१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मदिरा नियन्त्रणको नयाँ उपाय : भाँडावर्तन दिएवापत नगद दिँदै स्थानीय तह

बरामद गरेको अबैध मदिराभित्रको फोहर बस्तु देखाउँदै प्रहरी । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत– सुर्खेतका दुई वटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रणका लागि नयाँ जुक्ति लगाएका छन्। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन स्थानीय तह वा प्रहरीलाई बुझाएमा खरिद मूल्य अनुसारको नगद तथा आयमूलक काममा अनुदान दिने नीति ल्याएका छन्।

‘मदिराका भाँडावर्तन जफत गरेर मात्रै नियन्त्रण हुने नदेखिएपछि प्रोत्साहनको कार्यक्रम ल्याएका हौं’, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘घरेलु मदिरा नियन्त्रणका लागि खरिद मूल्य अनुसार नगदका साथै बैकल्पिक व्यवसायका लागि सरकारी अनुदान पनि उपलब्ध गराउने निर्णय गरेका छौं।’

घरेलु मदिराकै कारण घरेलु हिंसा, महिलामाथि हुने हिंसा र अपराधिक क्रियाकलाप बढेकाले त्यसको नियन्त्रणका लागि प्रोत्साहन कार्यक्रम ल्याइएको उनले बताए। ‘अघिल्लो वर्ष प्रहरीसँग सहकार्य गरेर विभिन्न वडाहरुबाट अबैद्य मदिरा जफत ग-यौं, मदिरा बनाउन प्रयोग गरिएका भाँडा नियन्त्रणमा लियौं’, नगरप्रमुख थापाले भने, ‘यसले नियन्त्रण नभएपछि प्रोत्साहन कार्यक्रम ल्याएका हौं।’ नगरपालिकाले केही समय मदिरा जफत भएका घरलाई सरकारी सेवा–सुविधा पनि रोक्का गरेको थियो। 

नगरपालिकाले ११ वटै वडालाई घरेलु मदिरामुक्त बनाउने तयारी थालेको छ। ‘पहिलो वर्ष घरेलु मदिरा उत्पादन गर्नेहरुका लागि प्रोत्साहन कार्यक्रम ल्याएका छौं, यसलाई निरन्तरता दिँदै ११ वटै वडालाई घरेलु मदिरामुक्त बनाउँछौं’, उनले भने, ‘यति गर्दा पनि मदिरा नियन्त्रण भएन् भने सरकारी सुविधा रोक्नेदेखि कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं।’

चौकुने गाउँपालिकाले वडा कार्यालय, गाउँपालिका र प्रहरी चौकीहरुमा भाँडावर्तन बुझाउन सूचना जारी गरेको छ। गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले वडा, गाउँपालिका र प्रहरी चौकीमा भाँडावर्तन बुझाउनेलाई प्रोत्साहन रकम दिइने र प्रहरीमार्फत जफत गरिएको खण्डमा कारवाही प्रक्रिया अघि बढाइने बताए। 

चौकुने गाउँपालिकाले घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन दिएवापत खरिद गरिएको मूल्य बराबरको प्रोत्साहन रकमका साथै कृषिमा अनुदान दिने निर्णय गरेको छ। ‘मदिरा उत्पादन गरेर जिविकोपार्जन गर्दै आएका व्यक्तिलाई कृषिकर्ममा लगाउनका लागि अनुदान दिने निर्णय गरेका छौं’ उनले भने, ‘प्रोत्साहन कार्यक्रमले अबैद्य मदिरा नियन्त्रण हुने अपेक्षा गरेका छौं।’ उनले मदिरा उत्पादन छोडेर व्यवसायिक कृषिकर्ममा लाग्नेहरुलाई अनुदानका साथै कृषि उत्पादनको बजारिकरणमा पनि गाउँपालिकाले सघाउने बताए। गाउँपालिकाको तथ्याङ्क अनुसार यहाँ उत्पादन हुने खाद्यान्न आधा भन्दाधेरै मदिरा बनाउन प्रयोग गरिन्छ।  

प्रहरीले चालू आर्थिक वर्षको आठ महिनामा पञ्चपुरी र चौकुनेबाट तीन हजारबढी लिटर तयारी मदिरा बरामद गरेको छ। प्रहरी निरीक्षक ज्ञानबहादुर क्षेत्रीका अनुसार सचेत गराउँदा पनि अटेर गर्नेहरुको मदिरासँगै भाँडा जफल गर्ने गरिएको बताए। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत गाउँगाउँ पुगेर मदिराले पु-याउने बेफाइदाका बारेमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं’, उनले भने, ‘अटेर गर्नेहरुको मदिरा र भाँडावर्तन जफत गरेर नष्ट गर्ने गरेका छौं।’ उनले पश्चिम क्षेत्रमा हुने महिला हिंसा, सामाजिक अपराध र जघन्य अपराधका घटनाको पछाडी मदिरानै प्रमुख कारणका रुपमा देखिने गरेको बताए।

प्रकाशित: २४ चैत्र २०७५ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App