१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तनहुँको मार्कीचोक सबस्टेसन सञ्चालन

काठमाडौं - तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबारदेखि सञ्चालन (चार्ज)मा ल्याएको हो।

सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ। मध्यमर्स्याङ्दी–दमौली–मस्र्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ। मार्कीचोक सबस्टेसन सञ्चालनसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुनेलगायत समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘दमौली–डुम्रे–आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत्् आपूर्ति भइरहेको थियो, लामो दूरीबाट विद्युत् आपूर्ति हुँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखातर्फ विद्युत्् जान्छ, जसबाट ३३ केभी लाइनको दूरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत् आपूर्ति भरपर्दो हुनेछ,’ उनले भने, ‘मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनमार्फत प्रवाह हुने विद्युत्लाई निर्माणाधीन मस्र्याङ्दी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२÷२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत् ल्याउन पनि सकिन्छ।’ मस्र्याङ्दी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले अहिले मार्कीचोकमै १३२÷२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ।

मध्यमस्र्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्व विक्रम शाहका अनुसार अब मध्यमस्र्याङ्दी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मस्र्याङ्दीतर्फ पनि  निकाल्न (लुप आउट) गर्न सकिने छ।

आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङ्दी तथा दमौली सबस्टेसनमा क्रमशः १ र २ वटा बे र तल्लो मस्र्याङ्दीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९÷७० मा ठेक्का सम्झौता गरेको थियो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपैयाँ थियो। अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए। प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत्् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ। चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन्। सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउनेलगायत काम गरिरहेको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App