१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्गम गाउँमा पुस्तकालय

जनप्रभात माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनापछि क्लबका पदाधिकारीहरु ।

सुर्खेत– काठमाडौंका युवाहरुले दुई वर्ष लगाएर विभिन्न माध्यमबाट संकलन गरेका पुस्तकमार्फत कर्णालीको दुर्गम जिल्ला कालिकोटमा पुस्तकालय स्थापना गरेका छन्। लियो क्लब अफ काठमाडौं युरेकामा आबद्ध युवाहरुले सात लाख रुपियाँ बराबरका तीन हजार बढी पुस्तकहरु पुस्तकालयमा राखेका छन्। नरहरिनाथ गाउँपालिका–९ श्रीकोटस्थित जनप्रभात माध्यामिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ। 

‘दुर्गम गाउँको विद्यालयमा पुस्तकालय स्थापनाका लागि दुई वर्षसम्म विभिन्न कार्यक्रमहरु ग-यौं, फेसबुकमार्फत अभियान सञ्चालन ग-यौं’, लियो क्लबका अध्यक्ष सुजित रसाइलीले भने, ‘विभिन्न्न माध्यममार्फत संकलन भएका पुस्तकहरु कालिकोट पु-याएर पुस्तकालय स्थापना ग-यौं।’

पुस्तक संकलनका लागि उनीहरुले फेसबुक अभियानका साथै कविता कन्सर्ट र देउसी–भैली कार्यक्रमको आयोजना गरेका थिए। ‘यसका साथै विभिन्न विद्यालय, प्रकाशन गृह, आफन्त र सहयोगीहरुबाट पनि पुस्तक संकलन ग-यौं’, क्लबका उपसचिव युवराज पराजुलीले भने, ‘दुई वर्षको अवधिमा एउटा विद्यालयका लागि मात्रै नभएर समुदायका लागि पुग्ने पुस्तकहरु संकलन गर्न सफल भयौं।’

उनीहरुले पुस्तकालयमा एक थान कम्प्युटर र प्रिन्टर पनि उपलब्ध गराएका छन्। ‘अभियानका क्रममा पुस्तकसँगै केही रकम पनि संकलन भएको थियो, त्यसैमार्फत कम्प्युटर र प्रिन्टर खरिद गरेका हौं’, क्लबका निर्देशक मन्दिपा रिजालले भनिन्, ‘दुर्गम गाउँमा पुस्तकालय स्थापना गर्न आउँदा धेरै खुशी छौं।’ उनले विद्यार्थीका साथै समुदायका नागरिकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्य अन्र्तगत सबै विधाका पुस्तकहरु राखिएको बताइन्।

क्लबले तीन वर्षअघि पनि नरहरिनाथ गाउँपालिकाकै बाल ममता आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको थियो। ‘तीन वर्षअघि पुस्तकालय स्थापना गर्न जाँदा त्यहाँ शैक्षिक क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता हामीले देख्यौं’, क्लबका निर्देशक सविता गर्तौलाले भनिन्, ‘शैक्षिक गुणस्तर बृद्धि र पठन संस्कृतिको विकास गर्नका लागि सोही ठाउँको अर्को विद्यालयमा पुस्तकालय स्थापना गरेका हौं।’ उनले अझै पनि पुस्तक अभावमा स्कुल जानबाट धेरै बालबालिकाहरु बञ्चित भइरहेको भन्दै पुस्तकालयले त्यस्ता बालबालिकाहरुलाई विद्यालयसम्म डो-याउन सघाउ पु-याउने बताइन्।

प्रकाशित: २४ चैत्र २०७५ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App