्दिर र एउटा यज्ञशाला पनि निर्माण भएको छ। 

मन्दिर परिसरमा सुविधा सम्पन्न वृद्धाश्रम तथा मुक्तिधाम परिसरभित्र वृहत्त धार्मिक संग्रहालय स्थापना गर्ने योजना रहेको मुक्तिधामका निर्माण समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले जनाए। उनका अनुसार आर्यघाटमा विद्युतीय शव दाहको पनि व्यवस्था गरिने छ। 

मुक्तिधाममा मन्दिरको उद्घाटन गदैं राष्ट्रपति भण्डारीले इटहरीलाई पूर्वकै महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने भएकाले सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताइन्। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जाल विस्तार भएको अनि मुलुकको अन्न भण्डारले चिनिएको यस क्षेत्र तथा औद्योगिक सुन्दर नगरी इटहरीमा मुक्तिघाट,  धार्मिक संग्राहालय, किरियापुत्री भवनजस्ता संरचनाले समाज सेवामा ठूलो सहयोग पु-याएको छ’, उनले भनिन, ‘थप पूर्वाधार निर्माण गर्न सम्बन्धित पक्षको ध्यान जाओस्।’

उनले नेपाल प्राकृतिक वैभव र सौन्दर्यसँगै बहुसाँस्कृतिक समन्वयका साथ विकसित भएको अनुपम धर्ती भएको बताइन्। ‘देशले प्राचिन कालदेखि नै साँस्कृतिक सहिष्णुताको पहिचान स्थापित गर्दै साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गदैं आएको छ’, उनले भनिन, ‘ऐतिहासिक पौराणिक महत्व बोकेको यस क्षेत्रलाई थप मजबुद पार्न सबै एकताबद्ध भएर लाग्नुपर्छ।’

राष्ट्रपति भण्डारीले सामाजिक साँस्कृतिक कार्यक्रमले समाजलाई थप अनुशासित र मर्यादित बनाउन भूमिका खेल्ने भएकाले गर्दा  साँस्कृतिक सम्पदाको निर्माण साथसाथै यसको उचित संरक्षण तथा सम्बर्द्धनमा जोड दिनुपर्ने बताइन्। ‘साँस्कृतिक धरोहर भएका स्थानको वातावरण स्वच्छ, सुन्दर र मनमोहक बनाउँदै पनि लैजानुपर्छ’, उनले भनिन,  ‘साँस्कृतिक सम्पदालाईं मनमोहक बनाउँदा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुनेछन्।’

उनले  सार्वजनिक र सामूदायिक संरचना निर्माण गर्दा बालबालिका, जेष्ठ नागरिक, अपाङ् मैत्री हुनुपर्ने बताइन्। ‘भौतिक संरचना निर्माण गर्दा पर्यावरणीय अनुकुलता कायम राख्नमा पनि ध्यान दिनुपर्छ,’ उनले भनिन्। 

सो क्रममा प्रदेश नं. १ का प्रमुख प्रध्यापक डाक्टर गोविन्द तुम्बाहाङ्ले धर्मले मानिसलाई अनुशासित र सही बाटोमा हिडाउन सहयोग पुग्ने विश्वास गरे।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आस्था र सेवाको भावलाई सरकारले कमजोर हुन नदिने जिकिरे गरे। ‘कोही पनि भित्रैदेखि स्वःअनुशासन र भित्रै देखिको भावना पलाएर जीवनको अन्तिम समयसम्म लाग्छ, त्यस्तो पवित्र चाहनालाईं कसैले मार्न सक्दैन’, उनले भने।  

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले प्रत्येक प्रदेशमा बृद्धाश्रम र अपाङ् आश्रम बनाउन लागेकाले गर्दा इटहरीमा बन्न लागेको वृद्धाश्रमले सरकारी अभियानलाई सफल बनाउने बताइन्। उनले राजनीतिक परिवर्तन भएपनि अहिलेपनि महिलामाथिको संस्कार, चिन्तन परिवर्तन नभएकाले गर्दा घर घरबाट महिला हिंसाको अन्त्य हुनुपर्ने बताइन्। 

सो क्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विश्व मानव समाज शान्ति, सहिष्णुता, वन्धुत्व, विकास अनि सुख र समृद्धिको पक्षमा एक मत भएकाले गर्दा  सम्पूर्ण नेपाली शान्ति, सदभाव, सहिष्णुता, आपसी प्रेम र विश्वासका साथ एक ढिक्का भएर उभिनुपर्ने बताए। ‘यदि नेपाली एक ढिक्का भएर नउभिएको भए नेपाल टुक्रा टुक्रा भएको अवस्थामा रहने थियो,’ उनले भने। उनले नेपालीहरु हिमाल, पहाड र तराईंमा जहाँ बस्ने भएपनि जुन जात, भाषा, धर्म मान्ने भएपनि सामाजिक सद्भाव, सहिष्णुता, एकता, प्रेम र सहकार्यका साथ अघि बढेकै नेपाल र नेपालीको शीर ठाडो भएको टिप्पणी गरे। 

प्रकाशित: २४ चैत्र २०७५ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App